+
+
Shares

पर्वतारोहण संघका २९ प्रशिक्षार्थीले गरे दङ्गा पिक आरोहण

पर्वतारोहण संघले तीन वर्षदेखि सीटीईभीटीद्वारा स्वीकृत १ हजार ६ सय ९६ घण्टाको पाठ्यक्रममा आधारित रहेर यो तालिम सञ्चालन गर्दै आइरहेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ८ गते १३:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल पर्वतारोहण संघको तालिम कार्यक्रमका २९ प्रशिक्षार्थी र ६ प्रशिक्षकले कञ्चनजङ्गा क्षेत्रमा ६ हजार २ सय २० मिटर अग्लो दङ्गा पिक आरोहण गरे ।
  • सीटीईभीटी स्वीकृत १ हजार ६ सय ९६ घण्टाको पाठ्यक्रममा आधारित गृष्मकालीन सिप तालिम ३३ प्रशिक्षार्थीसहित सञ्चालन भएको थियो ।
  • तालिम सफल हुने प्रशिक्षार्थीले निलो बुक पाउने र पेसागत पर्वतीय पथ प्रदर्शकका रूपमा काम गर्न सक्षम हुने संघले जनाएको छ ।

८ असोज, काठमाडौं । नेपाल पर्वतारोहण संघको नियमित तालिम कार्यक्रम ‘पेसागत पर्वतीय पथ प्रदर्शकको गृष्मकालीन सिप’ का २९ प्रशिक्षार्थी र ६ प्रशिक्षकले कञ्चनजङ्गा क्षेत्रमा रहेको ६ हजार २ सय २० मिटर अग्लो दङ्गा पिक आरोहण गरेका छन् ।

उनीहरुले तालिम समापन गरी दङ्गा पिकको सफल आरोहण गरेका हुन् । नेपालको पर्वतीय पर्यटन क्षेत्रमा पछिल्लो ५३ वर्षदेखि महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आइरहेको पर्वतारोहण संघले लामो समयदेखि पर्वतारोहण सम्बन्धी विभिन्न तालिम सञ्चालन गर्दै आएको छ ।

पछिल्लो तीन वर्षदेखि भने प्राविधिक शिक्षा एवं व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) द्वारा स्वीकृत १ हजार ६ सय ९६ घण्टाको पाठ्यक्रममा आधारित रहेर यो तालिम सञ्चालन गर्दै आइरहेको छ ।

उक्त पाठ्यक्रम अन्तर्गत दोस्रो चरणको यस तालिम ६ हजार मिटर वा त्यसभन्दा अग्लो हिमालमा गर्नुपर्ने व्यवस्था छ । सोही अनुसार दिगो पर्यटन परियोजना (एसटीपी) सँगको साझेदारीमा संघले दङ्गा पिकमा सञ्चालन गरेको यस तालिममा यसपालि एक विदेशी सहित ३३ प्रशिक्षार्थी सहभागी थिए ।

रक क्लाइम्बिङ र अन्य सैद्धान्तिक कक्षा काठमाडौंमै सम्पन्न गरेर तालिम टोली ‘रियल सिनारियो’ मा ग्लेसियर तालिमका लागि दङ्गा पिक पुगेको थियो । दङ्गा पिकमा एक साताभन्दा लामो ग्लेसियर तालिम सम्पन्न गरी प्रशिक्षार्थी र प्रशिक्षक टोलीले दङ्गा पिकको सफल आरोहण गरेको हो ।

‘काठमाडौं र सम्बन्धित हिमालमा झन्डै ४० दिनसम्म व्यावहारिक र सैद्धान्तिक सिप सिकाएपछि प्रशिक्षार्थीलाई हिमाल आरोहणमा लाने गरिन्छ, उक्त आरोहणको नेतृत्व पूर्णरूपमा प्रशिक्षार्थीले नै गर्छन्,’ तालिमका प्रमुख प्रशिक्षक सर्की शेर्पाले भने, ‘प्रशिक्षकले उनीहरूको काम र प्रदर्शन गरेको सिपको अवलोकन र मूल्यांकन गर्छन्, कुनै गल्ती गरेको अवस्थामा मात्रै प्रशिक्षकले हस्तक्षेप गर्ने गर्छन्, तालिम र आरोहण क्रममा उनीहरूले प्रदर्शन गरेको दक्षता नतिजामा देखिन्छ ।’

