+
+
Shares

विद्यालय र आमा समूहका भवन बने बाढीपीडितका आश्रयस्थल

अविरल वर्षाका कारण आएको बाढी र पहिरोले घरबारविहीन बनाएपछि प्रभावित क्षेत्रका विद्यालय, आमा समूहका भवन र विपद् होल्डिङ सेन्टरहरू बाढीपीडितका अस्थायी आश्रयस्थल बनेका छन्।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १३ गते १३:१७

१३ असोज, काठमाडौं । अविरल वर्षाका कारण आएको बाढी र पहिरोले घरबारविहीन बनाएपछि प्रभावित क्षेत्रका विद्यालय, आमा समूहका भवन र विपद् होल्डिङ सेन्टरहरू बाढीपीडितका अस्थायी आश्रयस्थल बनेका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रतिवेदनअनुसार देशभर जोखिमयुक्त क्षेत्रबाट करिब २,००० जनालाई सुरक्षित स्थानमा सारिएको छ भने १,०८२ परिवार प्रत्यक्ष रूपमा प्रभावित भएका छन्।

सुस्तामा ६२५ जना बीपी माविमा

नवलपरासीको सुस्ता गाउँपालिका वडा नम्बर ५ मा सयौँ स्थानीय घर छोड्न बाध्य भएका छन्। प्राधिकरणको तथ्याङ्कअनुसार त्यहाँका ६२५ जना विस्थापितलाई बीपी माध्यमिक विद्यालयमा राखिएको छ भने ४५ जनालाई विपद् होल्डिङ सेन्टरमा आश्रय दिइएको छ। बाँकी प्रभावितहरू आफन्तको घरमा बसिरहेका छन्।

विस्थापितहरूको व्यवस्थापनका लागि स्थानीय उद्योग वाणिज्य संघ र गाउँपालिकाले समन्वय गरिरहेका छन् भने रेडक्रसले त्रिपाल उपलब्ध गराएको छ। त्यहाँ तत्काल खाद्यान्नको संकट नभए पनि ७० वटा घरपरिवारका लागि पुनर्वासको आवश्यकता रहेको प्रतिवेदनमा उल्लेख छ।

 म्याग्दीमा विद्यालय र आमा समूहका भवनमा बास

उता म्याग्दी जिल्लामा पनि पहिरो र कटानको जोखिममा परेका बस्तीहरूलाई सुरक्षित स्थानमा सारिएसँगै विस्थापितहरूलाई विद्यालय र आमा समूहका भवनहरूमा राखिएको छ। अन्नपूर्ण गाउँपालिका-५ पौद्वारबाट ४० परिवारलाई उद्धार गरी विद्यालयमा राखिएको छ।

यसैगरी, मालिकामा ७, मंगलामा २२, रघुगंगामा ४५, अन्नपूर्णमा ४० र बेनीमा १० घरपरिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी विद्यालय तथा आमा समूहका भवनमा आश्रय दिइएको छ।

प्रदेश सरकारको सहयोगमा ४० परिवारलाई खाद्यान्न तथा गैर-खाद्य सामग्री वितरण गरिएको छ भने स्थानीय स्तरमा ५० हजार रुपैयाँ बराबरको खाद्यान्न पुर्‍याइएको छ। थप ६५ जनाका लागि हेलिकप्टरमार्फत राहत पठाउने व्यवस्था मिलाइएको छ।

 बागलुङमा वडा कार्यालयबाटै खानाको व्यवस्था

प्राधिकरणको प्रतिवेदनअनुसार, बागलुङका प्रभावित पालिकाहरूमा ४६ जना विस्थापित विद्यालय र आफन्तको घरमा बसिरहेका छन्। उनीहरूका लागि स्थानीय वडा कार्यालयले खानाको व्यवस्था मिलाएको छ।

सडक सञ्जाल टुटेका कारण हेलिकप्टरमार्फत खाद्यान्न, त्रिपाल र कम्बल पठाइएको छ भने प्रदेश सरकारसँग थप ३०० थान त्रिपाल माग गरिएको छ।

विपद्का कारण देशभर २२७ वटा घर पूर्ण रूपमा ध्वस्त भएका छन् भने १४२ घरमा आंशिक क्षति पुगेको छ। घरबास गुमेका कारण नागरिकहरू तत्कालका लागि सार्वजनिक भवनहरूको भर पर्नुपर्ने बाध्यतामा हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?