+
+
Shares

बाढीपीडितको सहयोगार्थ लन्डनको ‘द बिग हाफ म्याराथन’मा दौडिए ३०० बढी नेपाली

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २२ गते ७:४४

२२ भदौ, लन्डन । नेपालमा भोटेकोशी बाढीपीडितको सहयोगार्थ ३०० बढी नेपाली धावक लन्डनको प्रमुख हाफ म्याराथन ‘द बिग हाफ म्याराथन २०२६’ मा सहभागी भएका छन् ।

यस वर्ष दौड्ने नेपाल रन यूके आवद्ध हरेक नेपालीले म्याराथनलाई नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित पीडित तथा उनीहरूका परिवारप्रति समर्पित गरे ।

हाफ म्याराथनलाई नेपाली धावकहरुले आफ्नो मातृभूमिप्रतिको ऐक्यबद्धता, सहानुभूति र सहयोगको एक सशक्त माध्यमका रुपमा परिणत गरेका थिए । आजको म्याराथन केवल १३.१ माइल दौडिने विषय मात्र थिएन्, यो नेपालका लागि दौडिने दिन थियो ।

धेरै धावकहरूले गर्वका साथ आफ्नो दौडने भेस्टको पछाडि सहयोग संकलनसम्बन्धी ‘क्यूआर कोड’ टाँसेका थिए, जसले दौडको सुरुवातदेखि अन्त्यसम्म ऐक्यबद्धता, सहानुभूति र सहयोगको सन्देश प्रवाह गर्‍यो । त्यो क्यूआर कोडले अन्य धावक, दर्शक, साथीभाई तथा सर्वसाधारणलाई सहयोग संकलन अभियानमा योगदान पुर्‍याउन सहज भएको थियो ।

‘इलिङ हाफ म्याराथन’ को समन्वय र सहयोगमा फण्ड रेजिङ पेज तयार पार्न सघाउने ‘रेस नेशन’ टोलीप्रति धावकहरुले विशेष आभार व्यक्त गरेका छन् ।

साथै, दौडका क्रममा यस अभियानलाई सबैमाझ चिनाउन मद्दत पुर्‍याउने ‘रेस टाइमिङ सोलुसन्स’ लाई पनि धन्यवाद दिएका छन् जसले दौडका लागि आवश्यक ‘बिब्स’ उपलब्ध गराएको थियो ।

हाफ म्याराथन पूरा गर्न प्रत्येक धावकहरूले आ-आफ्नै रणनीति र व्यक्तिगत लक्ष्य राखेका थिए । कसैले आफ्नो व्यक्तिगत उत्कृष्ट समय कायम गर्ने लक्ष्य राखेका थिए भने कसैले केवल अन्तिम रेखा पार गर्नेमा ध्यान केन्द्रित गरेका थिए ।

त्यस्तै, कोही भने दौडको अनुभव लिन दौडिएका थिए । यद्यपि, ती सबै व्यक्तिगत लक्ष्यभन्दा माथि एउटा साझा र मुख्य उद्देश्य- बाढी पीडितलाई सघाउन जुटेका थिए । यो केवल सुरुवात मात्र भएको धावकहरुको भनाइ थियो ।

कोष संकलन अभियान ‘हाफ म्याराथन’ सकिएपनि अन्त्य नहुने नेपाल रन यूकेका संस्थापक सन्तोष राईले बताए ।

नेपाली धावकहरूले तोकिएको आर्थिक संकलनको लक्ष्य पूरा नभएसम्म आगामी दौड कार्यक्रमहरू (साप्ताहिक पार्क रन) आदिमा ‘फन्डरेजिङ बिब्स’ लगाइरहने राईले बताए ।

सहयोग गर्न चाहने तर अहिलेसम्म अवसर नपाएकाहरूलाई धावकहरूको ‘बिब’ वा कोष संकलनसम्बन्धी सामग्रीमा रहेको ‘क्यूआर कोड’ स्क्यान गरी सहयोग रकम प्रदान गर्न राईको अनुरोध छ ।

रकम जतिसुकै भए पनि हरेक योगदानले बाढीबाट प्रभावितहरूलाई सहयोग पुर्‍याउन सक्ने विश्वास छ । ‘हाफ म्याराथन पूरा गर्नु आफैंमा एउटा ठूलो उपलब्धि हो, तर कुनै पवित्र उद्देश्यका लागि दौडिनु अझ अर्थपूर्ण हुने रहेछ’, राईले भने, ‘हामी एकताबद्ध छौं। हामी एक-अर्कालाई साथ दिन्छौं । हामी फेरि उठ्नेछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?