News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंको शहरी सौन्दर्य र सम्पदा संरक्षण अभियानमा सक्रिय इन्जिनियर सुशन वैद्य नेपाली कांग्रेस काठमाडौं महानगर सभापतिमा निर्विरोध चयन भएका छन्।
- थापाथली इन्जिनियरिङ क्याम्पसको स्ववियु उपसभापतिबाट सुरु भएको वैद्यको राजनीतिक यात्रा कांग्रेस काठमाडौं जिल्ला सदस्य, महानगर सचिव हुँदै सभापतिसम्म पुगेको छ।
- रानीपोखरी, खुलामञ्च, टुँडिखेल, कमलपोखरी र गुठी आन्दोलनमा वैद्यले सम्पदा संरक्षणका अभियानको नेतृत्व गरेका थिए।
८ असोज, काठमाडौं । काठमाडौंको शहरी सौन्दर्य र सम्पदा संरक्षणका मुद्दामा आवाज उठाउँदै आएका इन्जिनियर सुशन वैद्य नेपाली कांग्रेस काठमाडौं महानगरको नेतृत्वमा पुगेका छन् ।
थापाथली इन्जिनियरिङ क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) उपसभापतिबाट सुरु भएको वैद्यको राजनीतिक यात्रा महानगर सचिव हुँदै सभापतिसम्म आइपुगेको हो ।
१५ औं महाधिवेशनअन्तर्गत बुधबार राष्ट्रिय सभा गृहमा सम्पन्न अधिवेशनबाट उनी संघीय राजधानी रहेको सबैभन्दा ठूलो महानगरको नेतृत्वमा पुगेका छन् ।
रानीपोखरीदेखि खुलामञ्च, टुँडिखेलदेखि कमलपोखरीसम्मका संरक्षण अभियानमा सक्रिय वैद्यको महानगर नेतृत्वमा भएको निर्विरोध चयनलाई काठमाडौंको शहरी मुद्दासँग जोडिएको राजनीतिक यात्राको अर्को महत्वपूर्ण अध्यायका रूपमा हेरिएको छ ।
नवनिर्वाचित महानगर सभापति वैद्य कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को प्रतिनिधित्व गर्दै थापाथली इन्जिनियरिङ्ग क्याम्पसमा २०५५ सालमा स्ववियु उपसभापतिमा विजयी भएका थिए ।
स्ववियुको उपसभापतिबाटै आफ्नो राजनीतिक यात्रा सुरु भएको उनी बताउँछन् । वैद्यसँग नेविसंघको काठमाडौं जिल्ला कार्यसमितिमा विभिन्न समयमा सदस्य, सह–सचिव र उपाध्यक्ष हुँदै काम गरेको अनुभव छ ।
कांग्रेसको १२ औं र १३ औं महाधिवेशबाट काठमाडौं जिल्ला सदस्यमा निर्वाचित भएका वैद्य १४ औं महाधिवेशनबाट महानगरको सचिव पदमा निर्वाचित भएका थिए ।
उनी २०७९ साल सम्पन्न स्थानीय तह निर्वाचनमा महानगर प्रमुख (मेयर) का लागि उम्मेदवारका रुपमा सिफारिसमा परेका थिए । २१ फागुन २०८२ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनका लागि वैद्यको नाम काठमाडौं क्षेत्र नं ६ बाट प्रत्यक्षतर्फको उम्मेदवारका रुपमासमेत सिफारिस भएको थियो ।
वैद्यले नेपाल इन्जिनियरीङ्ग एसोसिएसनमा ३१ औं कार्यकारीणी समिति सदस्य र ३३ औं कार्यकारीणी समितिमा कोषाध्यक्षमा निर्वाचित भएर काम गरिसकेका छन् ।
