+
+
Shares
विचार :

नेपालको राजनीतिमा चिन्तनको खडेरी

जहाँ विचारको अन्त्य हुन्छ, त्यहाँ शक्तिको नग्न नृत्य सुरु हुन्छ। जहाँ दर्शन हराउँछ, त्यहाँ अवसरवाद जन्मिन्छ। जहाँ सिद्धान्त कमजोर हुन्छ, त्यहाँ राजनीति व्यक्तिको वरिपरि घुम्न थाल्छ। त्यसैले नेपाली राजनीतिलाई आज फेरि चिन्तन र विचारको खाँचो परेको छ।

प्रशान्त उप्रेती प्रशान्त उप्रेती
२०८३ असोज १२ गते ११:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लेखकले नेपाली राजनीतिमा विचार, सिद्धान्त, अध्ययन र मौलिक चिन्तनको खडेरीलाई सबैभन्दा ठूलो सङ्कट भनेका छन्।
  • उहाँले २०६२/६३ को परिवर्तनपछि पनि राज्य र समाजलाई कुन दर्शनले अघि बढाउने भन्नेबारे पर्याप्त राष्ट्रिय विमर्श हुन नसकेको उल्लेख गर्नुभएको छ।
  • लेखकले राजनीतिक दलहरूलाई चुनाव जित्ने संस्थामा सीमित नभई विचार निर्माण, अनुसन्धान र बहस गर्ने विश्वविद्यालयजस्ता संस्था बन्न आग्रह गरेका छन्।

भारतका चर्चित अभिनेता आमिर खानद्वारा अभिनित प्रसिद्ध चलचित्र सरफरोश मा एउटा दृश्य छ- कुनै उत्सवको भोजमा एक व्यक्तिले कुराकानीको क्रममा गजल गायकलाई आजकल किन गतिला गजलहरू सुन्न पाइँदैन ? भनेर प्रश्न गर्छन्।

उक्त प्रश्नको जवाफमा गजल गायक भन्दछन्, वास्तवमा आज गजलका लागि एकदम कङ्गालीको दौर छ। जब राम्रा गजलहरू लेखिँदैनन् भने राम्रा गजल कहाँबाट गाऊन् ?

कलाको खस्किँदो धरातललाई सङ्केत गर्ने यो संवाद आजको नेपाली राजनीतिमा पनि उत्तिकै सान्दर्भिक लाग्छ। जब राम्रो विचार जन्मिँदैनन्, समाजलाई बुझ्ने गहिरो प्रयत्नहरू गरिँदैनन्, बौद्धिक मन्थन हुँदैन, दर्शनको कसीमा विचार र नीतिको परीक्षण हुँदैन; तब राजनीति सत्ता प्राप्ति, सत्ता संरक्षण र सत्ताको अङ्कगणित भन्दा माथि उठ्न सक्दैन। आज नेपाली राजनीतिमा देखिएको सबैभन्दा ठूलो सङ्कट सायद यही हो- विचार, सिद्धान्त, अध्ययन र मौलिक चिन्तनको खडेरी।

राजनीति आकस्मिक रूपमा बनेका संरचनाहरू होइनन्। मानव सभ्यताको विकाससँगै यसको जन्म भएको हो। मानिस एक्लै आफ्नो सुरक्षा, आवश्यकता, न्याय र भविष्य सुनिश्चित गर्न नसक्ने भएपछि परिवार बन्यो, समुदाय बन्यो, सामाजिक सम्बन्धहरू विस्तार भए र क्रमशः राज्य तथा राजनीतिक संस्थाहरूको विकास भयो। मानिसले सँगै बस्न थालेपछि कसरी बस्ने ? कसले निर्णय गर्ने ? कसको अधिकार के हुने ? स्रोतको वितरण कसरी गर्ने ? न्याय केलाई भन्ने ? र समाजलाई कुन दिशामा लैजाने ? भन्ने प्रश्नहरू उठे। यिनै प्रश्नहरूको उत्तर खोज्ने क्रममा राजनीति विकसित हुँदै गयो।

