News Summary
Generated by OK AI. Editorially reviewed.- पत्रकार दाहालले पहिलो सन्तानलाई समय नपुग्दै गुमाएको र त्यसपछि दुई वर्षपछि दोस्रो गर्भमा ‘प्लासेन्टा प्रिभिया’ देखिएको लेखेका छन् ।
- फागुन १० गते पानी बग्न थालेपछि श्रीमतीलाई अस्पताल पुर्याइएपछि आपत्कालीन अप्रेसन गरेर छोरी जन्माइएको र पाठेघर सुरक्षित भएको उनले लेखेका छन् ।
- दाहालले भेन्टिलेटरमा उपचार गर्दा पहिलो बच्चा बचाउन नसकेको पीडा, दोस्रो गर्भमा मानसिक तनाव र छोरी जन्मिएपछि राहत मिलेको अनुभव साझा गरेका छन् ।
‘बा’ शब्द भन्न जति सहज र सरल छ, बन्न भने त्यति नै सङ्घर्ष र चुनौतीपूर्ण रहेछ। हामीले बा–आमालाई कुनै रिसको झोंकमा होस् वा चाहेको कुरा नपुर्याइदिंदा वा अन्य कुनै वादविवाद हुँदा “मलाई किन जन्मायौ ?” भनेर सहजै प्रश्न गर्छौं। तर हामीलाई यही प्रश्न गर्न सक्ने बनाउन ती बा–आमाले कति सङ्घर्ष गरे होलान्, कति दुःख र कष्ट झेले होलान् भन्ने अनुभव मैले विगत डेढ वर्षमै गरेको छु।
अझै मैले एउटा सफल ‘बा’ बन्न कति चुनौतीका भर्याङ चढ्नुपर्ने हो, त्यो समयले नै बताउनेछ। तर म अहिले यति भन्न र लेख्न सक्छु कि म ‘बा’ बनेको छु।
‘बा’ बन्न भोगेका सङ्घर्ष
पत्रकारिता क्षेत्रमा कलम चलाउन थालेको करिब एक दशक पुग्न लाग्यो। अन्य विषय र अरूका बारेमा लेख्दा त्यति अन्योल भएन, जतिबेला आफ्नै अनुभव र भोगाइ लेख्ने सोचें। जीवनका भोगाइलाई अक्षरमा उतार्न खोज्दा शुरु कहाँबाट गर्ने, कुन अक्षर, कुन शब्द वा कुन वाक्यबाट ? अहँ, कुनै भेउ पाइनँ। अनि म ‘बा’ शब्दबाटै आफ्ना भोगाइ पोख्ने निष्कर्षमा पुगें।
उमेरले तीन दशकमा हिंडेको म काठमाडौं बस्न थालेको पनि करिब १५ वर्ष पुग्न लाग्यो। कक्षा ८ सम्मको अध्ययन गाउँकै विद्यालय (त्रिभुवन जनता माध्यमिक विद्यालय) मा पूरा गरेको मैले ९ कक्षादेखिको पढाइ भने काठमाडौंबाट शुरु गरेको हुँ।
गाउँकै आफन्तको घर (काठमाडौं, बूढानीलकण्ठ) मा बसेर कक्षा १२ सम्मको अध्ययन पूरा गर्दासम्म मैले खासै समस्या वा दुःख भोग्नुपरेन, जिन्दगी सहजै चलिरहेकै थियो। कलेज पढ्दै गर्दा रोशनी लामा (श्रीमती) सँग माया बस्यो। कक्षा १२ को अध्ययन पूरा गरेको केही समयपछि (२०७२ सालमा) मैले बूढानीलकण्ठको बसाइ टुङ्ग्याएँ र दाइ (शङ्कर दाहाल) सँग काठमाडौंस्थित मैतीदेवीमा बस्न थालें।
