News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेस स्याङ्जाका १० स्थानीय तहमध्ये पाँच पालिकामा सर्वसम्मत र पाँच पालिकामा निर्वाचनमार्फत पालिका अधिवेशन सम्पन्न भएको छ ।
- कालीगण्डकी गाउँपालिकामा भने आज निर्वाचन हुने भएको छ, र पालिका अधिवेशनसँगै महाधिवेशन प्रतिनिधि छनोटको प्रक्रिया अघि बढेको छ ।
- आँधीखोला, बिरुवा, हरिनास, फेदीखोला र गल्याङमा सर्वसम्मत सभापति चयन भएका छन् भने वालिङ, चापाकोट, पुतलीबजार, भीरकोट र अर्जुनचौपारीमा निर्वाचन भएको छ ।
८ असोज, स्याङ्जा । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत स्याङ्जाका १० स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएको छ । पाँच पालिकामा नेतृत्व सर्वसम्मत चयन भएको छ भने पाँच पालिकामा निर्वाचनमार्फत नयाँ नेतृत्व चुनिएको छ । कालीगण्डकी गाउँपालिकामा भने आज निर्वाचन हुने भएको छ ।
नेपाली कांग्रेस स्याङ्जाका जिल्ला उपसभापति केदार काफ्लेका अनुसार गल्याङ नगरपालिका, बिरुवा गाउँपालिका, हरिनास गाउँपालिका, फेदीखोला गाउँपालिका र आँधीखोला गाउँपालिकामा पालिका समिति निर्विरोध चयन भएको हो ।
वालिङ, चापाकोट, पुतलीबजार र भीरकोट नगरपालिका तथा अर्जुनचौपारी गाउँपालिकामा भने निर्वाचनमार्फत नेतृत्व चयन गरिएको छ । बाँकी कालीगण्डकी गाउँपालिकामा आज निर्वाचन हुने उपसभापति काफ्लेले जानकारी दिए ।
१० पालिकामा को-को बने सभापति ?
आँधीखोला गाउँपालिकामा अनिल ढकाल, बिरुवा गाउँपालिकामा लालबहादुर हमाल, हरिनास गाउँपालिकामा बालकृष्ण सिग्देल, फेदीखोला गाउँपालिकामा महेन्द्र थापा र गल्याङ नगरपालिकामा श्यामप्रसाद बस्याल सभापतिमा सर्वसम्मत निर्वाचित भएका छन् ।
अर्जुनचौपारी गाउँपालिकाको सभापतिमा हरिप्रसाद काफ्ले निर्वाचित भएका छन् । उनले ९९ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी शालिग्राम काफ्लेले ५६ मत पाएका थिए । कुल प्रतिनिधि एक सय ६२ मा एक सय ५८ मत खसेको थियो ।
पुतलीबजार नगरपालिकाको सभापतिमा सुरजकुमार अधिकारी निर्वाचित भएका छन् । अधिकारीले २५९ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी लेखनाथ शर्माले १९१ मत पाएका थिए ।
त्यस्तै, नगर सचिवमा ख्यामकान्त अर्याल निर्वाचित भएका छन् । उनले २४५ मत प्राप्त गर्दा प्रतिस्पर्धी रामप्रसाद लम्सालले १९१ मत पाएका थिए । सहसचिवमा पूर्णबहादुर गुरुङ दोर्जेले २९७ मत प्राप्त गरी निर्वाचित हुँदा गौतमसिंह ठकुरीले १४४ मत पाएका थिए । कुल प्रतिनिधि चार सय ९६ मा चार सय ५७ मत खसेको थियो ।
वालिङ नगरपालिकाको सभापतिमा पदमराज गुरुङ निर्वाचित भएका छन् । उनले २६९ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी बोधराज कुँवर ‘राजु’ ले २६६ मत पाए । गुरुङ तीन मतको झिनो अन्तरले नगर सभापतिमा निर्वाचित भएका हुन् । कुल प्रतिनिधि पाँच सय ५९ मा पाँच सय ४२ मत खसेको थियो ।
चापाकोट नगरपालिकाको सभापतिमा विक्रम सारु निर्वाचित भएका छन् । सारुले २४२ मत प्राप्त गर्दा प्रतिस्पर्धी विश्वास पुरीले ९८ र रामबहादुर श्रेष्ठले ५८ मत पाएका थिए ।
चापाकोटको सचिवमा विश्वप्रकाश भट्टराई निर्वाचित भएका छन् । उनले २२३ मत प्राप्त गर्दा प्रतिस्पर्धी दयाराम भण्डारीले ९१ र हरि डोटेलले ७१ मत प्राप्त गरेका थिए । कुल प्रतिनिधि चार सय २० मा चार सय ४ मत खसेको थियो ।
भीरकोट नगरपालिकाको सभापतिमा नन्दलाल खनाल निर्वाचित भएका छन् । खनालले १९४ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी ताराप्रसाद अर्यालले १६७ मत पाएका थिए । खनाल २७ मतको अन्तरले नगर सभापतिमा निर्वाचित भएका हुन् । कुल प्रतिनिधि तीन सय ८७ मा तीन सय ८५ मत खसेको थियो ।
पालिका अधिवेशनबाट स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयनसँगै महाधिवेशन प्रतिनिधि छनोटको प्रक्रिया अघि बढेको छ । कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत असोज १० गते क्षेत्रीय अधिवेशन हुँदैछ ।
प्रतिक्रिया 4