कुनै पनि देशको विकास र प्रगतिलाई मापन गर्ने सूचांकहरूमा कसरी विश्वास गर्न सकिन्छ ?
विस्तार भएका सडक, फटाफट उभिरहेका अत्याधुनिक महल या तारामण्डल ताकिरहेका यानलाई मात्र हेरेर कुनै पनि भूगोललाई विकसित भन्न सकिन्छ त ?
निर्देशक र लेखक सतीश शर्माद्वारा निर्देशित र पानोरमा स्टुडियोज मार्फत रिलिज गरिएको सर्ट फिल्म ‘यान’ (२०२३ ) ले यस प्रश्नलाई अनुपेक्षनीय रूपमा उभ्याएको छ । १० मिनेटको यो हिन्दी ड्रामाले ग्रामीण भारतको उपेक्षा र प्रशासनिक संवेदनहीनतामाथि अत्यन्तै गहिरो र मार्मिक प्रहार गरेको छ।
फिल्मको कथा ग्रामीण परिवेशमा आधारित छ । जहाँ सुखराम नामक एक बिरामी किसान जीवन र मरणको दोसाँधमा छन् । उनको स्वास्थ्य अवस्था नाजुक बन्दै जाँदा परिवारले अस्पताल लैजान एम्बुलेन्सको खोजी गर्छ । तर भ्रष्ट्राचारमा लिप्त, पैसालाई मात्र महत्त्व दिने सरकारी संयन्त्रका कारण उनीहरूले एम्बुलेन्स पाउँदैनन् ।
कुनै उपाय नलागेपछि सुखरामको ज्यान जोगाउन उनको परिवार आफैँले अनेकन जुगाड गर्न थाल्छन् । एउटा जीर्ण, अस्थायी एउटा सामग्री निर्माण गर्छन् । सुखरामकी श्रीमती कमली उक्त सामग्रीमा आफ्ना श्रीमान् राखेर डोरीले तान्दै अघि बढ्छिन् । अनि उनीहरूका छोरा बन्सी पछाडिबाट उक्त सामग्रीलाई धकेल्छन् । दुर्गम र भत्किएका बाटाहरू हुँदै, मानवीय संवेदनाहीन भिडहरू पार गर्दै सुखरामलाई कोसौँ टाढाको अस्पतालतर्फ लैजान्छन्।

निर्देशक सतीश शर्माले फिल्ममा वैचारिक विरोधाभास सिर्जना गरेका छन् । जब सुखारामहरू एम्बुलेन्स नपाएर निस्लोट भएका छन्, त्यही समय देशले अन्तरिक्षमा ‘मार्स मिसन’ (मङ्गल ग्रहको यात्रा) जस्तो ठुलो प्राविधिक सफलताको उत्सव मनाइरहेको छ ।
फिल्म ‘यान’ को सबैभन्दा बलियो र सुन्दर पक्ष यसको यथार्थपरक छायाँकन हो । सिनेमाटोग्राफर वीरेन्द्र ललितले गाउँको परिवेशलाई केवल सुन्दरतामा मात्र सीमित नराखी त्यसलाई कथाको मूलतत्वको रूपमा पर्दामा उतारेका छन् ।
गाउँको प्राकृतिक उज्यालो, खुला आकाश, धुलाम्य कच्ची सडक र उराठलाग्दो तर जीवन्त भू–बनोटलाई क्यामराले निकै कलात्मक ढंगमा कैद गरेको छ । कुनै ‘सिनेम्याटिक’ चमकधमक छैन । ग्रामीण भारतको वास्तविक माटोको गन्ध र सादगीलाई दृश्यमा देख्न सकिन्छ।

फिल्ममा एकातिर गाउँको सुन्दर र शान्त प्रकृति देखिन्छ भने अर्कोतिर त्यही सुन्दर पृष्ठभूमिमा एउटा परिवारले भोग्नुपरेको चरम त्रासदी र छटपटाहटलाई देखाइएको छ । ब्याकग्राउन्डमा देखिने विशाल ग्रामीण परिदृश्य र फोरग्राउन्डमा गुडिरहेको त्यो कमजोर जुगाड गाडीले दृश्यलाई निकै मार्मिक बनाएको छ।
त्यस्तै इमोशनल क्लोज-अप्सहरूमा फिल्ममा राम्रो काम गरिएको छ । क्यामराले पात्रहरूको अनुहारमा रहेका सानाभन्दा साना भावहरू– जस्तै सुखरामको अनुहारको पीडा, कमलीको आँखाको आँसु र बन्सीको अन्योलतालाई निकै गहिराइमा खिचेको छ।
फिल्ममा सुखराम भाभर, कमली भाभर र मास्टर सुरेशको मुख्य अभिनय रहेको छ । उनीहरूको अभिनयमा कुनै कृत्रिमता महसुस हुँदैन। उनीहरूले ग्रामीण भोगाइ, गरिबी र न्यायको लागि गरिने संघर्षलाई पर्दामा पूर्ण न्यायका साथ प्रस्तुत गरेका छन् । मात्र करिब ३ लाख भारतीय रुपैयाँको सीमित बजेटमा बने पनि निर्देशक सतीश शर्माले कलाकारहरूबाट उत्कृष्ट काम निकाल्दै फिल्मलाई निकै कसिलो बनाएका छन् ।

अस्पताल पुग्नै पर्ने समयको टिक-टिक र परिवारको छटपटाहटलाई संगीतले अझ घनीभूत बनाएको छ । गाउँको प्राकृतिक आवाज र गाडी गुड्दाको आवाजलाई यथार्थपरक रूपमा प्रस्तुत गरेर दर्शकलाई दृश्यभित्रै मग्न गराउँछ।
समग्रमा ‘यान’ ले विकासका ठुला-ठुला गफगाफ र दाबीहरूका बीच च्यापिएको भुइँमान्छेहरूको आवाजलाई मुखरित गरेको छ । अन्तर्राष्ट्रिय कोलकाता सर्ट फिल्म फेस्टिभल २०२४ लगायतका धेरै मञ्चहरूमा रुचाइएको र अवार्ड जितेको यो फिल्म सिनेमाका सबैका लागि एकपटक हेर्नै पर्ने सिनेमा हो।
प्रतिक्रिया 4