दाइसँग बसे पनि आफ्नो सबै खर्च आफैंले जुटाउनुपर्ने भएपछि काठमाडौंमा मेरा सङ्घर्षका दिन शुरु भएका हुन्। दाइले त्यसबेला किराना पसलमा काम गर्नुहुन्थ्यो। मलाई पनि काम खोजिदिनुभयो। पहिलो काम प्याकेटवाला दूध (डीडीसी, सीताराम लगायत) पसलहरूमा पुर्याउने पाइयो। यो नै मेरो काठमाडौं आएपछिको पहिलो जागिर थियो।
बिहान ४ बजेदेखि ७ बजेसम्म गर्नुपर्ने उक्त काम मैले धेरै समय भने गरिनँ। साइकलमा राखेर करिब ८–१० वटा दूधका क्यारेट बोकेर पसल–पसलमा पुर्याउनुपर्ने भएकाले सुन्दा र देख्दा सहज भए पनि काम गर्न कठिन थियो। साइकलको ब्यालेन्स गर्न नसकेर शुरु–शुरुमा त मैले धेरै पटक साइकल नै लडाएर सडकभरि नै सेताम्मे हुने गरी दूध पोखेको छु।
फुटेका प्याकेटहरू कम्पनीले फिर्ता लिने भएकाले लडिहाले पनि साहुहरूले गाली भने गर्दैनथे। करिब एक–डेढ महिना गरेपछि मैले त्यो काम छाडिदिएँ। त्यसपछि ज्यामी (घर बनाउने) काम गरियो, दैनिक ज्याला ८०० रुपैयाँ पाइन्थ्यो। ज्यामी काम गरेको करिब एक–डेढ वर्षजति हुँदै थियो, त्यही क्रममा मलाई ‘एपेन्डिसाइटिस’ भयो। एपेन्डिक्स फुटिसकेकाले अप्रेसन गर्नुपर्ने भयो। अप्रेसन भएपछि ज्यामी काम पनि छुट्यो।
काठमाडौंमा दैनिकी चलाउन कति मुस्किल र कष्टकर हुन्छ, त्यो धेरैले भोगेका होलान्, मैले पनि भोगिरहेको छु। त्यसैले काम नगरी काठमाडौंमा बस्न सक्ने अवस्था थिएन। अप्रेसन गरेको केही समयपछि मैले इन्टरनेट सेवा प्रदायक संस्था ‘वर्ल्डलिङ्क’ मा काम शुरु गरें। त्यहाँ पनि धेरै समय टिक्न भने सकिनँ। काम गर्ने सिलसिलामै विवाद भएपछि एक वर्ष नहुँदै मैले त्यो जागिर पनि छाडें।
वर्ल्डलिङ्कको जागिर छाडेर बसिरहेको बेला एक दिन मलाई कक्षा ११ र १२ मा अध्यापन गराउनुभएको सर (सुरेन्द्र पौडेल) ले फोन गर्नुभयो। उहाँ नेपाल टेलिभिजनमा कार्यरत हुनुहुन्थ्यो। “ए केटा ! एउटा अनलाइन खुल्दैछ, इन्टर्न गर्ने मान्छे खोजिरहेको छ, गर्छस् त ?” उहाँले फोनमा भन्नुभयो। यो २०७४ सालतिरको कुरा हो। बेरोजगार भएर बसिरहेका बेला सरले उक्त प्रस्ताव गरेपछि मैले सहजै स्वीकार गरें र त्यहींबाट मेरो पत्रकारिता यात्रा शुरु भएको हो।
काठमाडौंमा यस्तै सङ्घर्षपूर्ण जीवन चलिरहेकै बेला २०७५ सालमा रोशनी र मैले प्रेमलाई विवाहमा परिणत गर्यौं। २१ वर्षकै उमेरमा विवाह गरेकाले हामी (श्रीमान्–श्रीमती) बीच तत्काल बालबच्चा नबनाउने सहमति भयो। जीवनस्तरलाई थोरै भए पनि उकास्न काठमाडौंमा सङ्घर्ष चलिरहेकै थियो। दुवै जनाले काम गरेर दैनिकी चलाइरहेका थियौं। सङ्घर्षपूर्ण भए पनि जीवन त्यति धेरै कठिन अवस्थामा पुगेको थिएन।