संघले हिमाल आरोहणलाई तालिमको महत्त्वपूर्ण हिस्साका रूपमा लिँदै आइरहेको छ । प्रशिक्षार्थीले तालिममा सिकेका सिपलाई प्रयोग गर्दै आरोहण नेतृत्व गर्ने गर्छन् । यसले प्रशिक्षार्थी निकट भविष्यमा कुनै पनि हिमालमा पेसागत रूपमा पर्वतीय पथ प्रदर्शकका रूपमा काम गर्न सक्षम हुनेछन् ।

‘हामीले नेपालको पर्वतीय पर्यटनका लागि दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले यो तालिमको आयोजना गर्दै आइरहेका छौं, यति धेरै संख्यामा प्रशिक्षार्थीले हिमालको सफल आरोहण गर्नु हाम्रा लागि ठूलो उपलब्धि हो,’ संघका केन्द्रीय कार्यसमिति सदस्य समेत रहेका प्रशिक्षक दावाटासी शेर्पाले भने, ‘उहाँहरूको यो सफलताले नेपालको पर्वतीय पर्यटनमा आवश्यक दक्ष जनशक्ति पूर्ति हुने र नेपालको पर्वतीय पर्यटन सुरक्षित र भरपर्दाे बन्ने अपेक्षा गर्न सकिन्छ ।’

संघले सञ्चालन गरेको यो तालिम नेपाली युवाको रोजगारीसँग पनि जोडिएको छ । नेपालको हिमालमा काम गर्न संघले जारी गर्दै आइरहेको कालो वा निलो वा रातो बुक आवश्यक पर्दछ । यस तालिम सफलतापूर्वक सम्पन्न गर्ने प्रशिक्षार्थीले यसकै आधारमा सिधै निलो बुक प्राप्त गर्छन् । यसबाट उनीहरू एक दक्ष पर्वतीय पथ प्रदर्शकका रूपमा नेपालको कुनै पनि हिमालमा काम गर्न सक्षम हुने छन् ।

‘संघद्धारा सञ्चालित यो तालिम धेरै दृष्टिकोणबाट महत्त्वपूर्ण छ, त्यसमध्ये प्रत्यक्ष देखिने भनेको सफल हुने सबै प्रशिक्षार्थीको रोजगारीको कुरा र नेपाली पर्वतीय पर्यटन समृद्ध हुने कुरा हो,’ अर्का प्रशिक्षक सञ्जीव गुरुङ भन्छन्, ‘त्यसैले यस तालिम कार्यक्रमलाई संघले निरन्तरता दिन आवश्यक छ र यस महत्त्वपूर्ण कार्यका लागि हामी सबैको सहयोगको पनि आवश्यकता छ ।’

सरकारद्धारा मान्यता प्राप्त यस तालिम पाठ्यक्रमले विभिन्न ‘कम्पोनेन्ट’ समेटेको छ । आधारभूत सिप तालिम सफलतापूर्वक सम्पन्न गरेका प्रशिक्षार्थीले मात्रै गृष्मकालीन सिप तालिम गर्न पाउने व्यवस्था छ ।

यस्तै गृष्मकालीन सिप सम्पन्न गरेकाले हिउँदे सिप तालिममा सहभागिता जनाउन पाउने छन् । त्यसबाहेक लङ लाइन रेस्क्यु, हेली मार्सलिङ, प्राथमिक उपचार लगायत तालिम सम्पन्न गरेपछि उनीहरूले पेसागत पर्वतीय पथ प्रदर्शकको प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?