+
+
Shares

भोटेकोशी बाढीपीडितलाई लामिछाने फाउन्डेसनको एक करोड बढी सहयोग

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १६ गते ७:४०

लन्डन । ‘द लामिछाने फाउन्डेसन’ ले भोटेकोशी बाढीपीडितका लागि एक करोड ७ लाख रुपैयाँ सहयोग गरेको छ ।

बेलायतस्थित च्यारिटी कमिसनमा दर्ता भएको द लामिछाने फाउन्डेसनले बिहीबार लन्डनस्थित नेपाली दूतावासको बैंक खातामा ५१ हजार ७ सय २७ पाउण्ड जम्मा गरेको हो ।

बिहीबार दूतावासमा आयोजित समारोहमा फाउन्डेसनका अध्यक्ष समेत रहेका फेसन उद्यमी तथा समाजसेवी रविन्द्रजंग लामिछानेले कार्यवाहक राजदूत दुवाडी र राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विदुषी राणालाई चेक हस्तान्तरण गरे ।

दूतावासले सो रकम प्रधानमन्त्री देवी प्रकोप उद्धार कोषमा पठाइने जनाएको छ ।

रकम हस्तान्तरण कार्यक्रममा सांसद विदुषी राणाले बाढी पीडितलाई सहयोग गरेकामा व्यवसायी लामिछानेप्रति आभार व्यक्त गर्दै नेपालले पुनस्थापना र पुनर्निर्माणमा लामिछाने जस्ता ह्दय भएका प्रवासी नेपालीको साथ सहयोग खोजिरहेको बताइन् ।

विपदपछि बेलायतसहित संसारभरि रहेका नेपालीले मन खोलेर सहयोग गरेको उनको भनाइ थियो ।

सांसद राणाले आफ्नो बेलायत भ्रमणका क्रममा भीषण बाढी पछिको पुनर्निर्माणमा नेपाललाई सघाउन ब्रिटिश राजनीतिज्ञलाई भेटेर सहयोग आह्वान गरेको पनि जनाइन् ।

नेपालको जीडीपीको करिब १० प्रतिशत रकम पुनर्निर्माणमा खर्चनु पर्ने भएकाले अन्तर्राष्ट्रिय समुदायको सहयोग अपरिहार्य भएको पनि उनको भनाइ थियो ।

कार्यक्रममा झन्डै ५० वर्ष बेलायतमा सक्रिय राजनीति गरेका पूर्व सांसद बिरेन्द्र शर्माले व्यवसायी लामिछानेलाई आफूले लामो समयदेखि चिनेको स्मरण गर्दै नेपाललाई अप्ठ्यारो परेका बेला सहयोगमात्र होइन्, बेलायत नेपाल सम्बन्ध अभिवृद्धिमा समेत लामिछानेले उल्लेख्य योगदान गरेको बताए । लामिछानेले दुई देशको व्यापार र राजनीतिक सम्बन्ध जोड्ने काम गर्दै आएको पनि शर्माले बताए ।

कार्यवाहक राजदूत विपिन दुवाडीले सहयोग ग्रहण गर्दै द लामिछाने फाउन्डेसनप्रति कृतज्ञता व्यक्त गरे ।

व्यवसायी लामिछानेले महाभूकम्प र कोभिड महामारीका बेला समेत नेपालमा उल्लेख्य सहयोग गरेको बताउंदै दुवाडीले नेपाल सरकार अब उद्धारपछि पुनस्थापना र पुनर्निर्माणमा केन्द्रित रहेको जनाए ।

कार्यक्रममा विगत तीन दशकदेखि बेलायतमा फेसन व्यवसाय सञ्चालन गर्दै आएका जिनी लन्डन र रवि फेमस लिमिटेडका सीईओ तथा संस्थापक लामिछानेले देशमा आपतविपत पर्दा सहयोग गर्नु आफ्नो मुख्य दायित्व भएको उल्लेख गरे ।

‘मलाई देशको माया छ । जब त्यहाँ विपत्ति आइलाग्छ, म टुलुटुलु हेरेर बस्न सक्दिन’, उनले भने, ‘यसपटक पनि बाढीको वितण्डाले मन क्षतविक्षत पारिरहँदा सहयोग जुटाउन लागें ।’

लामिछानेले आफ्नो फाउन्डेसनलाई सहयोग गर्ने सम्पूर्ण दाताप्रति धन्यवाद समेत व्यक्त गरे ।

ब्रिटिश सेनाको उच्च तह लेफ्टीनेन्ट कर्णेलबाट अवकासप्राप्त भूतपूर्व गोर्खा टोल खाम्चा मगरले लामिछानेको व्यवसायिक सफलता तथा सामाजिक कार्य सबैका लागि प्रेरणादायी भएको बताए ।

नेपाली समुदायका अग्रज महन्त श्रेष्ठ ‘ओबीई’ ले लामिछाने च्यारिटी काममा सधैं अग्रसर भएर आफूलाई पनि प्रोत्साहित गर्ने गरेको स्मरण गरे।

सो अवसरमा फाउन्डेसनको बोर्ड अफ ट्रष्टीजद्वय लक्ष्मी राई र सूर्यप्रसाद उपाध्यायले संस्था स्थापनाको उद्देश्य र भावी कार्यक्रमबारे अवगत गराएका थिए ।

