+
+
Shares

रसुवा बाढी : सैनिकका परिवारमा सन्नाटा, मरेको छैन सकुशल फर्किने आशा

‘उहाँ सकुशल फर्किनुहुन्छ भन्ने विश्वास छ । उहाँ फर्किएर घर आउनुहुन्छ, केही पनि भएको छैन् । सरकारले खोजेर चाडो उद्धार गरोस् ।’

जनक विष्ट जनक विष्ट
२०८३ भदौ २१ गते १७:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसुवाको भोटेकोशी नदीमा बाढी आएपछि नेपाली सेनामा कार्यरत कञ्चनपुरका हिक्मतबहादुर पाल १२ दिनदेखि सम्पर्कविहीन छन्।
  • हिक्मतका परिवारले नेपाली सेनाको तेघरीस्थित जंगी अड्डा र चितवन–काठमाडौंका अस्पतालमा खोजी गरे पनि उनको अवस्थाबारे ठोस जानकारी पाएको छैन।
  • रसुवा बाढीपछि नेपाली सेनामा कार्यरत कञ्चनपुरकै रमेशराज जोशी पनि सम्पर्कविहीन छन्, र उनका परिवारले सकुशल फर्किने आशामा प्रतीक्षा गरिरहेका छन्।

२१ भदौ, धनगढी । शनिबार दिउँसो कञ्चनपुरको कृष्णपुरका सुरतबहादुर पालको घर पुग्दा माहोल सुनसान थियो ।

घरको मूलढोकामा नेपाली सेनामा कार्यरत सुरतबहादुरका छोरा हिक्मतबहादुर पालको तस्वीर मुस्कुराइरहेको थियो । आँगनमा बसेर हिक्मतकी आमा जानकी पाल त्यही तस्वीर हेर्दै टोलाइरहेकी थिइन् ।

घरकै ढोकामा हिक्मत मुस्कुराइरहेपनि उनकै कारण परिवारमा भने १२ दिनदेखि मुस्कान गायब छ । परिवार सम्पर्कविहीन हिक्मतको खबर १२ दिनदेखि पर्खिरहेका छन् ।

‘छोरा कहाँ छ ? कस्तो अवस्थामा होला ? केही खबर आएको छैन,’ आमा जानकी भक्कानिन्छिन् । उनको आँखा पछिल्ला १२ दिनदेखि छोराकै सुर्ताले ओभाएका छैनन् ।

रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि नेपाली सेनामा कार्यरत हिक्मत सम्पर्कविहीन छन् । त्यसयता परिवारका हरेक दिन हिक्मतकै प्रतीक्षामा बितिरहेका छन् ।

हिक्मतबहादुर पाल

आमा जानकी बेलाबेला भक्कानिरहन्छिन् । छिमेकले ‘हिक्मत भेटिन्छन्, चिन्ता नगर्नुस्’ भनेर ढाडस दिँदा पनि उनी आफूलाई सम्हाल्न सक्दिनन् ।

हिक्मत परिवारका एक्लो छोरा हुन् । उनी एक्लो छोरा मात्र होइनन्, आमाबुवाको बुढेसकालको सहारा पनि हुन् । उनी सम्पर्कविहीन भएदेखि परिवारमाथि अकल्पनीय पीडा परेको छ ।

‘छोराको खोजीमा सम्भव भएका सबै ठाउँ धाइरहेको छु । नेपाली सेनाको तेघरीस्थित जंगी अड्डासम्म पुगे । पृतनापतिसँग भेटेर छोराको अवस्थाबारे जानकारी लिएँ,’ बुबा सुरतबहादुर भन्छन्, ‘उहाँहरूले खोजी जारी छ, भेटिए खबर गर्छौं भन्नुहुन्छ ।’

बुबा सुरतबहादुर चितवन र काठमाडौंका अस्पतालमा पुगेर बाढीपछि उद्धार गरिएका घाइते र मृत्यु भएका व्यक्तिहरूसमेत हेरेर फर्किए । छोरा भेटिने आसमा अस्पताल–अस्पताल चाहारेर कतै फेला नपरेपछि निराश हुँदै घर फर्किएका छन् ।

हिक्मतको अवस्थाबारे ठोस जानकारी प्राप्त नभएपनि परिवारले भने सकुशल घर फर्किने आशा भने मारेको छैन् । हिक्मत दुई वर्षअघि मात्रै नेपाली सेनामा जागिर खाएका थिए ।

उता, हिक्मतको परिवारको जस्तै सन्नाटामा कृष्णपुरकै बेलुदेवी जोशीको परिवार पनि छ । उनको एक्लो छोरा रमेशराज जोशीसँग पनि रसुवा बाढीपछि सम्पर्क हुनसकेको छैन । रमेश १४ वर्षदेखि नेपाली सेनामै कार्यरत छन् ।

बेलुदेवी आँगनमा बसेर छोरा फर्किने बाटो कुरेर बसेकी छन् । घरको आँगनमा सुनिने हरेक पाइलामा छोराको उपस्थिति खोजिरहन्छिन् । ‘छोराको केही खबर ल्याएर आउनुभयो की ?’, उनी हरेक व्यक्तिलाई सोध्छिन् ।

रमेशले बाढी आउनुभन्दा केही दिनअघि मात्रै श्रीमती लक्ष्मी जोशीसँग कुराकानी गरेका थिए । त्यो कुराकानी नै परिवारका लागि अन्तिम सम्पर्क बन्यो । सामाजिक सञ्जालबाट रसुवामा बाढी गएको थाहा पाएपछि श्रीमती लक्ष्मीले रमेशलाई सम्पर्क गर्न खोजेकी थिइन्, तर फोन लागेन ।

रमेशको परिवारले पनि उनी फर्किने आश मारेको छैन । ‘छोरा कहाँ छ भन्ने थाहा मात्रै पाए हुन्थ्यो,’ आमा बेलुदेवी भन्छिन् ।

रमेशकी श्रीमती लक्ष्मी पनि हरेक दिन श्रीमान्को बाटो कुरिरहेकी छन् । मोबाइलमा आउने हरेक फोनले उनको मन झस्काउँछ । कतै श्रीमान्को खबर पो आयो कि भन्ने आशा जाग्छ ।

रमेशराज जोशी

‘उहाँ सकुशल फर्किनुहुन्छ भन्ने विश्वास छ,’ उनी भन्छिन्, ‘उहाँ फर्किएर घर आउनुहुन्छ । केही पनि भएको छैन् । सरकारले खोजेर चाडो उद्धार गरोस् ।’

छोराको प्रश्न छल्न मामाघर

रमेशका आमाबुबा र श्रीमती मात्रै होइन, उनका नाबालक छोरा र छोरी पनि बुबाको प्रतीक्षा गरिरहेका छन् ।

बुबाको अवस्थाबारे बारम्बार सोधिरहने र चासो राख्ने भएपछि केही समयका लागि छोरालाई मामाघर पठाइएको परिवारले जनाएको छ ।

लेखक
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?