वैवाहिक जीवनका पाँचौं वसन्त पार गर्दै गर्दा सन्तान नबनाएको पिर हामीलाई भन्दा बढी आफन्त र परिवारलाई हुन थालिसकेको थियो। सबै पक्षबाट दबाब आउन थालेर होला, श्रीमतीले पनि “अब सन्तान बनाउनुपर्छ” भन्न थालेकी थिइन्। म भने अझै केही समय टार्न खोजिरहेको थिएँ।
जन्म, विवाह र मृत्यु भाग्यमा लेखिएको हुन्छ भन्ने हाम्रो परम्परागत मान्यतालाई आफूले चाहेर टार्न नसकिंदो रहेछ। मैले पनि टार्न सकिनँ र २०७८ सालको अन्त्यतिर हामी ‘बा–आमा’ बन्ने भयौं।
पहिलो पटक बा–आमाको नयाँ जिम्मेवारी थपिन लागेकाले होला, जीवन उत्साहपूर्ण चलिरहेको थियो। थापाथलीस्थित प्रसूति गृह (अस्पताल) मा नियमित चेकजाँच पनि गरिरहेकै थियौं। सुरुआतमा सबै राम्रै थियो। बच्चा र आमा दुवै स्वस्थ नै थिए। तर समय घर्किंदै जाँदा श्रीमतीलाई सुगर (मधुमेह) देखियो।
सामान्यतया बच्चा गर्भमा रहेका बेला महिलामा सुगर देखिनुलाई सामान्य मानिन्छ। तर त्यसको पनि एउटा निश्चित बिन्दु हुन्छ, त्यो पार भएको खण्डमा बच्चा र आमा दुवैमा विभिन्न समस्या देखिने रहेछन्। श्रीमतीको सुगर लेभल कम गर्ने प्रयास कायमै थियो। बच्चा गर्भमा आएको ७ महिना चलिरहेको बेला श्रीमतीलाई एक्कासि पानी बग्ने समस्या देखियो।
हतार–हतार प्रसूति गृह गयौं। त्यहाँ करिब १६ घण्टा बस्दा पनि कुनै सुधार नभएपछि अप्रेसन गरेर बच्चा निकाल्नुपर्ने सुझाव चिकित्सकहरूले दिए। अन्य विकल्प नभएपछि हामी पनि अप्रेसन गर्न तयार भयौं। अप्रेसन गर्ने त भइयो तर आईसीयू कक्ष पाइएन।
समय नपुगेकाले बच्चालाई अप्रेसन गरेर झिक्नेबित्तिकै आईसीयू कक्ष आवश्यक पर्ने भयो तर थापाथलीमा कक्ष खाली भएन। निरन्तर पानी बगिरहेकाले ढिला गरे बच्चाको स्वास्थ्यमा थप समस्या हुने भन्दै चिकित्सकहरूले जतिसक्दो चाँडो आईसीयू खाली भएको अस्पतालमा गएर बच्चा निकाल्ने सल्लाह दिए।
परिवारमा यसअघि यस्तो खालको समस्या कोही कसैलाई नपरेकाले हामी आत्तियौं। तर आत्तिएर समस्याको समाधान हुनेवाला थिएन। जसरी पनि यो समस्या हल गर्नुबाहेक हामीसँग अर्को विकल्प थिएन। त्यसपछि साथीभाइ तथा चिनेजानेका सबैसँग समन्वय गर्दा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) मा बच्चाको आईसीयू कक्ष खाली भएको जानकारी पाएँ र हामी त्यहाँ गयौं।
