News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसको १५औं केन्द्रीय महाधिवेशनअन्तर्गत शनिबार र आइतबार स्थानीय अनुकूलताअनुसार वडा अधिवेशन हुँदैछ ।
- २०८२ पुससम्म क्रियाशील सदस्यता नवीकरण गरेका सदस्यहरूले वडाको अधिवेशनमा भाग लिनेछन् ।
- वडा अधिवेशनले सभापति, उपसभापति, सचिव, सहसचिव र क्षेत्रीय प्रतिनिधि चयन गर्नेछ ।
२ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औं केन्द्रीय महाधिवेशनअन्तर्गत शनिबारदेखि वडा अधिवेशनहरू सुरु हुँदैछ ।
पार्टी केन्द्रीय निर्वाचन समितिले शनिबार र आइतबार स्थानीय अनुकूलताअनुसार वडा अधिवेशन गर्न सकिने भनेको छ ।
२०८२ पुससम्म क्रियाशील सदस्यता नवीकरण गरेका सबै क्रियाशील सदस्यहरू आ–आफ्नो वडाको अधिवेशनमा भाग लिँदै छन् ।
सभापति गगन थापाले १५औं महाधिवेशनका लागि वडा तहबाट सुरु हुन गइरहेको अधिवेशनमा उत्साहका साथ सहभागी हुन आह्वान गरिसकेका छन् ।
अधिवेशनमा वडा क्षेत्र भित्रका क्रियाशील सदस्यहरू वडा अधिवेशनका सदस्य हुने छन् । वडा अधिवेशनले सभापति, एक महिलासहित दुई उपसभापति, एक सचिव एक र एक सह–सचिव निर्वाचित गर्नेछ ।
कांग्रेसको विधानअनुसार गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका अन्तर्गतका वडाबाट निर्वाचित हुने वडा सभापतिले निर्वाचित वडा कार्यसमितिबाट कोषाध्यक्ष मनोनीत गर्न पाउँछन् ।
गाउँपालिका वडा अधिवेशनबाट कम्तीमा दुई महिला, एक दलित र ३० वर्ष मुनिको एक युवासहित सात जनालाई वडा सदस्यमा निर्वाचित हुने छन् ।
कांग्रेस विधानमा नगर–उपमहानगरपालिका वडा अधिवेशनले भने दुई महिला, एक दलित र ३० वर्ष मुनिका दुई युवासहित आठ जनालाई वडा सदस्यमा निर्वाचित गर्नुपर्ने हुन्छ ।
यस्तै, महानगरपालिकाको वडा अधिवेशनबाट कम्तीमा तीन महिला, एक दलित र ३० वर्ष मुनिका तीन युवासहित ११ जना वडा सदस्यमा प्रत्यक्ष निर्वाचित हुन्छन् ।
कांग्रेसको विधानमा वडा सभापतिलाई वडा सदस्यका लागि मनोनीत गर्ने अधिकार स्थानीय तहअनुसार फरकफरक व्यवस्था गरिएको छ । जसअनुसार गाउँपालिका वडा सभापतिले पाँच, नगर–उपमहानगरपालिका वडा सभापतिले ६ र महानगरपालिका वडा सभापतिले सात जनालाई मनोनीत गर्न पाउँछन् ।
वडा सभापतिले कार्यसमितिमा एकतिहाइ सदस्य अनिवार्य महिला हुनुपर्ने व्यवस्था तथा समावेशी सिद्धान्तअनुरूप सबै समुदायको प्रतिनिधित्व, अल्पसंख्यकको प्रतिनिधित्व, अपाङ्गता भएका व्यक्तिको प्रतिनिधित्व, युवा प्रतिनिधित्व समेतलाई ध्यानमा राखी क्रियाशील सदस्यमध्येबाट वडा सदस्य मनोनीत गर्नुपर्ने वैधानिक प्रावधान छ ।
कांग्रेसको विधानअनुसार प्रत्येक महिनामा कम्तीमा एक पटक वडा कार्यसमितिको बैठक बस्नुपर्ने हुन्छ । क्षेत्रीय अधिवेशनका प्रतिनिधिलाई वडा कार्यसमितिको बैठकमा आवश्यकताअनुसार आमन्त्रण गर्न सकिने विधानमा उल्लेख छ ।
यस्तै वडा कार्यसमितिले मातहतका टोल कार्यसमितिका सभापतिलाई वडा कार्यसमितिको बैठकमा अनिवार्य आमन्त्रण गर्नुपर्ने हुन्छ ।
