News Summary
Generated by OK AI. Editorially reviewed.- जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडका कर्मचारीले श्रम अदालतको ३१ जेठ २०८१ को फैसलाअनुसार सेवा सुविधा माग गर्दै सोमबारदेखि धर्ना थालेका छन् ।
- कर्मचारीले न्यूनतम पारिश्रमिक, परिचयपत्र, चाडबाड खर्च, सुत्केरी स्याहार र प्रसूति बिदा नपाएको गुनासो गरेका छन् ।
- उनीहरूले केन्द्रीय कार्यालय कोटेश्वरसहित बारा तामागढी र सुनसरी तरहरा लगायत सबै शाखा कार्यालयमा धर्ना दिएका छन् ।
६ असोज, काठमाडौं । नेपाल सरकारको पूर्ण स्वामित्वको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडका कर्मचारीले विभिन्न माग राख्दै धर्ना सुरु गरेका छन् ।
उनीहरूले श्रम अदालतबाट ३१ जेठ २०८१ मा भएको फैसला अनुसार सेवा सुविधा माग गर्दै धर्ना थालेका हुन् । उक्त फैसलाले यस कम्पनीका श्रमिकलाई श्रम ऐन २०७४, सामाजिक सुरक्षा ऐन २०७५ ले तोके अनुसार सेवा सुविधा उपलब्ध गराउन भनेको छ ।
कर्मचारीका अनुसार अहिले संस्थाले दिनुपर्ने परिचयपत्र समेत नपाएको र चाडबाड खर्च, सुत्केरी स्याहार, प्रसूति बिदा लगायत समेत नपाएको अवस्था छ ।
कर्मचारीले केन्द्रीय कार्यालय कोटेश्वर लगायत अन्य शाखा कार्यालयमा सोमबारदेखि धर्ना थालेका हुन् । सञ्चालक समिति र व्यवस्थापनसँग पटक–पटक माग पूरा गर्न आग्रह गरे पनि बेवास्ता गरेको भन्दै कर्मचारी धर्नामा बसेका हुन् ।
उनीहरूले केन्द्रीय कार्यालयसँगै बारा तामागढी, सुनसरी तरहरा सहित सबै शाखा कार्यालयमा समेत धर्ना थालेका छन् । साथै, कर्मचारीले यसमा तालुक मन्त्रालय कृषि, वन तथा पर्यावरण मन्त्रालय, युवा, श्रम तथा रोजगार मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा समेत पत्राचार गरिएको भए पनि कानुन अनुसार पाउनुपर्ने सेवा सुविधा नपाएको उनीहरूको गुनासो छ ।
प्रतिक्रिया 4