त्यहाँ पुग्नेबित्तिकै चिकित्सकहरूले बच्चा निकाल्ने प्रक्रिया अघि बढाए। ‘औषधि दिएर बच्चालाई नर्मल डेलिभरी गराउने प्रयास गर्ने कि अप्रेसन गरेर बच्चा निकाल्ने ?’ चिकित्सकले निर्णय गर्न भनेपछि हामीहरूले बच्चालाई प्राथमिकतामा राखेर अप्रेसन गर्ने निधो गर्यौं। त्यसपछि श्रीमतीलाई अप्रेसन कक्षमा लगियो। करिब डेढ घण्टापछि चिकित्सकले छोरा भएको र जन्मनेबित्तिकै रोएकाले आत्तिनुपर्ने अवस्था नरहेको भन्दै बच्चा देखाउन ल्याए। छोरो देखेपछि आँसु थाम्नै सकिनँ, भित्रैबाट मन भक्कानियो, आँखाबाट आँसु खसे।
समय नपुग्दै जन्मिएकाले उसका सबै अङ्ग पूर्ण रूपमा विकास भइसकेका थिएनन्। बच्चा बाहिरी वातावरणसँग घुलमिल हुनसक्ने अवस्था थिएन। फोक्सोको विकास पूर्ण रूपमा नभइसकेका कारण बच्चालाई श्वासप्रश्वासमा समस्या हुनसक्ने भन्दै चिकित्सकहरूले अक्सिजन दिएर एनआईसीयू कक्षमा राखे। श्रीमतीलाई अप्रेसन कक्षबाट निकालेर वार्डमा ल्याइयो। म भने बाहिर दुवैको कुरुवा बसें।
अप्रेसन सफल भयो र चिकित्सकले बच्चालाई पनि ठूलो समस्या देखिएको छैन भनेपछि मनमा थोरै भए पनि आशाका किरण पलाएका थिए। तर त्यो आशा निराशामा परिणत हुन धेरै समय लागेन।
बच्चाको फोक्सोमा एक्कासि समस्या देखियो। चिकित्सकका अनुसार बच्चाको फोक्सोमा हावा जमेको थियो। त्यो हावा निकाल्न बच्चाको अप्रेसन गरेर पाइप राख्नुपर्ने भयो। ‘बच्चा केही कारण तल–माथि भयो भने त्यसको जिम्मा आफैंले लिने’ गरी मध्यरातमा हस्ताक्षर गर्नुपर्ने भयो, त्यसबखत मसँग अर्को विकल्प पनि थिएन। हस्ताक्षर गरेपछि बच्चाको फोक्सोमा जमेको हावा निकाल्ने प्रक्रिया अघि बढ्यो। भर्खर जन्मिएको, त्यसैमा कम तौल, अङ्गहरू पूर्ण रूपमा विकास नभइसकेको बच्चालाई अप्रेसन कक्षमा पठाउँदा मनमा ऐंठन पर्यो।
पहिलो पटक पाइप राख्दा हावा जम्मा भएको ठाउँसम्म पाइप पुगेन। दोस्रोपटक राख्दा हावा जमेको ठाउँभन्दा माथि गयो। यस्तो देख्दा लाग्थ्यो, चिकित्सकले मेरो बच्चामाथि परीक्षण गरिरहेका छन्।
बच्चाको जीवन कि मरण उनै चिकित्सकको हातमा भएका कारण म त्यहाँ प्रश्न गर्न सक्ने अवस्थामा थिइनँ। तेस्रो पटकको प्रयासपछि ठीक ठाउँमा पाइप राखियो तर जतिसुकै प्रयास गर्दा पनि हावा भने निस्किएन। त्यसपछि बच्चालाई आईसीयूबाट भेन्टिलेटरमा लगियो। भेन्टिलेटर कक्षमा बज्ने मेसिनका ती ‘टिइक….टुइक’ आवाज सुन्दा र हलचल नगरी बेडमा लडिरहेको बच्चा देख्दा मनमा पीडाको ज्वारभाटा चल्थ्यो।
बच्चाको अवस्था देखेर म कैयौं पटक अस्पतालका वार्ड, गल्ली र शौचालयमा डाँको छाडेरै रोएको थिएँ। यो भोगाइ लेख्दै गर्दा र ती अमिला पलहरूलाई फेरि सम्झिंदा अहिले पनि मेरा आँखा रसाइरहेका छन्।
