+
+
Shares

एआईको दुरुपयोग र सोसल मिडियाप्रति आक्रोशित सलमान : प्रेस कार्ड कसले दियो ?

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १२ गते ११:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सलमान खानले एआईको दुरुपयोग रोक्न नक्कली आवाज र भिडियोबारे कडा कानुनी व्यवस्था र सामाजिक सञ्जालमा नियमन आवश्यक रहेको बताएका छन्।
  • उनले ‘बिग बोस २०’मा आफ्नै एआई भिडियो, पापाराजीको गलत फोटो खिचाइ र सामाजिक सञ्जालको जवाफदेहिताबारे पनि प्रश्न उठाएका छन्।
  • सलमानको अभिव्यक्तिलाई नेहा धूपिया, वरुण धवन, कुणाल कोहली र ऋचा चड्ढाले समर्थन गरेका छन् भने सोफिया हयातले उनलाई पाखण्डी भनेकी छन्।

मुम्बई । बलिउड अभिनेता सलमान खानले आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को दुरुपयोग गरी नक्कली आवाज र भिडियो बनाउने प्रवृत्तिप्रति चिन्ता व्यक्त गर्दै यसलाई रोक्न कडा कानुनी व्यवस्था आवश्यक रहेको बताएका छन् ।

रियालिटी शो ‘बिग बोस २०’को पछिल्लो एपिसोडमा सलमानले एआईबाट आफ्नो समेत नक्कली भिडियो बनिरहेको उल्लेख गर्दै सामाजिक सञ्जालमा सामग्री र टिप्पणीका लागि जवाफदेहिता आवश्यक रहेको बताए ।

‘एआईको पनि दुरुपयोग भइरहेको छ । कसैको एआई आवाज बनाएर अरूलाई गाली गर्न सकिन्छ,’ उनले भने, ‘धेरै मानिसका एआई भिडियो बनिरहेका छन्। म स्वयं पनि त्यस्ता भिडियोमा हुन्छु ।’

सलमानका अनुसार कतिपय नक्कली भिडियोमा आफूलाई पबमा रहेको दाबीसमेत गरिएको हुन्छ । यस्ता सामग्री बनाउने व्यक्तिमाथि कानुनी कारबाही हुनुपर्ने उनको भनाइ छ ।

‘यस्ता मानिसलाई जेल हाल्नुपर्छ । एक–दुई जना जेल नगएसम्म यो रोकिनेवाला छैन,’ उनले भने, ‘यसका लागि कानुन ल्याउनुपर्छ । सामाजिक सञ्जालमा पनि नियमन हुनुपर्छ । म यो विषयलाई निकै गम्भीर रूपमा लिँदैछु ।’

कार्यक्रममा फिल्म ‘हुंकार’को प्रचारका लागि पुगेकी फातिमा सना शेखले पापाराजीका गतिविधिबारे सलमानले उठाएको मुद्दाको प्रशंसा गरेकी थिइन् ।

सलमानले आफूले लामो समयदेखि केही महिला कलाकार पापाराजीले खिच्ने तस्बिरका कारण असहज भइरहेको देखेको बताए । उनका अनुसार यसबारे आवाज उठेपछि धेरै पापाराजीले त्यस्तो अभ्यास नगर्ने बताएका छन् ।

‘केही मानिस मोबाइल लिएर उभिएका हुन्छन्, जो पापाराजीसमेत होइनन्,’ उनले भने, ‘वास्तविक प्रेस र पापाराजीले उनीहरूलाई त्यहाँबाट हटाउनुपर्छ । जो कोही हातमा क्यामेरा लिएर आउँछन् ।’

उनले सामाजिक सञ्जालमा व्यक्तिले लेख्ने टिप्पणी र प्रयोग गर्ने शब्दप्रति जवाफदेही बनाउने संयन्त्र आवश्यक रहेको बताए । इन्फ्लुएन्सरले सामाजिक सञ्जालबाट आम्दानी गर्नु रोजगारीका दृष्टिले सकारात्मक भए पनि यसको दुरुपयोग हुन नहुने उनको भनाइ छ ।

आफ्नै एआई भिडियो देखेर हैरान

सलमानले कहिलेकाहीँ आफ्नै एआईबाट बनाइएका भिडियो हेर्दा आफू आश्चर्यचकित हुने बताए । त्यस्ता भिडियोमा आवाजसमेत वास्तविकजस्तै सुनिने उनको भनाइ छ ।