पार्टी राजनीतिलाई नै सेवाको रुपमा लिने उनी विगत १६ वर्षदेखि आप्mनै व्यवसाय खोलेर उद्यम गर्दै आएका छन् । सभापति वैद्यले नेपाल ईन्जिनियर्स एसोसिएसनबाट ‘युथ प्रोफेसनल अवार्ड’ समेत प्राप्त गरिसकेका छन् ।
राष्ट्रिय योजना आयोगमा विज्ञ सल्लाहकारको रुपमा सेवा प्रदान गरिसकेका वैद्य २०७२ सालको महाभूकम्पपश्चात राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा विज्ञ सल्लाहकारको रूपमा काम गरेका थिए ।
पुनर्निर्माण प्राधिकरणमा नीति निमार्णमा सहयोग गर्नुका साथै भूकम्पपश्चातको पुनर्निर्माणमा प्राविधिक दक्षतालाई प्रस्तुत गरिएको उनी बताउँछन् । महानगर सभापति वैद्यले रक्षा मन्त्रालयमा रक्षामन्त्रीको राजनीतिक सल्लाहकारको रुपमासमेत काम गरिसकेका छन् ।
उनी २०७४ सालमा तत्कालीन रक्षामन्त्री भीमसेनदास प्रधानका राजनीतिक सल्लाहकार थिए । कांग्रेस नेता प्रधान ११ साउन २०७४ देखि २ फागुन २०७४ सम्म रक्षामन्त्रीको जिम्मेवारीमा थिए ।
कांग्रेस काठमाडौं महानगर सभापतिमा निर्वाचित वैद्यले नेकपा एमालेका नेता विद्यासुन्दर शाक्यले महानगर प्रमुख हुँदा पुरातात्विक सम्पदाको मापदण्डविपरित रानी पोखरीको पुननिर्माण गर्न लागेको भन्दै चर्को विरोध गरेका थिए । तत्कलीन समयमा महानगर प्रमुख शाक्यको विरोधमा सुरु गरिएको आन्दोलनको नेतृत्व गरेकै कारण उनी चर्चामा आएका थिए ।
एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले खुलामञ्चलाई व्यवसायीक रुपमा सञ्चालन गर्न पसलका लागि सटरहरू निर्माण गर्ने अनुमति दिएपछि वैद्यले ‘खुलामञ्च खुला गर’ अभियानको नेतृत्व गरेका थिए । अभियानसँगै सरोकारवालाहरूको विरोधपछि सरकार खुलामञ्चमा सटर बनाउने निर्णयबाट पछि हटेको थियो ।
सभापति वैद्यले ‘अकुपाई टुँडिखेल’ अभियानमा समेत सक्रिय देखिएका थिए । टुँडिखेलको अतिक्रमण रोक्न ‘अकुपाई टुँडिखेल’ अभियान सञ्चालन भएको थियो । कात्तिक २०७६ मा ‘अकुपाई टुँडिखेल’ अभियानले मानव साङ्लो बनाएर टुँडिखेल घेराउ गरेको थियो ।
कमलपोखरीलाई अहिलेको स्वरुपमा पुनर्निर्माण गर्ने सवालमा पनि वैद्य अग्रपंक्तिमा थिए । उनी कमलपोखरीमा कंक्रिटको प्रयोग गर्न नहुनेभन्दै पटक–पटक प्रदर्शनमा सहभागी भएका थिए । ओली नेतृत्वको तत्कालीन सरकारलाई निर्णय फिर्ता लिन बाध्य बनाउने काठमाडौंको गुठी आन्दोलनमा पनि वैद्यले नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए ।
काठमाडौंलाई बस्न योग्य शहर बनाउने र काठमाडौंको ऐतिहासिकता, पुरातात्विक तथा सांस्कृतिक सम्पदाको संरक्षणमा वैद्यले आफूलाई नेतृत्व तहमा उभ्याउँदै आएका छन् । उनी कांग्रेसमा काठमाडौंको ‘आर्किटेक’ गर्ने ‘डिजाइनर’का रुपमा समेत चिनिन्छन् ।
प्रतिक्रिया 4