अरस्तुले मानिसलाई राजनीतिक प्राणी भनेका छन्। उनको दृष्टिमा मानिस समाजबाट अलग भएर पूर्ण हुन सक्दैन। राजनीतिलाई उनले सत्ता प्राप्तिको साधनका रूपमा मात्र व्याख्या गरेका छैनन्, समाजलाई सर्वोच्च असल अर्थात् द हाइगेस्ट गुड तर्फ लैजाने नैतिक र बौद्धिक प्रक्रियाका रूपमा समेत व्याख्या गरेका छन्। अराजक अवस्थाबाट बच्न होस् वा नागरिकका प्राकृतिक अधिकारको रक्षा गर्नसमेत राज्य को आवश्यकता पर्दछ। तसर्थ: राजनीति समाजको जीवनसँग जोडिएको गम्भीर विषय हो र यसलाई कुनै न कुनै वैचारिक आधार आवश्यक हुन्छ।

यहीँबाट दर्शनको प्रश्न आउँछ। दर्शन भनेको जीवन, समाज, सत्य, न्याय, स्वतन्त्रता, समानता, नैतिकता, राज्य र मानव अस्तित्वका आधारभूत प्रश्नमाथि गरिने गहिरो चिन्तन हो। संस्कृतमा भनिएको छ- दृश्यते वस्तु यथार्थम् अनेन इति दर्शनम्। अर्थात् जसको माध्यमबाट वस्तुको वास्तविक स्वरूप बुझिन्छ, त्यसलाई दर्शन भनिन्छ।

दर्शन भनेको संसारलाई हेर्ने दृष्टि हो। हामी समाजलाई कसरी बुझ्छौं ? मानिसलाई कसरी बुझ्छौं ? न्यायलाई के ठान्छौं ? स्वतन्त्रताको सीमा कहाँ देख्छौं ? राज्यको भूमिका कस्तो हुनुपर्छ भन्छौं ? र विकासको अर्थ के हो ? भनेर सोच्ने आधार नै दर्शन हो।

मानिसले आफ्नो समय, समाज, इतिहास, अनुभव, सङ्घर्ष र वरिपरिको यथार्थलाई हेर्छ, प्रश्न गर्छ, त्यसको कारण खोज्छ र सम्भावित समाधानबारे सोच्न थाल्छ। यही प्रक्रियाबाट विचार निर्माण हुन्छ। निरन्तर अध्ययन, अनुभव, बहस, तर्क, अनुसन्धान र आत्मसमीक्षाबाट विचार परिपक्व हुन्छ। परिपक्व विचारहरूबाट सिद्धान्त निर्माण हुन्छ। तिनै सिद्धान्तले नीतिलाई दिशा दिन्छ र नीतिले शासन तथा राज्य सञ्चालनको बाटो निर्धारण गर्दछ। त्यसैले दर्शन, विचार, सिद्धान्त र नीतिबीच गहिरो सम्बन्ध छ।

सुकरातको प्रसिद्ध भनाइ छ- आत्मपरीक्षण नगरिएको जीवन बाँच्न योग्य हुँदैन। यो भनाइ व्यक्तिको जीवनमा जति महत्त्वपूर्ण छ, राजनीतिमा यसले झन् गम्भीर अर्थ राख्दछ। राजनीतिक दल, नेता र सरकारले आफूले गरेका निर्णय, आफ्नो विचार, आफ्ना कमजोरी र आफ्ना उपलब्धिको निरन्तर समीक्षा गर्न सक्नुपर्दछ। आत्मसमीक्षा गर्न नसक्ने राजनीति बिस्तारै आत्ममुग्धको मार्ग तर्फ उन्मुख हुन्छ। आफ्नो कमजोरी स्वीकार गर्न नसक्ने नेतृत्वले सुधारको बाटो पनि भेट्टाउन सक्दैन। आज नेपाली राजनीतिमा हामीलाई अरूलाई दोष दिनुभन्दा बढी आफैंलाई प्रश्न गर्ने संस्कारको आवश्यकता छ।

राज्य सञ्चालन गर्ने व्यक्ति शक्ति र पदको लोभ मा मात्र होइन, सत्य, न्याय र विवेकको खोज मा प्रशिक्षित हुनुपर्छ। मार्क्सले समाजको आर्थिक संरचना, वर्ग सम्बन्ध र शक्ति सम्बन्धलाई राजनीतिक परिवर्तनसँग जोडेर विश्लेषण गरेका छन्। हन्ना अरेन्टले विचारविहीनता र राजनीतिक अधिनायकवाद बीचको सम्बन्धमाथि गम्भीर चिन्तन गरेकी छिन्।

हामीलाई राजनीति गर्ने नयाँ मानिस मात्र होइन, राजनीति बुझ्ने नयाँ दृष्टि चाहिएको छ। हामीलाई व्यवस्था परिवर्तन गर्ने शक्ति मात्र होइन, व्यवस्था चलाउने विवेक चाहिएको छ। सफ्टवेयर हामीले धेरैपटक फेरिसकेका छौं, अब हार्डवेयर मा पनि काम गर्नुपर्ने समय आएको छ।

