+
+
Shares

रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको कुलपति प्रधानमन्त्री नै हुने

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ७ गते १०:१२

७ असोज, काठमाडौं । रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको कुलपति प्रधानमन्त्री नै हुने भएका छन् ।

अनय विश्वविद्यालयको पनि कुलपति प्रधानमन्त्री छन् । पछिल्लो समय विश्वविद्यालयको कुलपति प्रधानमन्त्री नभएर प्राज्ञिक व्यक्तिलाई ल्याउनुपर्ने बहस चलिराखेको छ ।

तर प्रतिनिधिसभामा हालै प्रस्तुत रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्न बनेको विधेयकमा कुलपति प्रधानमन्त्री नै हुने व्यवस्था छ ।

विधेयकको दफा १७ मा प्रधानमन्त्री प्रतिष्ठानको कुलपति हुने व्यवस्था छ ।

कुलपति प्रतिष्ठानको प्रमुख हुनेछन् । कुलपतिले प्रतिष्ठानको निरीक्षण गर्न र निर्देशन दिन सक्नेछन् ।

नेपाल सरकारको स्वास्थ्य सम्बन्धी विषय हेर्ने मन्त्री वा राज्यमन्त्री प्रतिष्ठानको सहकुलपति हुनेछन् ।

सहकुलपतिले आवश्यकता अनुसार प्रतिष्ठानको निरीक्षण गर्न र प्रतिष्ठानलाई निर्देशन दिन सक्नेछन् ।

उपकुलपति प्रतिष्ठानको पूरा समय काम गर्ने प्रमुख पदाधिकारी हुनेछन् ।

उपकुलपतिको पदावधि चार वर्षको हुनेछ ।

उपकुलपति हुन मान्यताप्राप्त शिक्षण संस्थाबाट चिकित्सा शिक्षा विषयमा कम्तीमा स्नातकोत्तर तहको उपाधि प्राप्त गरेको र कुनै विश्वविद्यालय वा शिक्षण संस्थाको प्राध्यापक पदमा रही कम्तीमा पाँच वर्ष काम गरेको हुनुपर्छ ।

३५ वर्ष उमेर पूरा भएको र नियुक्ति हुँदाको बखत ६५ वर्ष ननाघेको हुनुपर्ने व्यवस्था छ ।

यस्तो व्यवस्थासहितको विधेयक स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ल्याएकी हुन् ।

गुणस्तरीय स्वास्थ्य सेवामा सहज, सुलभ, र समान पहुँच सुनिश्चित गर्ने, स्वास्थ्य सेवालाई सर्वसुलभ र गुणस्तरीय बनाउन स्वास्थ्य अनुसन्धानमा जोड दिँदै स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीको संख्या वृद्धि गर्दै जाने गरी विधेयक ल्याएको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ ।

मन्त्री मेहताले विधेयकमै लेखेकी छन्, ‘संविधानद्वारा प्रत्याभूत गरिएका स्वास्थ्य सम्बन्धी हकको सुनिश्चितताको लागि अस्पतालहरुको विस्तार गर्न तथा गुणस्तरीय स्वास्थ्य शिक्षा प्रदान गर्न स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना र संचालन गर्न आवश्यक रहेको छ ।’

प्रतिष्ठान स्थापना गर्नको लागि रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार तयारी विकास समिति (गठन) आदेश, २०८० जारी भै पूर्वाधारको कार्य समेत भइरहेको छ ।

अन्य प्रदेशमा एक/एक प्रतिष्ठान स्थापना भई सञ्चालनमा रहेको तर मधेश प्रदेशमा प्रतिष्ठान स्थापना एवं सञ्चालन नरहेको हुनाले प्रादेशिक सन्तुलनको लागि समेत प्रस्तुत प्रतिष्ठान स्थापना भई कार्यान्वयन हुन आवश्यक रहेको मन्त्रालयले जनाएको छ ।

विधेयकअनुसार प्रतिष्ठानको केन्द्रीय कार्यालय सप्तरी जिल्लाको राजविराज नगरपालिकामा रहनेछ । प्रतिष्ठानलाई अंग्रेजी भाषामा रामराजा प्रसाद सिंह एकेडेमी अफ हेल्थ साइन्सेज भनिनेछ ।

रामराजा प्रसाद सिंह नेपालका पहिलो गणतन्त्रवादी नेता हुन् । तत्कालीन पञ्चायती व्यवस्था र राजतन्त्रको विरुद्धमा उभिएर उनले नेपालमा गणतन्त्र स्थापनाका लागि वकालत र संघर्ष गरेका थिए । उनी सप्तरी जिल्लाको कोइलाडीमा जन्मिएका थिए । २०२८ सालमा मा स्नातक क्षेत्रबाट राष्ट्रिय पञ्चायतको सदस्य पदमा चुनाव लड्दा उनले खुला रूपमा गणतन्त्रको नारा अघि सारेका थिए । यही कारण पक्राउ परेका थिए ।

राजतन्त्र उन्मूलनका लागि भनेर उनले ‘जनवादी मोर्चा’ नामक संगठन स्थापना गरी संघर्षलाई अगाडि बढाएका थिए । २०४२ साल साल असार ६ गते नारायणहिटी राजदरबार र संसद् भवन (ग्यालरी बैठक) लगायतका ठाउँमा भएको बम विस्फोटको घटनाको नेतृत्व उनैले गरेका थिए ।

यसपछि उनलाई तत्कालीन सरकारले मृत्युदण्डको सजाय सुनाएको थियो । त्यसपछि लामो समय भारतमा निर्वासित जीवन बिताए । २०६५ सालमा नेपालमा गणतन्त्र स्थापना भएपछि भएको पहिलो राष्ट्रपति निर्वाचनमा तत्कालीन नेकपा माओवादीले उनलाई पहिलो राष्ट्रपतिको उम्मेदवार बनाएको थियो । तर उनी विजयी भएनन् ।

उनै रामराजाको सम्झनामा सप्तरीको राजविराजमा रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्न लागिएको हो ।

विधेयकअनुसार कुलपतिको रूपमा प्रधानमन्त्रीले नै प्रतिष्ठानको नेतृत्व गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?