काठमाडौं । मेघौली फिल्म्सको ब्यानरमा निर्माण भएको डार्क कमेडी फिल्म ‘जिरो डिग्री’ले प्रदर्शन मिति घोषणा गरेको छ । निर्माताले अभिनेता बरालको नयाँ लुक्स सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरेको हो ।
जसअनुसार, यो फिल्म अब १५ माघमा देशब्यापी प्रदर्शनमा आउनेछ ।
विजयलाई पोस्टरमा ‘पुन्य चौलागाईँ’को फरक अवतारमा प्रस्तुत गरिएको छ । ढाका टोपी, बाक्लो जुँगा, चस्मा र परम्परागत पहिरनमा घोडामाथि सवार विजयको अगाडि तथा पछाडि दुईवटा पंखा बोकेर हिँडिरहेको दृश्यले पोस्टरलाई व्यंग्यात्मक तुल्याइएको छ ।
फिल्मको कथा सडक सञ्जाल राम्रोसँग नपुगेको एक विकट गाउँमा आमाबुवाको निधन भएपछि विदेशमा रहेका सन्तान नफर्किन्जेल शवलाई सुरक्षित राख्न ’डीप फ्रिज’ बोकेर गाउँ उक्लिँदा उत्पन्न हुने उथलपुथलपूर्ण तथा रमाइला परिस्थिति वरिपरि केन्द्रित छ ।
निर्देशक र पटकथा सजन काफ्ले र आकाश बरालको छ । ‘बेहुली फ्रम मेघौली’ पछि यो जोडीको दोस्रो फिल्मको रूपमा ’जिरो डिग्री’ निर्माण भएको हो ।
कास्कीका धिताल गाउँ, अर्मलाकोट, घार्मी र बगर लगायतका रमणीय बस्तीमा छायांकन गरिएको फिल्ममा विजयसहित सनिशा भट्टराई, राजन भुसाल, वसुन्धरा भुसाल, रमेश बुढाथोकी, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, सुवर्ण थापा, सञ्जोग रसाइली, प्रवेश क्षेत्री, शारदा सिलवाल लगायतको अभिनय छ ।
मोती कार्की कार्यकारी निर्माता रहेको फिल्मलाई निशाल पौडेलले छायांकन गरेका हुन् ।
प्रतिक्रिया 4