जोन रल्सले न्यायलाई निष्पक्षता र समान अवसरसँग जोड्दै जस्टिस एज फेयरनेसको अवधारणा अघि सारेका थिए। अमर्त्य सेनले विकासलाई आय र उत्पादन वृद्धिभन्दा फराकिलो अर्थमा बुझाउँदै डेभलपमेन्ट एज फ्रिडमको धारणा प्रस्तुत गरे। यी सबै चिन्तकहरूका निष्कर्ष एउटै छैनन्, तर उनीहरूले राजनीति गहिरो चिन्तनको विषय हो भन्ने कुरा स्थापित गरेका छन्।

नेपालको राजनीतिक यात्रामा पनि विचार र दर्शनको भूमिका महत्त्वपूर्ण रहँदै आएको छ। नेपाली राजनीति सधैं वैचारिक रूपमा यति कमजोर थिएन। २००७ सालको परिवर्तनअघिदेखि नै नेपालमा राजनीतिक विचारमाथि गम्भीर बहस हुन्थ्यो। बीपी कोइरालाले प्रजातन्त्र र समाजवादलाई नेपाली सन्दर्भसँग जोड्दै प्रजातान्त्रिक समाजवादको अवधारणालाई अगाडि बढाए। उनका लागि लोकतन्त्र मत हाल्ने अधिकारमा सीमित विषय थिएन। नागरिक स्वतन्त्रता, मानव गरिमा, सामाजिक न्याय र आर्थिक अवसर पनि लोकतन्त्रका अभिन्न पक्ष थिए।

पुष्पलाल श्रेष्ठले नेपाली समाजको वर्गीय संरचनाको विश्लेषण गर्दै सामन्तवादको अन्त्य र सामाजिक रूपान्तरणको आवश्यकता औंल्याए। मदन भण्डारीले जनताको बहुदलीय जनवाद मार्फत कम्युनिस्ट आन्दोलनलाई बहुदलीय लोकतान्त्रिक अभ्याससँग जोड्ने मौलिक प्रयास गरे।

अर्कोतर्फ, राजा महेन्द्रले दलविहीन पञ्चायती व्यवस्थालाई राष्ट्रिय एकता, स्थायित्व र विकाससँग जोडेर प्रस्तुत गरे। उनका समर्थकहरूले त्यसलाई नेपाली परिस्थितिअनुकूल शासन प्रणालीका रूपमा व्याख्या गरे भने आलोचकहरूले त्यसलाई राजनीतिक स्वतन्त्रता र बहुलवादमाथिको नियन्त्रणका रूपमा हेरे। यी सबै दृष्टिकोणबीच गहिरा मतभेद थिए; तर उनीहरूमा एउटा समानता थियो- उनीहरू नेपाललाई कुनै न कुनै राजनीतिक दृष्टिकोणबाट अघि बढाउने प्रयास गरिरहेका थिए।

त्यो समयका राजनीतिक बहसमा अध्ययनको भूमिका थियो। जेलका कोठाहरूमा पनि दर्शन, राजनीति र समाजका पुस्तकहरू पढिन्थे। मार्क्स, लेनिन, गान्धी, रुसो, प्लेटो, अरस्तु र अन्य चिन्तकका विचारमाथि बहस हुन्थ्यो। समाजको वर्ग संरचना, राष्ट्रियता, लोकतन्त्र, आर्थिक न्याय र सामाजिक परिवर्तनका विषयमा तर्क हुन्थे। त्यसबाट सहमति मात्र होइन, असहमति पनि जन्मिन्थ्यो। तर असहमति आफैंमा बौद्धिक जीवनको प्रमाण हो। आज समस्या असहमति हुनु होइन, असहमतिको स्तर घट्नु हो। विचारमाथिको बहस व्यक्तिमाथिको आक्रमण मा परिणत हुनु हो।

