+
+
Shares

बैठकमा दुवै प्रतिवेदन पेश भएका छन्, आइतबार एउटै बनाउँछौं : लेखराज भट्ट

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २६ गते १७:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलमा रामबहादुर थापा र शंकर पोखरेलले शुक्रबार छुट्टाछुट्टै प्रतिवेदन पेस गरेका छन्।
  • दुवै प्रतिवेदन अध्ययन गरेर आइतबार एकीकृत प्रतिवेदन तयार गरी पार्टी सचिवालयमा पेस गर्ने कार्यतालिका तय भएको छ।
  • महासचिव पोखरेलको प्रतिवेदनमा अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्वबाट हटाउने कुनै प्रस्ताव नरहेको उपमहासचिव लेखराज भट्टले स्पष्ट पारेका छन्।

२६ भदौ, काठमाडौं । नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलमा दुईवटा छुट्टाछुट्टै प्रतिवेदन पेस भएका छन्।

शुक्रबार बसेको कार्यदलको बैठकमा कार्यदल संयोजक तथा पार्टी उपाध्यक्ष रामबहादुर थापा र महासचिव शंकर पोखरेलले आ–आफ्ना प्रतिवेदन पेस गरेका हुन्। दुवै प्रतिवेदन अध्ययन गरी एउटै एकीकृत प्रतिवेदन तयार पारेर पार्टी सचिवालयमा पेस गर्ने निर्णय भएको एमालेका उपमहासचिव लेखराज भट्टले जानकारी दिए।

भट्टका अनुसार अघिल्लो बैठकले प्रतिवेदन तयार गर्ने जिम्मा महासचिव पोखरेललाई दिएको थियो भने संयोजक थापालाई त्यसको संयोजन र परिमार्जन गर्ने जिम्मेवारी तोकिएको थियो। तर, जिम्मेवारी बाँडफाँटमा केही अन्योल देखिँदा दुवै नेताले छुट्टाछुट्टै प्रतिवेदन पेस गरेको बताइएको छ।

सबै सदस्यहरूलाई दुवै प्रतिवेदन वितरण गरिएको र दुई दिन (शुक्रबार र शनिबार) अध्ययन गरेर आइतबार बस्ने बैठकले एकीकृत प्रतिवेदन तयार गर्ने कार्यतालिका तय भएको छ।

प्रवक्ता भट्टले पार्टीभित्र ठूलो विवाद नरहे पनि ‘पुनर्गठन’ लाई बुझ्ने विषयमा केही फरक धारणा देखिएको स्वीकार गरेका छन्। नेताहरूबीच पार्टी पुनर्गठनलाई ‘मूल नेतृत्व परिवर्तनका रूपमा बुझ्ने’ वा ‘समग्र पार्टीको समीक्षा तथा संगठन पुनर्गठनका रूपमा बुझ्ने’ भन्नेमा बुझाइको अन्तर देखिएको उनले बताए।

यद्यपि, संयोजक थापाले ल्याएको छुट्टै दस्तावेजलाई पूर्ण रूपमा अलग प्रतिवेदन भन्न नमिल्ने र महासचिवले ल्याएका विषयमा केही थप गर्न ल्याइएको सुझाव मात्र भएको भट्टको जिकिर छ।

‘ओलीलाई हटाउने प्रस्ताव छैन’

महासचिव शंकर पोखरेलले तयार पारेको प्रतिवेदनमा अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्वबाट हटाउनुपर्ने कुनै प्रस्ताव नरहेको उपमहासचिव भट्टले स्पष्ट पारेका छन्।

‘महासचिवले तयार गरेको प्रतिवेदन मैले पनि अध्ययन गरेको छु। त्यसमा मूल नेतृत्वलाई परिवर्तन गरेर जानुपर्छ भन्ने कतै छैन,’ भट्टले भने, ‘त्यहाँ केही समीक्षा गरिएको छ र तल्लो तहबाट आएका सुझावहरूलाई जस्ताको तस्तै राखिएको छ। नेतृत्व परिवर्तन गर्ने भन्ने विषय महासचिवको प्रतिवेदनमा छैन।’

कार्यदलले दुवै दस्तावेजलाई छुट्टाछुट्टै रूपमा केन्द्रीय कमिटीमा नलैजाने स्पष्ट पारेको छ। आइतबार एकीकृत प्रतिवेदन तयार गरी सचिवालयमा पेस गरिने र सचिवालयबाट पारित भएपछि मात्रै एउटै प्रतिवेदन केन्द्रीय कमिटीमा लगिने प्रवक्ता भट्टले जानकारी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?