+
+
Shares

चिनाकोट दरबार क्षेत्रमा पर्यटकीय पूर्वाधार निर्माण

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २५ गते ६:३१

२५ भदौ, म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ मा रहेको ऐतिहासिक चिनाकोट दरबार क्षेत्रमा पर्यटकीय पूर्वाधार निर्माण भएको छ ।

गण्डकी प्रदेश सरकार, मङ्गला गाउँपालिका, चिनाकोट आमा समूह र देउराली सामुदायिक वन उपभोक्ता समूहको रु ५० लाखभन्दा बढी लगानीमा पूर्वाधार निर्माण भएको हो ।

चिनाकोट संरक्षण तथा व्यवस्थापन समितिका सचिव प्रकाश पुनले आर्थिक वर्ष २०७६/७७ देखि २०८२/८३ सम्म चिनाकोटको पर्यटन पूर्वाधार निर्माणमा प्रदेश सरकारबाट ४० लाख, मङ्गला गाउँपालिकाबाट रु आठ लाख र आमा समूहबाट दुई लाख लगानी भएको बताए ।

‘एक किलोमिटरभन्दा बढी पक्की र करिब दुई किलोमिटर कच्ची पदमार्ग तथा सडक, दृश्यावलोकन स्थल र आश्रयस्थल निर्माण भएको छ’, उनले भने, ‘बरञ्जा गाउँदेखि चिनाकोटसम्म विद्युत् विस्तारमा देउराली सामुदायिक वन उपभोक्ता समूह तथा योजना कार्यान्वयनमा विनियोजन भएको कुल बजेटको १० प्रतिशत स्थानीयवासीले श्रमदान गरेका छौं । खानेपानीको व्यवस्था गरिएको छ ।’

विसं २०७५ अघिसम्म सुनसान चिनाकोटमा पूर्वाधार निर्माण भएपछि आन्तरिक पर्यटक आउन थालेको देउराली सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष टेकबहादुर छन्त्यालले बताए ।

‘सङ्घीयताअघिसम्म एउटा टहरा मात्र रहेको चिनाकोटमा प्रदेश र स्थानीय तहबाट सुरक्षित रूपमा पुग्न सकिने पदमार्ग बनेपछि पाहुना आउन थालेका हुन्’, उनले भने, ‘पहाडको टाकुरामा रहेको चिनाकोटमा सुरक्षाका लागि वरपर घेराबार र पुरातात्त्विक महत्त्वका सामग्रीको संरक्षणको आवश्यकता छ ।’

समुद्री सतहदेखि दुई हजार २०० मिटर उचाइमा रहेको चिनाकोटबाट सूर्योदयका साथै अन्नपूर्ण, धौलागिरि, गुर्जा र माछापुच्छ्रे हिमशृङ्खलाको अवलोकन गर्न सकिन्छ । मङ्गला गाउँपालिकाको ३ र ४ नम्बर वडामा समेटिएको बरञ्जाको शिरमा रहेको चिनाकोटबाट म्याग्दीको पश्चिमी भेगका ग्रामीण बस्ती, पहाडी भूगोल र नागबेली परेर बगेको म्याग्दी नदी अवलोकन गर्न सकिन्छ ।

बरञ्जाका अगुवा रणबहादुर रोकाका अनुसार भुरे–टाकुरे राजाका पालामा चिनाकोटमा बरञ्जी राजाको दरबार थियो । ‘दरबारका पर्खालको भग्नावशेष, खाद्यान्न पिस्न प्रयोग हुने जातोलगायत ऐतिहासिक वस्तु अझै चिनाकोटमा छन्’, उनले भने, ‘रानीको कपाल कोर्ने ढुङ्गा, बेहुला र बेहुली नाम गरेका ढुङ्गा पनि अवलोकन गर्न सकिन्छ ।’

चिनाकोटको फेदीमा रहेको थर्पुगाउँको दरबारमा खुडा, तरबार, ढाललगायत परम्परागत युद्धमा प्रयोग हुने हातहतियार छन् ।

मङ्गला गाउँपालिका–३ का कार्यवाहक वडाध्यक्ष भेषकुमारी पुनले बर्खायामबाहेकका समयमा बिदा मनाउन तथा क्याम्पिङ गर्न पाहुना आउने गरेको बताइन् । बस्तीबाट टाढा र एकान्त वातावरणमा रहेको चिनाकोटमा वनभोजका लागि आउनेलाई भाँडावर्तनको व्यवस्था मिलाइएको छ ।

चिनाकोट नजिकै रहेको घारसुन्ने डाँडामा दृश्यावलोकनस्थल बनाइएको छ । पहाडको टाकुरामा रहेको गोलो आकारको ढुङ्गामा वरपर घेराबार बनाएर त्यहाँसम्म पुग्ने पदमार्ग बनाइएको छ ।

म्याग्दीको सदरमुकाम बेनी बजारदेखि तातोपानी–बरञ्जा हुँदै गाडीमा एक घण्टाको यात्रापछि चिनाकोट पुगिन्छ । बरञ्जादेखि पैदलयात्रा गरेर चिनाकोट पुग्न दुई घण्टा लाग्छ । होटल तथा रेष्टुरेन्ट नभएकाले खाद्य सामग्री पाहुना आफैँले व्यवस्थापन गर्नुपर्छ ।

पर्यटकीय पूर्वाधारको म्याग्दी–१ (ख) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली (सुविन)ले बुधबार उद्घाटन गरे । उनले चिनाकोटका साथै झाँक्रीपानी र गम्फाधुरीलगायत बरञ्जाका पर्यटकीयस्थलमा पूर्वाधार निर्माणमा प्रदेश सरकारले लगानी गरिरहेको बताए ।

पूर्वाधारको उपभोग गरी पर्यटक भित्र्याएर आयआर्जन, रोजगारी सिर्जना र आत्मनिर्भरतातर्फ अग्रसर हुन उनले स्थानीयवासीलाई आग्रह गरे ।

बरञ्जाका बासिन्दासमेत रहेका संविधानसभा सदस्य गमबहादुर श्रीस, मङ्गला गाउँपालिकाका उपाध्यक्ष प्रेमकुमारी क्षेत्री र मङ्गला–४ का वडाध्यक्ष लालबहादुर रोकाले ऐतिहासिकस्थल, सांस्कृतिक तथा प्राकृतिक सम्पदाको संरक्षण, प्रवद्र्धन र विकासमार्फत समृद्धि हासिल हुने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?