२०६२/६३ को ऐतिहासिक परिवर्तन, गणतन्त्रको स्थापना, सङ्घीयता, समावेशिता, नयाँ संविधान, जेन–जी आन्दोलन नेपालको राजनीतिक इतिहासका महत्त्वपूर्ण उपलब्धि हुन्। तर यति ठूलो राजनीतिक परिवर्तनपछि राज्य र समाजलाई कुन दर्शनले अघि बढाउने ?, हाम्रो विकासको मौलिक मोडल के हुने ?, सङ्घीयताको वास्तविक उद्देश्य के हुने ?, शिक्षा र स्वास्थ्यलाई कसरी हेर्ने ?, उत्पादन र रोजगारीको सम्बन्ध कस्तो बनाउने ?, सामाजिक न्यायलाई कसरी संस्थागत गर्ने ? र लोकतन्त्रलाई कसरी जनजीवनसँग जोड्ने ? भन्ने विषयमा पर्याप्त गहिरो राष्ट्रिय विमर्श गर्न सकेका छैनौं।

हामीले राजनीतिक संरचना परिवर्तन गर्यौं, तर राजनीतिक संस्कार र सोचमा अपेक्षित परिवर्तन ल्याउन सकेका छैनौं। संस्थागत परिवर्तन भयो, तर राजनीतिक संस्कृति पुरानै समस्या रहिरह्यो।

राजनीतिमा हार्डवेयर र सफ्टवेयरबीच मिलन हुन आवश्यक छ। अझ महत्त्वपूर्ण कुरा, त्यो सफ्टवेयर नेपाली माटो सुहाउँदो हुनुपर्छ। यसको अर्थ संसारका विचारबाट सिक्नुहुँदैन भन्ने होइन। सिक्नुपर्छ, गहिरोसँग सिक्नुपर्छ। तर विदेशी विचारलाई जस्ताको तस्तै आयात गरेर नेपालको सामाजिक संरचना, इतिहास, संस्कृति, भूगोल र जनताको आकाङ्क्षामाथि थोपर्नु बुद्धिमानी होइन। विश्वका विचारसँग संवाद गर्दै नेपाली यथार्थमा त्यसको अर्थ खोज्न हामीले सक्नुपर्छ। आज हामीलाई त्यही प्रकारको राजनीतिक सिर्जनशीलता चाहिएको छ।

फ्रान्सेली चिन्तक जाँ बोद्रियाले आधुनिक समाजमा सत्य कमजोर हुँदै जाँदा त्यसको ठाउँ भ्रमले लिन सक्ने अवस्थाबारे चर्चा गरेका छन्। आज सामाजिक सञ्जालको राजनीतिमा यसको झल्को देखिन्छ। लाइक, सेयर, भ्युज र ट्रेन्डलाई जनमतको पूर्ण प्रतिनिधि ठान्ने प्रवृत्ति बढिरहेको छ।

संसद्मा हुने बहस पनि कहिलेकाहीँ नीति, अर्थतन्त्र, शिक्षा, स्वास्थ्य, रोजगारी र राष्ट्रिय उत्पादनका प्रश्नबाट हटेर व्यक्तिगत आरोप–प्रत्यारोप र क्षणिक लोकप्रियताको प्रतिस्पर्धामा झर्ने गरेको छ। राजनीतिमा जनभावना महत्त्वपूर्ण हुन्छ, तर भावना र विचार एउटै कुरा होइनन्। लोकप्रिय हुनु र सही हुनु पनि एउटै कुरा होइन।

हामी समाजको गहिराइमा पुगेर समस्याको जरा खोज्नुभन्दा सतहमा देखिएको घटनामाथि प्रतिक्रिया दिन बढी अभ्यस्त हुँदै गएका छौं। यो अवस्था दृष्टिविहीन र हात्तीको कथाजस्तै भएको छ। कसैले सत्ताको कुर्सी छामेर राजनीतिलाई त्यही ठानिरहेको छ।

कसैले सामाजिक सञ्जालको लाइक र भ्युज छामेर त्यसलाई जनक्रान्ति ठानिरहेको छ। कसैले भिडलाई जनमत ठानिरहेको छ। तर समग्र देशको दिशा, अर्थतन्त्रको संरचना, शिक्षा प्रणालीको अवस्था, उत्पादन क्षमताको प्रश्न, रोजगारीको भविष्य, सामाजिक असमानता र अन्तर्राष्ट्रिय परिवेशलाई जोडेर हेर्ने बृहत् दृष्टिकोण कमजोर हुँदै गएको छ।

