१८ असोज, काठमाडौं । गर्भाशयसम्बन्धी रोगको उपचारमा प्रयोग हुने आधुनिक माइक्रोवेभ एब्लेसन प्रविधिबारे अन्तर्राष्ट्रियस्तरको चिकित्सकीय प्रशिक्षण आयोजना गरिएको छ ।
नेपालमै पहिलोपटक काठमाडौंको ब्लु क्रस अस्पतालमा विदेशी विशेषज्ञसहितको कार्यक्रमको आयोजना गरिएको हो । यो प्रविधिबाट हुने उपचारबारे नेपाली चिकित्सकलाई दक्ष बनाउने उद्देश्य हो ।
कार्यशालामा २० जना चिकित्सक सहभागी थिए । तीमध्ये १० जना नेपाली र १० जना विदेशी चिकित्सक हुन् । कार्यशालामा भारत, दुबई तथा म्यानमाराका विज्ञ सहभागी थिए ।
कार्यशालामा अन्तर्राष्ट्रिय विशेषज्ञ प्राध्यापक डा. सियाओमिङ गोङ र स्त्रीरोग तथा नि:सन्तान उपचार विशेषज्ञ डा. रंगिना लाइकाङबामले प्रशिक्षण दिएका थिए ।
कार्यशालामा माइक्रोवेभ एब्लेसन प्रविधिको प्रयोग, उपचारका लागि उपयुक्त बिरामी छनोट, उपकरण सञ्चालन, उपचार प्रक्रिया र अपनाउनुपर्ने सावधानीबारे सैद्धान्तिक तथा व्यावहारिक प्रशिक्षण दिइएको अस्पतालले जनाएको छ ।
चिकित्सकीय ज्ञान, सीप तथा अनुभव आदान–प्रदान समेत कार्याशालामा गरिएको छ ।
यो प्रविधिमा माइक्रोवेभबाट उत्पन्न ताप प्रयोग गरी रोगग्रस्त तन्तुको उपचार गरिन्छ । बिरामीको अवस्था र रोगको प्रकृतिअनुसार यसको प्रयोग गरिन्छ ।
अस्पतालका अनुसार कार्यशालाको उद्देश्य नेपाली चिकित्सकलाई आधुनिक उपचार प्रविधिबारे अन्तर्राष्ट्रिय विशेषज्ञसँग अनुभव आदानप्रदान गर्ने अवसर प्रदान गर्नु हो ।
यस्ता प्रशिक्षणले नेपालमै आधुनिक उपचार सेवा विस्तार गर्न आवश्यक दक्ष जनशक्ति विकासमा सहयोग पुग्ने अस्पतालले विश्वास व्यक्त गरेको छ ।
नेपालमा विशेष तथा उन्नत उपचार सेवाका लागि बिरामीहरू विदेश जाने अवस्थालाई मध्यनजर गर्दै देशमै आधुनिक प्रविधि, आवश्यक पूर्वाधार तथा दक्ष जनशक्तिको विकास गर्न कार्यक्रमको आयोजना गरिएको हो ।
प्रतिक्रिया 4