आठ दिनसम्म भेन्टिलेटरमा राखेर उपचार गराउँदा पनि बच्चाको स्वास्थ्यमा कुनै सुधार आएन। भेन्टिलेटरमा राख्दा बच्चाको अक्सिजन लेभल निकै तलसम्म झरेकाले ‘बच्चा बाँचिहाले पनि अन्य सामान्य बच्चा जस्तो हुन नसक्ने’ डर चिकित्सकले देखाए। तैपनि ‘बचाउने प्रयास गर्छौं’ भनेकाले मनमा आश भने थियो।
मेरो दौडधुप र बच्चालाई बचाउन गरेका प्रयास देखेर होला, एक जना नर्सले अब बच्चाको माया मार्न सल्लाह दिइन्। मलाई ती नर्सको नाम पनि थाहा छैन। शायद उनको उमेर ५० वर्षको हाराहारीमा हुनुपर्छ। “यो अस्पताल हो, तिमीसँग पैसा भएसम्म र हात नउठाएसम्म पैसा थुतिरहन्छ। तिम्रो दौडधुप देखेर मलाई नै माया लाग्यो। अब तिमी प्रयास नगर, तिम्रो बच्चामा सुधार आउँदैन।” ती नर्सले भनेको ठ्याक्कै शब्द यही हो।
उनका यी शब्द शायद मेरो जीवनमा अमर रहनेछन्। ती नर्सको कुरा सुनेपछि भने ममा पनि आशा रहेन। भारी मन लिएर श्रीमती भएको वार्डमा गएँ र नचाहेरै भए पनि सबै कुरा भनें; किनकि झुट लुक्ने अवस्था थिएन।
अन्ततः हामीले हाम्रो पहिलो सन्तानलाई बचाउन सकेनौं। ऊ धर्तीमा पाइला टेक्न नपाई भगवान्को प्यारो भयो। शायद उसको लेखा नै त्यति थियो, हाम्रो भाग्यमा खोट थियो— यही सोचेर हामीले चित्त बुझाउनुको विकल्प रहेन।
दोस्रो अध्याय
पहिलो सन्तान गुमाउनुपरेको पीडाबाट निस्किन हामीलाई केही समय लाग्यो। जीवनलाई फेरि पुरानै लयमा फर्काउनुपर्ने थियो।
श्रीमतीलाई पीडा हुन्छ भनेर मैले बच्चाको कुरा कहिल्यै गरिनँ। ‘त्यो एउटा नराम्रो सपना थियो’ भनेर आफैंले आफैंलाई ढाडस दिन्थें। समय विस्तारै बित्दै गयो, अनि हामी फेरि पुरानै दैनिकीमा फर्किन थाल्यौं। मैतीदेवीमै हाम्रो खाद्यान्न पसल छ। श्रीमती पसलमा बस्न थालिन्, म जागिरमा।
चिकित्सकले अप्रेसन गरेको दुई वर्षभन्दा अगाडि अर्को सन्तान बनाउनु जोखिमपूर्ण हुने सल्लाह दिएकाले हामीले त्यस विषयमा दुई वर्षसम्म सोच्दै सोचेनौं। अप्रेसन गरेको करिब साढे दुई वर्षपछि हामीले दोस्रो बच्चाको लागि योजना बनायौं। पहिलो बच्चा गुमाइसकेकाले दोस्रो बच्चाको लागि कुनै सम्झौता (कम्प्रमाइज) गर्ने सोचमा हामी दुवै थिएनौं।
बच्चा बनाउने योजना चलिरहेकै बेला केही साथीभाइहरूसँग स्त्रीरोग तथा प्रसूति विशेषज्ञ डाक्टरबारे सोधखोज गरें। डा. जागेश्वर गौतमसँग परामर्श लिन सुझाव पाएँ।
