२५ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद बोधनारायण श्रेष्ठले ग्यासको समस्या झन अप्ठेरो स्थितिमा गइराखेको बताएका छन् ।
बिहीबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘हिजो उद्योगमन्त्रीको पीडादायक भनाइ ग्याससँग सम्बन्धित थियो । त्यो तीन पटक भिडिओमा दोहोर्याएर सुनेँ,’ सांसद श्रेष्ठले भने, ‘सचिवज्यू लगायत कर्मचारीहरूको असल नियतका साथ ग्यासको समस्यालाई समाधान गर्ने प्रयासहरू पनि सुन्यौं । तर ग्यासको समस्या उस्तै छ । झन अप्ठेरो स्थितिमा गइराखेको छ ।’
उद्योग समितिको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले ग्यास अभावबारे बोलेकी थिइन् । उनले ग्यास अभाव उद्योगीले गर्दा भएको बताउँदै उद्योगीको ‘पाता नकसे’सम्म ग्यास अभाव सहज नहुने बताएकी थिइन् ।
उनको त्यो विवादित अभिव्यक्तिपछि आज मन्त्री पदबाट राजीनामा दिइसकेकी छन् ।
यतिबेला काठमाडौं उपत्यकामा खाना पकाउने ग्यासको चरम हाहाकार छ । उपभोक्ताहरू एउटा सिलिन्डर ग्यास पाउन दिनरात लाइनमा बस्न बाध्य छन्, भने अर्कोतिर ग्यास पाइहाले पनि २ हजार ६० रुपैयाँ पर्ने ग्यासलाई ३ हजार रुपैयाँसम्म तिर्न बाध्य छन् ।
नेपाल आयल निगम र उद्योग मन्त्रालय आफैंले पालैपालो ग्यास आइरहेको तथ्यांक सार्वजनिक गर्छन् । तर, सरकारले अनलाइनमा सार्वजनिक गर्ने तथ्यांक जस्तो छैन, बजारको अवस्था फरक छ । उपभोक्ता भने घण्टौं लाइन बस्दा पनि ग्यास पाउँदैनन् ।
यो विषय उठाउँदै रास्वपा सांसद श्रेष्ठले ग्यासको समस्या उस्तै रहेको र झन अप्ठ्यारो स्थितिमा गइराखेको बताएका हुन् ।
भारतबाट नियमित आइराखेको तर वितरण प्रणालीमा समस्या रहेको बताए । समाधानका लागि उद्योगी र प्यापारीलाई एकै ठाउँमा राखेर लाइभ गर्न आवश्यक रहेको बताए । उपभोक्ताले स्टक राख्न नहुने बताए ।
सरकारले विद्युतीय चुलोमा छुट दिन आवश्यक रहेको आग्रह गरे ।
प्रतिक्रिया 4