१५ असोज, काठमाडौं । १३ वर्षअघि भएको रक्तचन्दन तस्करीमा ठेगाना नखुलेको भनेर मुद्दा नचलाइएका एक व्यक्तिलाई अहिले अदालत उपस्थित गराउन पत्राचार गरिएको छ ।
अहिले ठेगाना खुलेको हुनाले मुद्दाका प्रतिवादी बनाएर अदालत उपस्थित गराउन भनिएका व्यक्ति हुन्, दोलखाका नवीनराज बस्नेत । उनीविरुद्ध सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान गरिरहेको छ । अनुसन्धानका क्रममा उनी १३ वर्ष पहिले (९ वैशाख २०७० साल) भएको रक्तचन्दन तस्करीका फरार व्यक्ति रहेको खुलेको छ ।
१३ वर्षपछि अहिले ठेगाना खुलेको भनिएका बस्नेत अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएका नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारीसँग निकट रहेर काम गरेका ठेकेदार नवीनराज बस्नेत नै रहेकोसमेत खुलेको छ ।
त्यतिबेला नवीन बस्नेत नाम गरेका व्यक्ति फरार रहेको तर उनको यकिन वतन खुल्न बाँकी नै रहेको भन्दै खुलेका बखत मुद्दा लैजाने गरी मुद्दा दर्ता गरिएको थियो । उनै वतन नखुलेको भनिएका नवीन बस्नेतको अहिले वतन खुलेको भन्दै तामेली जगाएर अदालत उपस्थित गराउन सम्पत्ति शुद्धीकरण विभागले पत्राचार गरेको छ ।
‘सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धानको सिलसिलामा प्रमाण बुझ्दा आन्तरिक राजस्व कार्यालय कोटेश्वरको च.नं. २८८–२०८३/५/२२ को पत्रबाट प्रतिवादी नवीनराज बस्नेत सञ्चालक रहेको कालिञ्चोक माई सप्लायर्स (स्थायी लेखा नम्बर ६००८३०…) को कागजात प्राप्त हुँदा संलग्न कागजातहरूमा उजुरीमा समेत उल्लेख भएको ३६…नम्बरको नवीनराज बस्नेतको नागरिकताको फोटोकपी प्राप्त हुन आएको देखिएको छ,’ विभागले डिभिजन वन कार्यालयलाई लेखेको पत्रमा भनिएको छ, ‘काठमाडौं जिल्ला अदालतको ८ असार २०८२ को मु.नं. २५३६ को फैसलामा यकिन वतन नखुलेको आधारमा तामेलीमा राखिएका प्रतिवादी नवीनराज बस्नेतको यकिन सहितको विवरण संलग्न कागजातहरू खुलेको देखिँदा उक्त मुद्दामा निजलाई खोजतलास गरी काठमाडौं जिल्ला अदालत पेस गर्नुहुन अनुरोध छ ।’
यसको बोधार्थ सरकारी वकिल कार्यालय काठमाडौंलाई समेत दिइएको छ ।
तत्कालीन काठमाडौं जिल्ला अदालतका न्यायाधीश रमेशराज पोखरेलेको इजलासले रक्त चन्दन तस्करी मुद्दामा भीमकुमार सुनुवार र खेमबहादुर सिंहलाई भने दोषी ठहर गरेको थियो । उनीहरूलाई जनही ६ महिना कैद र ३ लाख ६१ हजार ६०० रुपैयाँ जरिबानाको फैसला सुनाइएको थियो । उनीहरू त्यतिबेला १९ चैत २०६९ मा पक्राउ परेका थिए ।
के हो मुद्दा ?
१८ चैत २०६९ मा बा १ ख ५७५९ नम्बरको मिनीट्रकमा रक्त चन्दन तस्करी गरेर लैजान लागिएको सूचना पाएपछि प्रहरीले खोजी गरेको थियो । उक्त ट्रक काठमाडौंको गुहेश्वरीबाट गोठाटार जाँदै गरेको अवस्थामा प्रहरीले फेला पार्यो ।
ट्रक खानतलासी गर्दा पछाडिको ढालामा बालुवाले छोपेर रक्त चन्दन ओसारिएको भेटियो । ९ थान रक्त चन्दनसँगै चालक सिन्धुली ककुरठाकुरका भीमबहादुर सुनुवार र सहचालक सर्लाहीको हरिवनका खेमबहादुर सिंह पक्राउ परेका थिए ।
तत्कालीन महानगरीय प्रहरी परिसर हनुमानढोकाले यसको अनुसन्धान गरेको थियो । अनुसन्धानका क्रममा १६ चैत २०६९ मा कालिञ्चोक सप्लायर्सका साहु नवीन बस्नेतले फोन गरी बालुवा लिएर जानुपर्यो भनी बोलाएको पक्राउ परेकाहरूले बताएका थिए ।
नवीन बस्नेत मोटरसाइकलमा अघि–अघि र आफूहरू गाडी लिएर पछि–पछि जाँदै गरेको उनीहरूले दिएको बयानमा उल्लेख छ । सोही क्रममा प्रहरीले गाडी नियन्त्रणमा लिएको थियो । यो गाडी उनै नवीन बस्नेतले २४ कात्तिक २०६९ का दिन रमेश प्रजापतिसँग करारनामा गरी एक वर्षका लागि महिनाको २५ हजारका दरले भाडामा लिएकोसमेत खुलेको थियो ।