त्यसपछि हामी परामर्श लिन ओम हस्पिटल तथा रिसर्च सेन्टरमा डा. गौतमलाई भेट्न पुग्यौं। उनकै सल्लाहबमोजिम श्रीमतीको स्वास्थ्य तथा शारीरिक चेकअप पनि भयो। सबै रिपोर्ट सामान्य देखियो। दोस्रो सन्तान बनाउन शारीरिक र मानसिक रूपमा तयार भएपछि २०८१ असारमा हामी फेरि दोस्रो सन्तानको बा–आमा बन्ने भयौं। पहिलो दुई महिनासम्म आमा र बच्चा दुवैको स्वास्थ्य ठीकै थियो।
हामीले ओम हस्पिटलमा डा. जागेश्वर गौतमको सल्लाहबमोजिम नियमित चेकजाँच गराइरहेका थियौं। तेस्रो महिनाको नियमित चेकजाँच गर्न जाँदा श्रीमतीको पाठेघरको मुखमा साल टाँसिएर बसेको थाहा भयो। यसलाई चिकित्सकीय भाषामा ‘प्लासेन्टा प्रिभिया’ भनिंदो रहेछ।
गर्भावस्थामा प्लासेन्टा (साल) गर्भाशयको तल्लो भागमा बसेर पाठेघरको मुखलाई आंशिक वा पूर्ण रूपमा ढाकेको खण्डमा रक्तस्राव हुनसक्ने भएकाले बच्चा र आमा दुवैको ज्यान उच्च जोखिममा पर्ने रहेछ। ‘प्लासेन्टा प्रिभिया’ हुँदा कुनै पनि लक्षण नदेखिने र पेट पनि नदुख्ने भएका कारण कतिखेर कुन अवस्थामा रक्तस्राव हुन्छ भन्ने नै थाहा नहुने भएकाले यो समस्यालाई चिकित्सकहरूले पनि उच्च जोखिममै राख्ने रहेछन्।
रक्तस्राव भएको खण्डमा गर्भवतीलाई बचाउन पाठेघर नै झिकेर फाल्नुपर्ने हुन सक्छ भन्ने सुनेपछि हाम्रो तनावको पारो थप उकालो लाग्यो। त्यसमा डा. जागेश्वर गौतमले यस्तै कतिपय केसमा आमालाई बचाउन आफैंले पाठेघर झिकेर फालिदिएको र ओम अस्पतालमै गर्भवतीको मृत्यु समेत भएको कुरा सुनाएपछि थप डर पैदा भयो।
मैले यो लेखिरहँदा त्यति भयावह अवस्था नलाग्ला, जुन चिकित्सकले हामीलाई सुनाउँदा लागेको थियो। श्रीमतीको अवस्था देखेर भन्दा पनि चिकित्सकले जसरी ‘प्लासेन्टा प्रिभिया’ को जोखिम बारे भने, त्यसले मलाई बढी मानसिक तनाव दियो।
श्रीमतीमा उक्त समस्या देखिएपछि हामी निकै सजग त भयौं तर मानसिक तनाव भने निकै बढ्यो। पहिलो बच्चा बचाउन नसकेको मैले दोस्रो सन्तानको तयारी गर्दा श्रीमतीको ज्यान नै जोखिममा परेपछि मानसिक रूपमा विक्षिप्त बनें। चिकित्सकले गर्भवतीलाई बल पर्ने काम नगराउन भनेकाले सकेसम्म मैले उनलाई त्यस्तो कुनै काम गर्न दिइनँ। ममा मानसिक तनाव यति बढिसकेको थियो कि अफिसमा हुँदा श्रीमतीको फोन आउँदा समेत डराउन थालेको थिएँ।
श्रीमतीले हरेक पटक फोन गर्दा ‘केही भइहाल्यो कि’ भन्ने डर छोरी नजन्मिंदासम्म रह्यो। मानसिक रूपमा यति धेरै विक्षिप्त भइएछ कि हामीले कहिल्यै नबिर्सिने वैवाहिक वर्षगाँठको दिनलाई समेत बिर्सेछौं। एनिभर्सरी डे कटेको तीन दिनपछि मात्रै मिति गुज्रिएको थाहा पायौं।