नित्सेले मानिसहरू कहिलेकाहीँ सत्य सुन्न नचाहने कुरा गरेका छन्; किनकि सत्यले उनीहरूको भ्रम भत्काउन सक्छ। राजनीतिमा पनि यही हुन्छ। आफ्नो विचारमाथि प्रश्न उठ्न नदिने, आफ्नै निर्णयलाई सधैं सही ठान्ने र आलोचनालाई शत्रुता ठान्ने संस्कारले राजनीतिक सङ्गठनलाई कमजोर बनाउँछ। राजनीतिमा अलिकति चिन्तन र अलिकति विद्रोह आवश्यक हुन्छ। प्रश्न गर्न नसक्ने मानिस स्वतन्त्र नागरिक भन्दा आदेश पालना गर्ने अनुयायी बन्न पुग्दछ। प्रश्न गर्न नदिने सङ्गठन बिस्तारै विचारविहीन सङ्गठन मा रूपान्तरण हुँदै जान्छ।

नेपालको समावेशी लोकतन्त्रलाई पनि दर्शनकै आँखाबाट हेर्नुपर्छ। हामीले आफैंलाई एउटा महत्त्वपूर्ण प्रश्न सोध्नुपर्दछ- समाजको विकासको लाभ सबै नागरिकसम्म न्यायपूर्ण रूपमा पुर्याउन सकेका छौं कि छैनौं ?

संविधानले समानता, सामाजिक न्याय, समावेशिता र प्रतिनिधित्वको व्यवस्था गर्नु महत्त्वपूर्ण उपलब्धि हो। तर कागजमा लेखिएको न्याय र नागरिकले दैनिक जीवनमा अनुभूति गर्ने न्यायबीच दूरी रह्यो भने लोकतन्त्र अधुरो रहन्छ। सबैभन्दा पछाडि परेको मानिसले राज्यप्रति सम्मान र आफ्नो भविष्यप्रति भरोसा गर्न सक्ने अवस्था सिर्जना गर्नु नै लोकतन्त्रको वास्तविक परीक्षा हो।

विकास भनेको सडक, पुल, भवन र आर्थिक वृद्धिको तथ्याङ्क मात्र नभई मानिसले राम्रो शिक्षा पाउन सक्नु, स्वास्थ्य सेवा पाउन सक्नु, आफ्नो क्षमता विकास गर्न सक्नु, सम्मानपूर्वक काम गर्न सक्नु, अभिव्यक्ति दिन सक्नु र आफ्नो जीवनबारे निर्णय गर्न सक्नु पनि विकासकै हिस्सा हो। नागरिकको क्षमता र स्वतन्त्रता विस्तार नगर्ने विकास अन्ततः अपूर्ण विकास हो। त्यसैले लोकतन्त्र र विकासलाई अलगअलग बाटोमा हिँडाउन सकिँदैन। विवेकपूर्ण लोकतन्त्रले विकासलाई मानवीय बनाउँछ र समावेशी विकासले लोकतन्त्रलाई बलियो बनाउँछ।

आज नेपालको सबैभन्दा गम्भीर सङ्कट भौतिक अभाव मात्र होइन, बौद्धिक अभाव पनि हो। आज नेपाल अनिकालग्रस्त छ- खासगरी केही वर्षयता चर्किंदै गएको हाम्रो सामूहिक बौद्धिक शक्ति, विवेक र वैज्ञानिक सोचाइमा परेको खडेरीका कारण। चेतनाको अनिकाल, विवेकको अनिकाल र एक किसिमले मनुष्यत्वकै अनिकालले समाजलाई लामो समयसम्म उठ्न नसक्ने गरी पाशविकताको धापमा गाड्न सक्छ।

यसैले आज नेपाली राजनीतिलाई नयाँ चिन्तन चाहिएको छ, नयाँ राजनीतिक संस्कार चाहिएको छ, संरचनालाई सही दिशामा चलाउने दृष्टिकोण चाहिएको छ। राजनीतिक दलहरू चुनाव जित्ने र सरकार बनाउने सङ्गठनमा मात्र सीमित हुनुहुँदैन। उनीहरू विचार निर्माण गर्ने, अनुसन्धान गर्ने, बहस गर्ने र समाजलाई वैकल्पिक बाटो देखाउने विश्वविद्यालयजस्ता संस्था बन्नुपर्छ। पार्टीभित्र असहमतिको सम्मान हुनुपर्छ। युवालाई नाराको भिडमा होइन, अध्ययन र अनुसन्धानमा जोडिन प्रेरित गर्नुपर्छ।

नेपाली राजनीतिमा फेरि एकपटक यस्तो समय आउनुपर्छ; जहाँ नेताहरू सत्ताको अङ्कगणितीय दौडमा लाग्नुभन्दा पहिले समाजको अध्ययन गरून्। भाषण गर्नुभन्दा पहिले पढून्, निर्णय गर्नुभन्दा पहिले सोचून् र आफूलाई पनि प्रश्न गरून्। त्यस दिनदेखि विचारको यो मरुभूमिमा सम्भवतः फेरि बौद्धिक विमर्शको वर्षा सुरु हुनेछ।