तर, त्यतिखेर मुद्दा लैजाने बेला भने नवीन बस्नतेको वतन नखुलेको भन्दै चालक, सहचालकलाई मात्रै प्रतिवादी बनाइएको थियो । पहुँचका भरमा कालिञ्चोक सप्लायर्स कसको नाममा छ भन्नेसम्म केही अनुसन्धान नगरी मुद्दा बुझाइएको थियो ।
सम्पत्तिमा पनि अनुसन्धान
ठेकेदार बस्नेतविरुद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा पनि अनुसन्धान भइरहेको छ । विभाग स्रोतका अनुसार बस्नेतसँग सम्बन्धित कागजातहरू मगाउने, संकलन गर्ने काम भइरहेको छ । ‘हामीले अनुसन्धान सुरु गरेका छौं । सम्पत्तिबारेका कागजातहरू उपलब्ध गराइदिन विभिन्न निकायमा भनेका छौं । सबै विवरण आएपछि विस्तृत अनुसन्धान हुन्छ,’ विभाग स्रोतले भन्यो ।
अहिले बस्नेत, उनको परिवार तथा उनीसँग जोडिएका साझेदारहरूको सम्पत्ति विवरणबारे विभागले अध्ययन गरिरहेको छ । यस क्रममा काठमाडौं उपत्यकामा ठूलो मात्रामा जग्गा भेटिएको विभाग स्रोतको दाबी छ ।
सामान्य आर्थिक परिवारका बस्नेतको अहिले आर्थिक अवस्था राम्रो मानिन्छ । उनी तथा परिवारको नाममा सान्दर्भिक निर्माण सेवा प्रालि, निलडेभिड इन्टरनेसनल युनिसेक्स सलोन, क्षमादेवी कन्स्ट्रक्सन सोलुसन प्रालि, ड्रिमटाउन डेभलपर्स प्रालि, क्षमादेवी इन्टेरियर, क्षमादेवी इन्टरनेसनल प्रालि जस्ता कम्पनी छन् ।
केही सम्पत्ति परिवारका सदस्यका नाममा र केही बस्नेत थरकै केही साझेदारका नाममा रहेको र तिनीहरूको सम्पत्ति स्रोतबारे अध्ययन भइरहेको विभाग स्रोतले बतायो ।
उनको जग्गा पनि ठूलो मात्रामा पाइएको विभागको दाबी छ । ती जग्गाहरू बस्नेतको नाममा मात्रै नभएर परिवार, आफन्तको नाममा समेत राखेको आशंका गर्दै विभागले छानबिन सुरु गरेको हो ।
ड्रिम टाउन डेभलपर्सका साझेदारसँग मिलेर भक्तपुरको दुवाकोटमा मात्रै ७२ रोपनी जग्गा खरिद गरी प्लानिङ गरिएको प्रारम्भिक अनुसन्धानमा देखिएको एक अधिकारीले बताए ।
सिनामंगल, दुवाकोट, जोरपाटी, कोटेश्वर, ठिमी, बालकोट जस्ता ठाउँमा ठूलो मात्रामा जग्गा विभिन्न व्यक्तिको नाममा रहेको देखिएको र त्यसको स्रोत खोज्ने काम भइरहेको ती अधिकारीले बताए ।
‘बस्नेतको आफ्नै नाममा भन्दा उनका साझेदार, नातेदार लगायतका नाममा जग्गाहरू बढी देखिन्छ । सम्पत्तिको स्रोत पुष्टि नभएको अवस्थामा सबै जना अनुसन्धानको दायरामा आउँछन्,’ ती अधिकारीले अनलाइनखबरसँग भने ।
यसअघि एकै पटक दीपक भट्टसहित २६ जनालाई सम्पत्ति शुद्धीकरणको मुद्दा चलाइएको र अहिले पनि ठूला प्रकृतिका यस्ता घटनामा अनुसन्धान गरिरहेको विभागले बताएको छ ।
यसअघि अख्तियार प्रमुखसहित उच्च पदस्थलाई धम्क्याएको कसुरमा क्यानका तत्कालीन डीजी प्रदीप अधिकारी सहितका व्यक्तिमाथि परिसर काठमाडौंले अनुसन्धान गरेको थियो । त्यो घटनामा बस्नेतसहितका व्यक्तिको समेत कनेक्सन देखिए पनि थप बुझ्ने भन्दै मुद्दा दर्ता भएको थिएन ।
‘कोही कसैको हकमा प्रस्तुत मुद्दामा संलग्नता रहे/भएको तथ्य प्रमाणसहित खुल्न आएको बखत मुलुकी अपराध संहिताको दफा ३५ बमोजिम छुट्टै अनुसन्धान प्रतिवेदन पेस गरिने’ भनिएको थियो ।
बस्नेतले तीन वर्षअघि भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भित्रको ट्याक्सी वे र एप्रोनको ठेक्का लिई काम गरेका थिए । यो ठेक्का आशिष–क्षमादेवी–बुद्ध हिमाली जेभीले पाएको थियो । बस्नेत त्यतिबेला क्षमादेवीमा आबद्ध थिए ।
प्रतिक्रिया 4