महाभूकम्प र कोभिड महामारीमा पनि सहयोग

सन् २०१५ को महाभूकम्पको समयमा लामिछानेले नेपाली सेना र नेपाल प्रहरीमार्फत लाखौं रुपैयाँ बराबरका कम्बल, पाल र अत्यावश्यक सामग्रीहरू राहत स्वरूप प्रदान गरेर असाधारण मानवीय संवेदना प्रदर्शन गरेका थिए ।

साथै, उनले तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको उपस्थितिमा ‘प्रधानमन्त्री दैवी प्रकोप राहत कोष’ मा ५१ लाख रुपैयाँ प्रत्यक्ष सहयोग पनि प्रदान गरेका थिए ।

लामिछानेले कोभिड–१९ महामारीको दोस्रो लहर चरम अवस्थामा पुगेका बेला ‘प्रधानमन्त्री राहत कोष’ मा १५ लाख रुपैयाँ सहयोग प्रदान गरेका थिए । साथै, महामारीको सोही समयमा अक्सिजनको चरम अभाव हुँदा रविन्द्रले बेलायतस्थित स्वामीनारायण संस्थासँगको सहकार्यमा ३३ थान पोर्टेबल अक्सिजन कन्सन्ट्रेटर खरिद गरी वितरण गरेका थिए ।

जीवन बचाउने यी चिकित्सा सामग्रीहरूको व्यवस्थापन तथा वितरण कार्य नेपालका लागि संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषकी सद्भावना दूत तथा चर्चित बलिउड अभिनेत्री मनिषा कोइरालाले गरेकी थिइन् ।

आफ्ना पिता स्वर्गीय चन्द्रजंग लामिछानेको स्मृतिमा काठमाडौं धुम्बाराहीमा चण्द्रेश्वर महादेव मन्दिर निर्माण गरेका लामिछानेले पर्वत मल्लाजस्थित ऐतिहासिक कुल बाराही मन्दिर, साउथ इष्ट लन्डनस्थित पशुपति मन्दिर र अल्डरसटमा रहेको शिव कल्चरल एण्ड कम्युनिटी सेन्टर यूकेका लागि पनि लाखौं रकम सहयोग गरेका छन् ।

लामिछाने संस्थापक अध्यक्ष रहेको रविचन्द्र ट्रष्ट (नेपाल) ले अहिले ५५ गरिब तथा जेहेन्दारबालबालिकालाई छात्रवृत्ति प्रदान गरिरहेको छ ।

बेलायत नेपाल सम्बन्धमा पुलको काम

यूके–नेपाल व्यापार तथा लगानी मञ्चका उपाध्यक्ष र कमनवेल्थ इन्टरप्रिनर्स क्लब लन्डनको सल्लाहकार परिषद्का सदस्य समेत रहेका उनले बेलायत नेपाल द्विपक्षीय सम्बन्ध सुदृढ पार्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्।

बेलायत नेपालबीच राजनीतिक तथा व्यापारिक सम्बन्ध विस्तारमा पुलको काम गर्दै आएका लामिछानेले बेलायत भ्रमणका क्रममा नेपालका शीर्ष नेताहरुका विभिन्न भेटघाट व्यवस्थापन तथा रिसेप्सन आयोजना गर्दै आएका छन् ।

सन् २०१९ मा नेपालका तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक बेलायत भ्रमणका क्रममा ओलीसंग तत्कालीन प्रधानमन्त्री टेरेजा मेबीच उच्चस्तरीय भेटवार्ता व्यवस्थापनमा रविन्द्रले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए जुन भेटवार्ताले बेलायत र नेपालबीचको द्विपक्षीय सम्बन्ध विस्तारमा उल्लेखनीय योगदान पुगेको थियो ।

सन् २०२१ मा कोप २६ सम्मेलनमा भाग लिन आएका तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाको सम्मानमा उनले लन्डनस्थित प्रतिष्ठित ‘नेभल एण्ड मिलिटरी क्लब’ मा एक भव्य रात्रिभोज संयोजन गरे ।

सन् २०२२ मा लामिछानेले राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना र बेलायतको हाउस अफ कमन्सका सभामुख सर लिन्डसे होयलबीचको महत्त्वपूर्ण बैठकको समन्वय गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

सन् २०२२ मार्चमा रविन्द्रले विश्वप्रसिद्ध योग गुरु सद्गुरुको उपस्थितिमा एक विशेष कार्यक्रम र रात्रिभोज आयोजना गरेका थिए । नेपाली दूतावास र बेलायती संसद भवन (हाउस अफ पार्लियामेन्ट) मा आयोजित उक्त विशेष कार्यक्रमले विभिन्न पृष्ठभूमिका व्यक्तिलाई एकै ठाउँमा ल्याएर सांस्कृतिक विविधता तथा समावेशीतालाई प्रवर्धन गरेको थियो ।

लन्डन भ्रमणका क्रममा सद्गुरुले प्रसिद्ध ‘पार्लियामेन्ट स्क्वायर’ बाट आफ्नो प्रभावशाली ‘सेभ सोइल’ अभियानको सुरुवात पनि गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?