जतिजति छोरीको जन्म हुने दिन नजिकिंदै थियो, त्यति नै ममा मानसिक तनाव पनि बढ्दै गएको थियो।
छोरी र श्रीमतीको स्वास्थ्यलाभको कामना गर्दै नपुकारेका देवीदेवता बाँकी थिएनन्। महिलालाई प्रसव पीडा कस्तो हुन्छ त्यो त म जान्दिनँ, तर ‘बा’ बन्न कति मानसिक तनाव हुँदोरहेछ, त्यो राम्रोसँग बुझें।
हामीले जसोतसो आठ महिना पूरा गर्यौं, त्यतिबेलासम्म श्रीमती र बच्चामा त्यस्तो ठूलो समस्या देखिएको थिएन। नियमित चेकअप चलिनै रहेको थियो। हप्तैपिच्छे जस्तो हस्पिटल गइरहेका थियौं। गर्भवती भएको ३२औं हप्तामा चिकित्सकले ‘दोस्रोपटक अप्रेसन गर्न लागेको, त्यसमा प्लासेन्टा प्रिभिया भएकाले ३६ हप्तामै अप्रेसन गरेर बच्चा निकाल्नुपर्ने’ सुझाव दिए।
डा. गौतमले कुनै पनि बेला रक्तस्राव भएर अप्रेसन गर्नुपर्ने अवस्था आउन सक्ने भएकाले रगत दिने मानिस तयारी अवस्थामा राख्न सुझाव दिए। मैले ‘भनेको समय मानिस नभेटिन सक्छन्’ भनेर ब्लड बैङ्कबाट ल्याएर पहिल्यै एक पाउन्ड रगत अस्पतालमा जम्मा गरेको थिएँ।
दैनिकी तनावमै चलिरहेको थियो। गर्भवती भएको पाँच महिना पूरा भएदेखि नै श्रीमतीलाई पसलमा धेरै बस्न दिएको थिइनँ, घरबाटै काम गर्ने गरी जागिर पनि मिलाएको थिएँ।
२०८२ चैत ७ गतेलाई डेलिभरी डेट दिइएको थियो। श्रीमतीको हेरविचार गर्न र पसललाई समय दिन नसक्ने भएपछि मैले माघदेखि जागिर पनि छाडिदिएँ। माघ महिनामा दाइको विवाह थियो। चिकित्सकले जुनसुकै बेला जे पनि हुनसक्ने भनेकाले म दाइको विवाहमा समेत गइनँ। विवाह भएकाले सबै जना घर (रुकुमपश्चिम) मा थिए।
काठमाडौंमा श्रीमती र म एक्लै थियौं। डेलिभरी डेट चैत ७ गतेको भए पनि ‘प्लासेन्टा प्रिभिया’ भएका कारण व्यथा लाग्नुभन्दा अगाडि नै फागुनको दोस्रो सातासम्ममा अप्रेसन गरेर बच्चा निकाल्नुपर्ने निर्णय चिकित्सकले सुनाए। पहिले पनि डेलिभरी हुने समयभन्दा अगाडि नै बच्चा निकाल्नुपरेको घटनाका कारण मनमा डर थियो।
मिलेको खण्डमा श्रीमतीलाई डेलिभरीका लागि दिइएको मितिभन्दा तीन–चार हप्ताअघिदेखि अस्पतालमै भर्ना गर्ने र समय पूरा भएपछि डेलिभरी गराउने मनसायमा थिएँ। डा. गौतमसँग सल्लाह गर्दा मैले सोचेको सम्भव देखिएन।
फागुन १० देखि १५ गतेसम्म अप्रेसन गर्ने मिति तय गर्न भनेपछि हामीले फागुन ७ गते डा. गौतमलाई भेटेर १४ गतेका दिन अप्रेसन गर्ने निर्णय गरेको जानकारी गरायौं। समय नजिकिंदै थियो, मनमा अनेक शङ्का–उपशङ्काले अड्डा जमाइरहेका थिए।