पछिल्लो समय आफूले पापाराजी र सामाजिक सञ्जालको व्यवहारबारे उठाएको आवाजलाई धेरैले समर्थन गरेको उनले बताए । यद्यपि, १० देखि १५ प्रतिशत मानिसले त्यसलाई लिएर पनि मिम बनाएको उनको भनाइ छ ।

पापाराजीलाई लिएर यसअघि पनि आक्रोश

अघिल्लो ‘विकेन्ड का वार’ एपिसोडमा सलमानले अभिनेत्री कट्रिना कैफको तौल, आफ्ना भाइ सोहेल खानको अनुहार र अभिनेता सनी देओलको फाटेको जुत्तालाई लिएर ट्रोल गर्नेहरूको आलोचना गरेका थिए ।

त्यसक्रममा उनले अभिनेत्री र महिलाका तस्बिर गलत कोणबाट खिचेर सामाजिक सञ्जालमा पोस्ट गर्ने प्रवृत्तिमाथि पनि प्रश्न उठाएका थिए । गाडीबाट ओर्लिने वा चढ्ने क्रममा कम्मर, खुट्टा र पछाडिबाट तस्बिर खिच्ने चलन बढेको भन्दै उनले धेरै महिला यस्तो अभ्यासबाट असहज हुने बताएका थिए ।

सलमानले अभिनेत्री सई मांजरेकर र नेहा धूपियासहित आफ्नी भान्जीको उदाहरणसमेत दिएका थिए । महिलाको पछाडिबाट खिचिएको तस्बिरमा ‘चिन्नुहोस्, यी को हुन् ?’ जस्ता क्याप्सन राख्ने प्रवृत्तिप्रति पनि उनले आपत्ति जनाएका थिए ।

उनले यस्तो व्यवहारको विरोध गर्न महिलालाई आग्रह गर्दै त्यस्ता तस्बिर खिच्नेहरूलाई आफ्नै परिवारका महिलामाथि त्यही व्यवहार गरेर देखाउन चुनौती दिएका थिए ।

सलमानले प्रेस कार्ड कसले दिएको हो भन्दै त्यस्ता व्यक्तिको नियतमाथि समेत प्रश्न उठाएका थिए । सोही क्रममा उनले मञ्चमै सर्ट खोलेर पेट देखाउँदै आफूलाई जति ट्रोल गर्न मन लाग्छ गर्न चुनौती दिएका थिए ।

उनका अनुसार केही समयअघि उनलाई कपाललाई लिएर पनि ट्रोल गरिएको थियो, जबकि त्यो उनको आगामी फिल्मका लागि तयार पारिएको लुक थियो । त्यस समय आफूले एक साथीसमेत गुमाएको उनले बताएका थिए ।

समर्थनसँगै आलोचना पनि

सलमानको अभिव्यक्तिपछि बलिउडका केही कलाकार र फिल्मकर्मीले समर्थन जनाएका छन् । अभिनेत्री नेहा धूपियाले यसअघि एक कार्यक्रममा आफ्ना ‘ब्याक सट’ पोस्ट गरेको भन्दै पापाराजीको आलोचना गरेकी थिइन् । सलमानको अभिव्यक्तिपछि उनले ‘टाइगर जिन्दा है’ लेख्दै प्रतिक्रिया दिएकी छन् ।

अभिनेता वरुण धवनले पनि भिडियोमार्फत सलमानलाई समर्थन गरेका छन् । निर्देशक कुणाल कोहलीले सामाजिक सञ्जालको व्यवहार, ट्रोलिङ र पापाराजीबारे सलमानले आवश्यक मुद्दा उठाएको बताएका छन् ।

अभिनेत्री ऋचा चड्ढाले न्युज १८ सँगको कुराकानीमा सलमानको अभिव्यक्तिको प्रशंसा गर्दै मानिसले ट्रोलिङमा ध्यान दिन नहुने बताएकी छन् । उनले महिलाको शरीर र रूपरंगबारे आपत्तिजनक टिप्पणी गर्ने पुरुषको व्यवहारमाथि समेत प्रश्न उठाएकी छन् ।

तर सलमानको भनाइप्रति आलोचना पनि आएको छ । ‘बिग बोस ७’की पूर्वप्रतियोगी तथा बेलायती मोडल, गायिका एवं अभिनेत्री सोफिया हयातले सलमानलाई ‘पाखण्डी’ भनेकी छन् । उनले सलमानको भिडियो क्लिप सेयर गर्दै आफू ‘बिग बोस’मा सहभागी हुँदा सलमानले आफ्नो शरीर र अनुहारको आलोचना गरेको, तर गौहर खानको शरीरको प्रशंसा गरेको आरोप लगाएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?