News Summary
Generated by OK AI. Editorially reviewed.- दाङको घोराहीकी १२ वर्षीया आयशा परबिनमा एचपीभी खोपपछि गम्भीर समस्या देखिएपछि सांसद साजिदा खातुन सिद्दिकीले क्षतिपूर्ति र उपचारको माग गरिन् ।
- सिद्दिकीले आयशाको ९ दिनसम्म राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भेन्टिलेटरसहित उपचार गरिएको र अहिले हातखुट्टा नचल्ने अवस्था रहेको बताइन् ।
- उनले रसुवा बाढीमा बेपत्ता नागरिकको खोजतलास, महंगी, आर्थिक संकट र आत्महत्या बढेको विषयमा पनि सरकारसँग जवाफ मागिन् ।
८ असोज, काठमाडौं । दाङकी एक बालिकामा एचपीभी खोप लगाएपछि स्वास्थ्यमा गम्भीर समस्या देखिएको भन्दै प्रतिनिधि सभामा सरकारको ध्यानाकर्षण गराइएको छ ।
बिहीबारको संसद बैठकमा नेकपा (एमाले) की सांसद साजिदा खातुन सिद्दिकीले दाङको घोराहीकी १२ वर्षीया बालिका आयशा परबिनको स्वास्थ्य अवस्थाप्रति चिन्ता व्यक्त गर्दै सरकारसँग क्षतिपूर्ति र उपचारको माग गरेकी हुन् ।
सांसद सिद्दिकीले सदनमा जानकारी गराएअनुसार कक्षा ६ मा अध्ययनरत बालिकालाई एचपीभी खोप लगाइएलगत्तै स्वास्थ्यमा जटिलता देखिएको थियो । खोपपश्चात गम्भीर बिरामी परेकी बालिकालाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ९ दिनसम्म भेन्टिलेटरसहितको आइसियुमा उपचार गरिएको थियो ।
हाल उनी घर फर्किए पनि उनका हातखुट्टा चल्न नसक्ने अवस्थामा रहेको सांसद सिद्दिकीले बताइन् । उनले स्वास्थ्य मन्त्रालयलाई उक्त घटनाको छानबिन गरी पीडित परिवारलाई उचित क्षतिपूर्ति र उपचारको व्यवस्था मिलाउन जोडदार माग गरेकी हुन् ।
यसैगरी, सांसद सिद्दिकीले रसुवा बाढीमा परी बेपत्ता भएका नागरिकहरूको खोजतलासको अवस्थाबारे पनि सरकारसँग जवाफ माग गरिन् ।
मुलुकको समग्र महंगी, नागरिकले भोग्नुपरेको आर्थिक संकट र आत्महत्याका बढ्दो घटनाप्रति सरकारको ध्यानाकर्षण उनले गरिन् ।
‘देश महँगो भयो, हरेक कुरा महँगो हुँदै जाँदा नागरिक पिल्सिएका छन् । आत्महत्याका घटना किन बढिरहेका छन् ? सरकारले नागरिकको जीवन रक्षाका लागि कस्तो योजना बनाउँदैछ ?,’ उनले भनिन् ।
उनले देशको जिम्मेवार अभिभावकका रूपमा सरकारले ठोस योजनासहित नागरिकलाई जवाफ दिनुपर्ने बताइन् ।
प्रतिक्रिया 4