यतिबेलासम्म म बिहान तीन/चार घण्टा पसल खोलेर दिउँसो खाना खान पसल बन्द गरेर कोठामै जान्थें। खाना खाएपछि भाँडा माझ्ने, कपडा धुनुपर्ने भए धुन्थें र केही समय आराम गरेर दिउँसो ३/४ बजेतिर फेरि पसल खोल्न जान्थें।
फागुन १० गते पनि त्यही नियमित दैनिकी चलिरहेको थियो, अस्पताल जाने समय नजिकिएकाले त्यसको पनि योजना बनिरहेको थियो। नियमित गर्नुपर्ने सबै काम सकेर, खाजा बनाएर आफूले पनि खाएँ र करिब ४ बजेतिर पसल खोल्न कोठाबाट निस्किएँ। पसलमा पुगेको एक घण्टा पनि नपुग्दै श्रीमतीले ‘पहिला जस्तै पानी बग्न थाल्यो’ भनेर फोन गरिन्। म आत्तिएँ, भर्खर पसल खोलेर मिलाएका सामान हत्तपत्त राखें र स्कुटरमा राखेर श्रीमतीलाई अस्पताल पुर्याएँ।
अस्पताल पुग्दा करिब ५:१५ बजेको थियो। हामी पुग्दा डा. जागेश्वर गौतम अस्पतालमै नियमित काममै रहेछन्। अस्पताल पुग्नेबित्तिकै डा. गौतमको असिस्टेन्ट डाक्टरले श्रीमतीलाई हेरिन्। ‘व्यथा लाग्ने पानी बगेकाले तुरुन्त अप्रेसन गर्नुपर्ने भयो, किनभने व्यथा लागेको खण्डमा रक्तस्राव हुने उच्च जोखिम रहन्थ्यो।’ त्यसैले जतिसक्दो चाँडो अप्रेसन गर्नुपर्ने भयो।
अप्रेसनका सामान किन्न लिस्ट हातमा पर्यो। श्रीमतीलाई अप्रेसन वार्डमा लगियो। ‘अप्रेसन गर्दा रगत आवश्यक पर्न सक्ने भएकाले त्यसको जोहो गर्न’ भनियो। मैले पहिल्यै एक पाउन्ड रगत जम्मा गरिसकेकाले अरू तीन पाउन्ड रगत खोज्न भनियो।
अस्पतालमा म एक्लै थिएँ, श्रीमतीलाई कुर्ने मानिससम्म भएन। त्यसपछि काठमाडौंमा बस्ने छिमेकी बहिनी (निर्मला थिङ) र भाउजू (नातेदार) र जेठो मामालाई फोन गरेर बोलाएँ। म भने श्रीमतीलाई अस्पतालमा एक्लै छाडेर रगत खोज्न हिंडें, त्यतिबेलासम्म ६ बजेको थियो। प्रदर्शनीमार्गस्थित नेपाल रेडक्रसको ब्लड बैङ्क शाखाबाट रगत लिएर अस्पताल पुग्दा करिब ७:५० बजेको थियो।
म पुग्दा छोरी जन्मिसकेकी थिई। अप्रेसन सफल भयो। अप्रेसन गर्दा रक्तस्राव भएन, जसका कारण श्रीमतीको पाठेघर पनि सुरक्षित भयो। उनलाई ‘पाठेघर फाल्नुपर्छ कि ?’ भन्ने ठूलो चिन्ता थियो।
उकाली चढेपछि ओराली अवश्य झरिन्छ भने झैं विगत एक वर्षजति सङ्घर्षपूर्ण बन्यो, अहिले छोरीको आगमनसँगै ती सबै दुःख–पीडा विस्तारै बिर्सिंदै गएका छन्। छोरीसँग खेल्न पाउँदा, छोरीको मुहारको हाँसो देख्दा र बढ्दो उमेरसँगै उनीमा आएका स्वाभाविक परिवर्तनले ती पीडा र दुःख हरण भएका छन्।
प्रतिक्रिया 4