+
+
Shares

फोहोरमैला व्यवस्थापन विधेयक कार्यान्वयनमुखी बनाउन सांसद न्यौपानेको जोड

रास्वपाका सांसद श्रीराम न्यौपानेले फोहोरमैला व्यवस्थापनलाई केवल सरसफाइको विषय नभई जनस्वास्थ्य, वातावरण संरक्षण र सभ्य समाज निर्माणसँग जोडिएको गम्भीर विषयका रूपमा लिनुपर्ने बताएका छन्।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ८ गते १५:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रास्वपाका सांसद श्रीराम न्यौपानेले फोहोरमैला व्यवस्थापनलाई जनस्वास्थ्य, वातावरण संरक्षण र सभ्य समाज निर्माणसँग जोडिएको गम्भीर विषय भनेका छन्।
  • फोहोरमैला व्यवस्थापन विधेयक, २०८३ माथिको छलफलमा उनले स्रोतबाटै फोहर छुट्याउने, पुनः प्रयोग गर्ने र वैज्ञानिक व्यवस्थापन प्रणाली अपनाउनुपर्ने बताए।
  • उनले स्थानीय तह, नागरिक, निजी क्षेत्र र सहकारीको सहकार्यमा आधुनिक प्रविधि, प्रशोधन केन्द्र र डिजिटल व्यवस्थापन विकास गर्नुपर्ने उल्लेख गरे।

८ असोज, काठमाडौं । रास्वपाका सांसद श्रीराम न्यौपानेले फोहोरमैला व्यवस्थापनलाई केवल सरसफाइको विषय नभई जनस्वास्थ्य, वातावरण संरक्षण र सभ्य समाज निर्माणसँग जोडिएको गम्भीर विषयका रूपमा लिनुपर्ने बताएका छन्। फोहोरमैला व्यवस्थापन विधेयक, २०८३ माथिको सैद्धान्तिक छलफलमा बोल्दै सांसद न्यौपानेले बढ्दो शहरीकरण र जनसंख्या वृद्धिसँगै फोहरको मात्रा बढिरहेको भए पनि त्यसअनुसार व्यवस्थापन प्रणाली प्रभावकारी बन्न नसकेको बताए।

उनले जथाभावी फालिएको फोहरले मानव स्वास्थ्य, खानेपानीका स्रोत, वातावरण र प्राकृतिक सम्पदामा नकारात्मक असर पारिरहेको उल्लेख गर्दै स्रोतबाटै फोहर छुट्याउने, पुनः प्रयोग गर्ने र वैज्ञानिक व्यवस्थापन प्रणालीलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।

‘हामी नीति निर्माणमा जति सक्रिय छौँ, कार्यान्वयनमा त्यति नै प्रभावकारी हुन आवश्यक छ,’ उनले भने। विधेयक कार्यान्वयन र व्यवहारिक परिणामलाई केन्द्रमा राखेर अघि बढाउनुपर्ने उनको सुझाव थियो।

प्रस्तावित विधेयकमा पुरस्कार तथा जरिवानासहित दण्डको व्यवस्था गरिनु सकारात्मक पक्ष भएको उल्लेख गर्दै उनले जरिवाना प्रणालीलाई थप पारदर्शी र प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याए।

उनले परम्परागत रूपमा फोहर थुपार्ने प्रणालीबाट बाहिर निस्केर आधुनिक प्रविधिमा आधारित स्यानिटरी ल्याण्डफिल साइट, फोहर प्रशोधन केन्द्र, कम्पोस्ट प्लान्ट, बायोग्यास प्लान्ट, ऊर्जा उत्पादन, ढल व्यवस्थापन तथा डिजिटल व्यवस्थापन प्रणालीको विकास गर्नुपर्ने बताए।

स्थानीय तहलाई फोहर सङ्कलन, प्रशोधन, ऊर्जा उत्पादन, ल्याण्डफिल साइट तथा आवश्यक पूर्वाधार व्यवस्थापनको जिम्मेवारी दिइएको उल्लेख गर्दै उनले सरकार मात्र नभई नागरिक, समुदाय, निजी क्षेत्र र सहकारी सबैको सहकार्य आवश्यक रहेको बताए।

उनले घरबाटै कुहिने र नकुहिने फोहर छुट्याउने, सार्वजनिक स्थानमा फोहर नफाल्ने, प्लास्टिकको प्रयोग घटाउने र सरसफाइलाई संस्कारका रूपमा विकास गर्नुपर्नेमा जोड दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?