News Summary
Generated by OK AI. Editorially reviewed.- राज कपूरले नातिनी करिश्मालाई अस्पतालमा हेर्नु अघि उसकी आँखा निलो हुनुपर्ने शर्त राखेका थिए र खबर पाएपछि पुगेका थिए।
- बबिता कपूरले राज कपूरको फिल्मविरोधी नियम तोडेर छोरी करिश्मालाई अभिनयमा ल्याएकी थिइन्।
- राज कपूरले करिश्मालाई ठूलो स्टार बन्ने प्रोत्साहन दिँदै कलाकार हुन मेहनत र सङ्घर्ष आवश्यक हुने बताउँथे।
अहिले करीना कपूर खान आफ्नो नयाँ फिल्म दायराको प्रचारप्रसारमा व्यस्त छिन् । करीना र करिश्मा दुवै दिदीबहिनी आफ्नो समयका निकै सफल र चर्चित अभिनेत्री हुन् । उनीहरूले अभिनयबाट ठूलो नाम कमाएका छन् । तर यहाँसम्म पुग्न दुवैलाई सजिलो थिएन ।
उनीहरूका हजुरबुबा राज कपूर आफ्ना छोरी वा बुहारीहरूले फिल्ममा काम गरुन भन्ने चाहँदैनथे । तर उनीहरूकी आमा बबिताले छोरीहरूका लागि त्यो नियमविरुद्ध विद्रोह गरिन् । करिश्माले परिवारको परम्परा तोडेर पहिलोपटक फिल्ममा कदम राखिन् । उनले पहिले नै बाटो बनाइसकेकाले बहिनी करीनाका लागि भने फिल्म क्षेत्रमा आउन अलि सजिलो भयो ।
नातिनीलाई भेट्न राज कपूरको अनौठो शर्त
धेरै फ्यानहरूले करीना र करिश्मा आफ्ना हजुरबुबा राज कपूर जस्तै देखिने बताउँछन् । खासगरी उनीहरूको आँखालाई लिएर यस्तो टिप्पणी हुने गर्छ । करिश्माको आँखा हजुरबुबा राज कपूरको जस्तै निलो छ भने करीनाको गाढा हरियो ।
यही आँखालाई लिएर राज कपूरले अनौठो शर्त राखेका थिए । त्यो सर्तले गर्दा उनकी बुहारी बबिता निकै चिन्तित र अन्योलमा परेकी थिइन् । यो रोचक कथा बबिता कपूरले आफ्ना ससुरा राज कपूरको जीवनी द वान एण्ड ओन्ली शोम्यान मा बताएकी हुन् । जसअनुसार राज कपूरले नातिनी करिश्माको अनुहार नै नहेर्ने बताएका थिए ।
हेर्नका लागि अनौठो शर्त राखेका थिए । जसअनुसार उनले भनेका थिए – यदि नातिनीको आँखा मेरो जस्तै निलो भयो भने मात्र म उसलाई अस्पतालमा हेर्न आउनेछु, नत्र आउँदिनँ ।
करिश्माको जन्म हुँदा पुरै परिवार अस्पतालमा थियो । तर, राज कपूर शर्त पूरा हुने पर्खाइमा घरमै बसे । जब करिश्माको जन्म भयो र उनको आँखा निलो छ भन्ने खबर पाए, तब राज कपूर खुसी हुँदै नातिनीलाई हेर्न अस्पताल पुगेका थिए ।
हजुरबुबा र नातिनीको माया
त्यसै जीवनीमा करिश्मा कपूर (लोलो) ले पनि आफ्ना हजुरबुबासँगको सम्बन्धबारे सम्झना सेयर गरेकी छिन् । उनी सानै उमेरदेखि आफू हिरोइन बन्न चाहेको कुराहजुरबुबालाई बताउँथिन् । राज कपूरले उनलाई सम्झाउँदै कलाकार बन्न सजिलो नभएको, धेरै मेहनत र संघर्ष गर्नु पर्ने बताउँथे ।
करिश्मा अक्सर हजुरबुबाको काखमा बसेर आफ्नो भविष्यका कुरा गर्थिन् । राज कपूरले पनि उनलाई प्रोत्साहन गर्दै तिमी एक दिन ठूलो स्टार बन्नेछौ भनेर मख्ख पार्थे । हजुरबुबाको यही प्रेरणाले उनको करियरमा ठूलो भूमिका खेल्यो ।
बबिता कपूर आफू पनि आफ्नो समयकी राम्री अभिनेत्री थिइन् । तर विवाहपछि उनले अभिनय छोडिन् । तर छोरीहरूको पालो आएपछि भने उनी पछि हटिनन् । उनी आफ्ना छोरीहरूले आफ्नै पहिचान बनाऊन् भन्ने चाहन्थिन् ।
आखिर बबिताको त्यो सपना पूरा भयो र आज करीना र करिश्मा दुवै बलिउडका सफल र उत्कृष्ट अभिनेत्रीका रूपमा चिनिन्छन् ।
प्रतिक्रिया 4