कांग्रेसको विधानमा एउटै व्यक्ति क्षेत्रीय अधिवेशन प्रतिनिधि र गाउँपालिका वडा कार्यसमितिमा बस्न सक्ने प्रावधान छ ।
वडा अधिवेशनबाट क्षेत्रीय प्रतिनिधिको चयन
गाउँ–नगर/उपमहानगर/महानगर वडा अधिवेशनबाट क्षेत्रीय अधिवेशनका लागि प्रतिनिधिहरू पनि चयन हुन्छन् । क्षेत्रीय अधिवेशनका लागि सबै वडा अधिवेशनबाट समान संख्यामा प्रतिनिधिहरू चयन हुन्छन् ।
१५० वा सोभन्दा कम क्रियाशील सदस्य भएको वडाको अधिवेशनले क्रियाशील सदस्यमध्येबाट क्षेत्रीय अधिवेशनका लागि कम्तीमा तीन जना महिला, एक श्रमिक वा पेसागत क्षेत्रसहित ९ जना क्षेत्रीय प्रतिनिधिहरू चयन गर्छ ।
यस्तै ३० वर्ष उमेर नपुगेका एक महिलासहित तीन युवालाई पनि क्षेत्रीय प्रतिनिधिका लागि वडा अधिवेशनले प्रत्यक्ष निर्वाचित गर्नुपर्ने वैधानिक व्यवस्था छ ।
त्यसैगरी, १५० भन्दा बढी क्रियाशील सदस्य भएको वडामा बढीमा ५५ को सीमाभित्र रहेर प्रति १५० थप क्रियाशील सदस्यमा दुई महिला र एक युवासहित ६ जना थप प्रतिनिधि प्रत्यक्ष निर्वाचित हुने छन् ।
महिला, दलित, आदिवासी जनजाति, खसआर्य, मधेशी, थारु, मुस्लिम, अल्पसंख्यक, पिछडिएको क्षेत्रबाट प्रत्यक्ष निर्वाचित हुने सदस्य संख्याको ५० प्रतिशत संख्यामा वडाको जनसंख्याको बनोटअनुसार समानुपातिक आधारमा तोकिएबमोजिम प्रतिनिधि निर्वाचित गर्नुपर्ने विधानमा उल्लेख छ ।
विधानमा भनिएको छ, ‘अपाङ्गता भएका र दलित क्रियाशील सदस्यमध्येबाट एक–एक जना प्रतिनिधि ।’ विधानअनुसार कांग्रेसको वडा कार्यसमिति सभापति पदेन क्षेत्रीय अधिवेशन प्रतिनिधि मानिन्छन् ।
वडा सभापतिको योग्यता के ?
कांग्रेसले वडा कार्यसमितिको सभापतिका लागि योग्यताको मापदण्ड तोकेको छैन । गत पुसमा सम्पन्न विशेष महाधिवेशनबाट संशोधन भएको पार्टीको विधानमा वडा कार्यसमिति सभापतिको उम्मेदवारका लागि योग्यता खुलाइएको छैन ।
यसअघि कांग्रेसको क्रियाशील सदस्यता प्राप्त गरेको एक वर्ष पुगेको सदस्य मात्रै गाउँ–नगर/उपमहानगर/महानगर वडा कार्यसमिति सभापतिको उम्मेदवार बन्न पाउने प्रावधान थियो ।
संशोधित विधानमा गाउँ/नगरपालिका सभापति, प्रदेशसभा सभापति, प्रतिनिधिसभा क्षेत्रीय सभापति, जिल्ला सभापति, प्रदेश सभापति र केन्द्रीय सभापतिको उम्मेदवार बन्न आवश्यक योग्यता पनि तोकिएको छैन ।
तर, १५औं महाधिवेशन निर्वाचन निर्देशिका, २०८३ मा भने उम्मेदवारको योग्यता र मनोनयनसम्बन्धी (वडा सभापति बाहेक) व्यवस्था गरिएको छ ।
जसअनुसार गाउँ नगरपालिका सभापति, प्रदेशसभा सभापति, प्रतिनिधिसभा क्षेत्रीय सभापति, जिल्ला उपसभापति र सचिवको हकमा पाँच वर्ष क्रियाशील सदस्य भएको हुनु पर्नेछ ।
यस्तै, जिल्ला सभापति, प्रदेश सभापतिसहित पदाधिकारी र केन्द्रीय सदस्यको हकमा १० वर्ष क्रियाशील सदस्यता लिएको हुनु पर्नेछ । तर ३५ वर्ष मुनिका युवा, समायोजन भई आएका र पेसागत–श्रमिक क्षेत्रका सदस्यको हकमा यो सीमा लागु नहुने निर्देशिकामा उल्लेख छ ।
निर्देशिकामा केन्द्रीय पदाधिकारीका लागि १० वर्ष र केन्द्रीय सभापतिको हकमा १५ वर्ष निरन्तर क्रियाशील सदस्य भएको हुनुपर्ने पनि भनिएको छ ।
प्रतिक्रिया 4