+
+
Shares

किसानलाई अनुदानमा गोरु वितरण गर्दै फेदाप गाउँपालिका

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २१ गते ७:५९

२१ असोज तेह्रथुम । केही दशकअघिसम्म तेह्रथुमका गाउँघरमा खेतबारी जोत्न गोरुको प्रयोग सामान्य थियो । बिहानैदेखि हलगोरु लिएर किसान खेतबारीतिर लाग्थे । तर पछिल्लो समय कृषि श्रमको अभाव, युवाको वैदेशिक तथा सहरकेन्द्रित बसाइँसराइ र आधुनिक कृषि उपकरणको प्रयोग बढ्दै गएपछि गाउँका गोठबाट गोरु हराउँदै जान थालेका छन् ।

गोरु पाल्ने चलन घटेसँगै खेतबारी जोत्न किसानलाई समस्या हुन थालेको छ । यही परिस्थितिबीच तेह्रथुमको फेदाप गाउँपालिकाले कृषकलाई प्रोत्साहन गर्ने उद्देश्यले अनुदानमा गोरु वितरण गर्न थालेको छ ।

कृषिमा रासायनिक पदार्थको प्रयोग घटाउँदै स्थानीय तथा जैविक कृषि प्रणालीलाई प्रोत्साहन गर्ने उद्देश्यले गाउँपालिकाले खेतबारी जोत्न प्रयोग हुने गोरु वितरण सुरु गरेको हो । चालु आर्थिक वर्षको स्वीकृत वार्षिक कार्यक्रमअनुसार गाउँपालिकाले पाँचवटै वडाका कृषकलाई एक सय हल गोरु वितरण गर्ने लक्ष्य लिएको छ ।

गाउँपालिका–५ का किसान लक्ष्मण लिम्बुले गोरुको अभावका कारण खेतबारी जोत्न समस्या हुँदै आएको बताए । गाउँपालिकाले सुरु गरेको गोरु वितरण कार्यक्रमले किसानलाई खेती गर्न सहयोग पुग्ने उनको भनाइ छ । गाउँपालिकाका अनुसार गोरु वितरण केवल खेत जोत्नका लागि पशु उपलब्ध गराउने कार्यक्रम मात्र होइन, कृषकलाई खेतीमा प्रत्यक्ष सहयोग पु‍र्याउने र स्थानीय कृषि प्रणालीको संरक्षण गर्ने पहल पनि हो । आधुनिक कृषि उपकरणको प्रयोग बढिरहेका बेला परम्परागत कृषि साधनलाई समेत संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्य गाउँपालिकाको छ ।

गोरु खरिद तथा व्यवस्थापनका लागि गाउँपालिकाले झापाको शिवसताक्षीस्थित श्रीगोलोक गोवर्धन गौशालासँग एक सय हल बहर गोरुका लागि सम्झौता गरेको छ । झापाबाट एक हल गोरु तेह्रथुमसम्म ल्याउँदा करिब पाँच हजार रुपैयाँ ढुवानी खर्च लाग्ने गरेको छ । त्यसमा गाउँपालिकाले ५० प्रतिशत २ हजार ५ सय रुपैयाँ ढुवानी अनुदान उपलब्ध गराउँदै आएको छ । बाँकी दुई हजार पाँच सय रुपैयाँ कृषकले व्यहोरेर एक हल गोरु प्राप्त गर्ने व्यवस्था गरिएको छ । गोरु प्राप्त गर्ने अर्का किसान कुमार थापाका अनुसार साना तथा भिरालो खेतबारीमा अझै पनि गोरुको प्रयोग सहज र उपयोगी हुन्छ । आधुनिक कृषि उपकरण सबै ठाउँमा सहज रूपमा प्रयोग गर्न नसकिने भएकाले गोरुबाट खेती गर्ने परम्परा ग्रामीण क्षेत्रमा अझै आवश्यक रहेको उनको भनाइ छ ।

गाउँपालिका अध्यक्ष केशव भटुवालका अनुसार अहिले गोरु वितरण सुरु गरिएको भए पनि कार्यक्रमलाई आगामी दिनमा थप विस्तार गर्ने योजना छ । उनका अनुसार बीउ उत्पादनका लागि बहर गोरु तथा दूध उत्पादनका लागि गाई वितरण गर्ने योजनासमेत गाउँपालिकाले अघि सारेको छ । फेदापका गाउँमा गोरुको अभाव बढ्दै गएको अवस्थामा गाउँपालिकाको कार्यक्रमले किसानलाई राहत पुगेको छ । खेतबारी जोत्न गोरु खोज्नुपर्ने, बाहिरबाट ल्याउनुपर्ने वा महँगो ज्यालामा जोताइ गर्नुपर्ने बाध्यता कम हुने भएको छ ।

फेदाप गाउँपालिका–५ का किसान हेमबहादुर लिम्बुले गोरु वितरणले परम्परागत खेती प्रणालीलाई निरन्तरता दिन सहयोग पुग्ने बताए । उनका अनुसार गाउँघरमा गोरु पाल्ने चलन घट्दै गएको अवस्थामा गाउँपालिकाले सुरु गरेको कार्यक्रमले किसानलाई खेतीमा सहजता थपेको छ ।

पशु शाखा कार्यालय फेदापका प्राविधिक केशवराज कडेलका अनुसार गोरु वितरण कार्यक्रम गाउँपालिकाका सबै वडामा क्रमश: सञ्चालन भइरहेको छ । कृषकको माग र आवश्यकताका आधारमा वडागत रूपमा गोरु उपलब्ध गराउने व्यवस्था गरिएको उनले बताए । गोरु पाल्ने परम्परा हराउँदै गएको बेला फेदापमा सुरु भएको यो कार्यक्रमले एउटा फरक सन्देश पनि दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?