अब हामीले आफैंलाई एउटा गम्भीर प्रश्न सोध्नुपर्ने समय आएको छ : हामी कस्तो नेपाल निर्माण गर्न चाहन्छौं ? हाम्रो लोकतन्त्रको अन्तिम उद्देश्य के हो ? विकासको हाम्रो आफ्नै परिभाषा के हो ? न्याय, स्वतन्त्रता, समानता र समृद्धिबीचको सम्बन्धलाई हामी कसरी बुझ्छौं ? हाम्रो राज्य कस्तो हुनुपर्छ ? राजनीति गर्ने मानिसको सोच कस्तो हुनुपर्छ ? र सबैभन्दा महत्त्वपूर्ण, हाम्रो राजनीतिक दर्शन नेपाली समाजको माटो, इतिहास, संस्कृति, भूगोल र जनताको आकाङ्क्षासँग कति जोडिएको छ ?

हामीले अब आफ्नै बुद्धि प्रयोग गर्ने साहस गर्नुपर्ने बेला आएको छ। हामीलाई अरूले बनाइदिएको निष्कर्ष दोहोर्याउनेभन्दा आफ्नै समाजलाई पढ्ने साहस चाहिएको छ। आफ्नो गल्ती स्वीकार गर्ने साहस चाहिएको छ। पुराना मान्यता पुनः परीक्षण गर्ने साहस चाहिएको छ। असहमत आवाज सुन्ने साहस चाहिएको छ। र, सबैभन्दा बढी- सत्ता र लोकप्रियताको क्षणिक मोहभन्दा माथि उठेर राष्ट्रको दीर्घकालीन भविष्यबारे सोच्ने साहस चाहिएको छ।

जहाँ विचारको अन्त्य हुन्छ, त्यहाँ शक्तिको नग्न नृत्य सुरु हुन्छ। जहाँ दर्शन हराउँछ, त्यहाँ अवसरवाद जन्मिन्छ। जहाँ सिद्धान्त कमजोर हुन्छ, त्यहाँ राजनीति व्यक्तिको वरिपरि घुम्न थाल्छ। त्यसैले नेपाली राजनीतिलाई आज फेरि चिन्तन र विचारको खाँचो परेको छ। विश्वविद्यालयदेखि संसद्सम्म, पार्टी कार्यालयदेखि सार्वजनिक मञ्चसम्म, सामाजिक सञ्जालदेखि गाउँको चौतारोसम्म गम्भीर राजनीतिक विमर्शको संस्कृति निर्माण हुनुपर्छ।

हामीलाई राजनीति गर्ने नयाँ मानिस मात्र होइन, राजनीति बुझ्ने नयाँ दृष्टि चाहिएको छ। हामीलाई व्यवस्था परिवर्तन गर्ने शक्ति मात्र होइन, व्यवस्था चलाउने विवेक चाहिएको छ। सफ्टवेयर हामीले धेरैपटक फेरिसकेका छौं, अब हार्डवेयर मा पनि काम गर्नुपर्ने समय आएको छ।

किनकि अन्ततः राष्ट्रको भविष्य कुर्सीले होइन, त्यसमा बस्ने मानिसको सोच र दृष्टिकोणले तय गर्छ। राजनीति अनुहार र नाराले होइन, विचार र कामले चिनिनुपर्छ। नेतृत्व पदले होइन, उसले देखाउने दृष्टि, विवेक र जिम्मेवारीले मापन हुनुपर्छ। र लोकतन्त्र निर्वाचनको परिणाममा मात्र नभई नागरिकको दैनिक जीवनमा अनुभूति हुनुपर्छ।

नेपाली राजनीतिमा फेरि एकपटक यस्तो समय आउनुपर्छ; जहाँ नेताहरू सत्ताको अङ्कगणितीय दौडमा लाग्नुभन्दा पहिले समाजको अध्ययन गरून्। भाषण गर्नुभन्दा पहिले पढून्, निर्णय गर्नुभन्दा पहिले सोचून् र आफूलाई पनि प्रश्न गरून्। त्यस दिनदेखि विचारको यो मरुभूमिमा सम्भवतः फेरि बौद्धिक विमर्शको वर्षा सुरु हुनेछ।

(लेखक प्रतिनिधिसभा सदस्य हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?