+
+
Shares

गिडीखोलामा ५० मेगावाटको जलविद्युत् उत्पादनको तयारी  

रासस रासस
२०८३ भदौ २१ गते ७:२२
प्रतीकात्मक तस्वीर

२१ भदौ, जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका–४ स्थित गिडीखोलामा ५० मेगावाटको जलविद्युत् उत्पादन हुने भएको छ ।

उक्त निर्माण हुन लागेको जलविद्युत्को लागत करिब सात अर्ब ५० करोडभन्दा बढी लाग्ने आध्यनत फन्ड म्यानेमजेन्ट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्तोष थापाले जानकारी दिए ।

तातोपानी गाउँपालिका–४ को आयोजना र आध्यनत फन्ड म्यानेमजेन्ट लिमिटेड काठमाडौँको सहजीकरणमा आयोजित गिडीखोला जलाशययुक्त जलविद्युत् आयोजनाको सरोकारवालासँगको समन्वय तथा परिचयात्मक कार्यशाला अन्तर्क्रिया कार्यक्रममा सो जलविद्युतबारे जानकारी दिँदै आध्यनत फन्ड म्यानेमजेन्टका प्रमुख कार्यकारी अधिकृत थापाले गिडीदहको जलाशययुक्त जलविद्युत् आयोजनाले करिब ५० मेगावाट विद्युत् उत्पादन गर्न सक्ने प्रारम्भिक अध्ययन गरिएको बताए।

उनका अनुसार विस्तृत प्राविधिक तथा सम्भाव्यता अध्ययनपछि उत्पादन क्षमता अझ बढ्न सक्ने सम्भावनासमेत रहेको छ । उत्पादन भएको विद्युतलाई १३२ केभी सिंगल सर्किटको प्रसारण लाइनमार्फत जुम्ला बजारमाको सबस्टेशनमा लगेर जोडिने छ ।

आयोजना कुल लागत सात अर्ब ५० करोड ७४ लाग्ने अनुमान गरिएको आध्यनतका प्रमुख सञ्चालक अधिकृत प्रमेशमान प्रधानको भनाइ छ ।

वडाध्यक्ष अम्मरबहादुर रोकायाले वडाभित्र ठूलो विद्युत् परियोजना निर्माण हुने लागेको छ । यसलाई सफल बनाउनका लागि सबै पक्षको सहयोग आवश्यक रहेको बताए ।

स्थानीयलाई रोजगारीमा विशेष प्रथामिकता दिइने छ । निर्माण अवधिभर स्थानीय जनताले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा व्यपार व्यवसाय गर्न सक्नेछन् । जसले गर्दा यहाँका नागरिकको आयआर्जन वृद्धि हुने अपेक्षा राखिएको तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईँले बताए ।

आयोजना सञ्चालनबाट प्राप्त हुने रोजगारी, रोयल्टी, सेयर, सामुदायिक सहयोग कार्यक्रम तथा स्थानीय जनताको व्यापार व्यवसायबाट आयआर्जन गर्न अनुकूल प्रभाव हुने भएकाले समग्रमा यस आयोजनाबाट स्थानीयस्तरदेखि राष्ट्रियस्तरसम्म लाभ पुग्ने पूर्वराज्यमन्त्री गोमा गौतमले जानकारी दिइन् ।

आयोजना निर्माण तथा सञ्चालनबाट प्रभावित हुने घरपरिवार, वन र खेतीयोग्य जमिनको एकिन हुनुपर्ने कार्यक्रमका सहभागीको भनाइ छ । गिडीखोला जलविद्युत् आयोजनाको अध्ययन अवधि पूरा भएपछि निर्माणको काम अगाडि बढ्ने आयोजनाले जनाएको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?