+
+
Shares

विवेक ओबेरोयको उपस्थितिमा मुम्बईमा नेपाली फिल्म ‘२६ करोड’ को घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ७ गते १२:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बलिउड अभिनेता विवेक ओबेरोयको उपस्थितिमा मुम्बईको ताज ल्यान्ड्स एन्ड होटलमा नेपाली फिल्म ‘२६ करोड’ निर्माणको औपचारिक घोषणा गरिएको छ ।
  • फिल्मको शीर्ष अभिनेत्रीमा नेपाली मूलकी साहारा आर शाह अनुबन्धित भएकी छन्, र उनी प्रदीप खड्काको जोडीका रूपमा देखिनेछिन् ।
  • निर्देशक विकास सुवेदीका अनुसार फिल्मको छायांकन आगामी नोभेम्बर–डिसेम्बरमा जुम्ला, काठमाडौं, मुम्बई र केदारनाथमा हुनेछ ।

मुम्बई । बलिउड अभिनेता विवेक ओबेरोयको उपस्थितिमा नेपाली कथानक फिल्म ‘२६ करोड’ निर्माणको औपचारिक घोषणा गरिएको छ । मंगलबार साँझ मुम्बईको ताज ल्यान्ड्स एन्ड होटलमा आयोजित कार्यक्रममा फिल्मको घोषणा गरिएको हो ।

ओबेरोयको जन्मदिनका अवसरमा क्यान्सरपीडितको सहयोगार्थ क्यान्सर पेसेन्ट्स एड एसोसिएसनले आयोजना गरेको ‘रोज डे’ समारोहबीच फिल्मको घोषणा गरिएको हो ।

फिल्मको शीर्ष अभिनेत्रीमा नेपाली मूलकी साहारा आर शाह अनुबन्धित भएकी छन् । क्यान्सरलाई जितेकी साहारालाई अभिनेता ओबेरोयले लामो समयदेखि अभिभावकत्व प्रदान गर्दै आएका छन् ।

समारोहमा फिल्मका निर्माता सुवास भुसाल र शाहबीच सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । शाहले बलिउड अभिनेता अनुपम खेरको अभिनय प्रशिक्षण संस्था ‘एक्टर प्रिपेयर्स’मा अभिनय सिकेकी हुन् ।

कार्यक्रममा ओबेरोयले आफूले अभिभावकत्व प्रदान गर्दै आएकी साहाराले फिल्ममा डेब्यु गर्न लाग्नु आफ्नो जन्मदिनको सबैभन्दा ठूलो उपहार भएको बताए । साहारा तीन वर्षको उमेरदेखि नै क्यान्सरसँग संघर्षरत थिइन् । क्यान्सर पेसेन्ट्स एड एसोसिएसनमार्फत ओबेरोयले उनको उपचार, शिक्षा र संरक्षणमा सहयोग गर्दै आएका छन् ।

समारोहमा भावुक बनेका ओबेरोयले भने, ‘मैले साहारालाई क्यान्सरसँग लड्दै गरेको एउटा सानो बच्चाको रूपमा देखेको थिएँ । आज उनले क्यान्सरलाई जितेर फिल्मको मुख्य अभिनेत्रीका रूपमा सम्झौता गरिरहँदा म शब्दमा बयान गर्न नसकिने गरी भावुक भएको छु ।’

सामाजिक विषयवस्तुमा आधारित फिल्मको पटकथा लेखन तथा निर्देशन विकास सुवेदीले गर्नेछन् । सुवेदीका अनुसार साहारालाई अडिसनमार्फत छनोट गरिएको हो ।

फिल्ममा अनुबन्धित हुनुअघि साहाराले अभिनेता ओबेरोय र ‘तारे जमिन पर’का पटकथाकार अमोल गुप्तेसँग आशीर्वाद लिएकी थिइन् । कार्यक्रममा ओबेरोयले फिल्मको सफलताको शुभकामनासमेत दिए ।

फिल्ममा साहारा नेपाली अभिनेता प्रदीप खड्काको जोडीका रूपमा देखिनेछिन् । किङडम नेटवर्कको ब्यानरमा निर्माण हुने फिल्मको छायांकन आगामी नोभेम्बर–डिसेम्बरमा नेपालको जुम्ला र काठमाडौं तथा भारतको मुम्बई र केदारनाथका विभिन्न स्थानमा गरिने निर्माता भुसालले जानकारी दिए ।

कर्णाली फिल्म फेस्टिभलका अवसरमा फिल्मको छायांकन कर्णाली प्रदेशमा गर्ने सम्झौतासमेत भएको थियो । सोही सम्झौताअनुसार फेस्टिभलका निर्देशक चक्रबहादुर चन्दको संयोजनमा मुम्बईमा फिल्म निर्माणको औपचारिक घोषणा गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?