News Summary
Generated by OK AI. Editorially reviewed.- सांसद हरिनादेवी कामीले प्रतिनिधिसभामा रास्वपा सांसद खगेन्द्र सुनारलाई नागरिकका पीडामाथि राजनीतिक व्यंग्य नगर्न सुझाइन्।
- उनले जेनजी सहिद दिवसको कार्यक्रममा सुनारले दिएको ‘तपाईंको छोराले गोली खायो, नेपालले सिटामोल पायो’ भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाइन्।
- कामीले गृहमन्त्री सुदन गुरूङले पत्रकार र जनतालाई धम्क्याएको आरोप लगाउँदै राज्यप्रति भरोसा जगाउन आग्रह गरिन्।
२५ भदौ, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी सांसद हरिनादेवी कामीले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारलाई नागरिकका पीडामाथि राजनीतिक व्यंग्य नगर्न सुझाएकी छन् ।
प्रतिनिधिसभाको बिहीबार बसेको बैठकको आकस्मिक समयमा बोल्दै उनले २३ भदौमा सांसद सुनारले जेनजी सहिद दिवसको कार्यक्रममा दिएको अभिव्यक्ति प्रति आपत्ति जनाउँदै यस्तो सुझाव दिएकी हुन् ।
‘जेनजी सहिद दिवसका दिन सत्ता पक्षका माननीयज्यूले भन्नुभएको थियो– तपाईंको छोराले गोली खायो, नेपालले सिटामोल पायो,’ सांसद कामीले भनिन्, ‘सहिदका परिवार र घाइते नागरिकका पीडामाथि राजनीतिक व्यंग्य गर्ने अधिकार कसैलाई छैन ।’
उनले सुनारको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै जनताले खाना पकाउने ग्यास पाउनका निम्ति के खानु पर्ने हो भन्दै प्रश्न पनि गरिन् । ‘म उहाँलाई सोध्न चाहन्छु– जनताले सहजै ग्यास पाउनका निमित्त के खानु पर्ने हो ?,’ सांसद कामीले सोधिन् ।
सांसद कामीले गृहमन्त्री सुदन गुरूङलाई जनता धम्क्याउन छाडेर राज्यका प्रतिको भरोसा जगाउन पनि सुझाव दिइन् । ‘गृहमन्त्रीको जिम्मेवारी जनतालाई धम्काउने, तर्साउने होइन,’ उनले भनिन्, ‘राज्यप्रति भरोसा जगाउने हो ।’
उनले जेनजी आन्दोलनको वार्षिकीका अवसरमा आयोजित कार्यक्रममा गृहमन्त्री गुरूङले पत्रकारलाई धम्क्याएको आरोप लगाइन् । कामीले केही समयअघि निर्वाचन क्षेत्रमा पुगेर गुरूङले जनतालाई मत फिर्ता लैजानुस् भन्दै चुनौती दिएको प्रसंग पनि सुनाइन् ।
‘गृहमन्त्रीज्यूले जेनजी कार्यक्रममा राज्यको चौथो अंगका रुपमा रहेको पत्रकारितालाई धम्क्याउनुभयो,’ उनले भनिन्, ‘केही समय अघि निर्वाचन क्षेत्रमा पुगेर जनतालाई दिएको मत फिर्ता लैजानुस् भनेर चुनौती दिनुभयो ।’
प्रतिक्रिया 4