+
+
Shares

कट्रिनाको ठाँट नै काफी, स्टाइलिस लुकले ट्रोल गर्नेलाई दिइन् जवाफ

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २७ गते १४:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कट्रिना कैफले लन्डनमा आफ्नो ब्युटी ब्रान्डको एक वर्ष पूरा भएको कार्यक्रममा ब्राउन र पर्पल पहिरनका तस्वीर सार्वजनिक गरिन्।
  • उनका तस्वीर र शैलीले तौलसम्बन्धी टिप्पणीभन्दा काम र पहिरनमा ध्यान केन्द्रित गराएको छ।
  • लेखले महिलाको शरीरमाथि सार्वजनिक टिप्पणी गर्ने सामाजिक धारणामाथि पनि प्रश्न उठाएको छ।

मानिसको शरीर बदलिन्छ । समयसँगै रूप पनि । तर, मानिसको सौन्दर्य मापन गर्ने समाजको नजर भने कति साँघुरो छ !

विशेषगरी महिलाको हकमा त शरीरको तौलसमेत सार्वजनिक टिप्पणीको विषय बनिदिन्छ । आमा बनेपछि शरीरमा आएको परिवर्तन होस् वा बढेको तौल, महिलाले शरीरको हिसाब समाजलाई दिइरहनुपर्ने मान्यता अझै हटेको छैन ।

बलिउड अभिनेत्री कट्रिना कैफले भने आफ्नो तौललाई लिएर उठेका टिप्पणीको जवाफ शब्दमा दिएकी छैनन् ।

न त सामाजिक सञ्जालमा सफाइ पेस गरेकी छन् । बरु, आफ्नो काम र शैलीमार्फत ध्यान खिचेकी छन् ।

आफ्नो ब्युटी ब्रान्डको एक वर्ष पूरा भएको कार्यक्रमकाका लागि लन्डन पुगेकी कट्रिनाले सामाजिक सञ्जालमा ब्राउन र पर्पल रङका दुई फरक पहिरनमा खिचिएका तस्वीर सार्वजनिक गरेकी छन् ।

दुवै पहिरनमा उनको पहिरन, आत्मविश्वास र राजसी अन्दाज अहिले चर्चामा छ । कट्रिना कैफले आफ्नो ब्युटी ब्रान्डको एक वर्ष पूरा भएको कार्यक्रमका ब्राउन पहिरनले सादगी र परिष्कृत रूप झल्काउँछ भने पर्पल पहिरनले उनको फेसन शैलीको अर्को पाटो देखाउँछ ।

उनका यी तस्वीरले पहिरनको छनोटसँगै महिलाको शरीरलाई लिएर गरिने टिप्पणी र सौन्दर्यसम्बन्धी सामाजिक धारणाबारे पनि चर्चा गर्ने ठाउँ दिएका छन् ।

ब्राउन पहिरनमा फरक अन्दाज

कट्रिना आफ्नो सौन्दर्य र फेसन शैलीका कारण चर्चामा आइरहने अभिनेत्री हुन् ।

यसपटक उनी आफ्नो ब्युटी ब्रान्डको एक वर्ष पूरा भएको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन लन्डन पुगेकी थिइन् । त्यहाँ उनले जाडो मौसम सुहाउँदो पहिरन रोजिन् ।

चर्चित स्टाइलिस्ट रिया कपुरले तयार पारेको उनको लुकमा स्विडिस लक्जरी फेसन ब्रान्ड टोटेमको अर्थी ब्राउन पहिरन समावेश थियो । ब्राउनका विभिन्न छायालाई एकै ठाउँमा मिलाइएको यो पहिरन न धेरै चम्किलो थियो, न त अनावश्यक सजावटले भरिएको ।

तर, सादगी नै यसको आकर्षण बन्यो । कट्रिनाको पहिरनले धेरै रङ, भारी गहना वा तडकभडकबिनै आकर्षक देखिन सकिने देखाउँथ्यो ।

धोती शैलीको स्कर्ट ब्लेजरमा

कट्रिनाको पहिरनमा सबैभन्दा ध्यान खिच्ने पक्ष थियो, ब्राउन रङको धोती शैलीको स्कर्ट । स्कर्टमा देखिने नरम र बगेजस्ता तहले पहिरनलाई फरक बनाएका थिए । परम्परागत धोतीबाट प्रेरित यसको डिजाइनले आधुनिक फेसनसँग नयाँ संयोजन तयार पारेको थियो ।

स्कर्टसँग उनले गाढा ब्राउन रङको सिंगल ब्रेस्टेड ब्लेजर लगाएकी थिइन् । भित्र स्लिप टप र साथमा स्कार्फले उनको पहिरनलाई पूर्णता दिएको थियो । ब्लेजरले पहिरनमा औपचारिक र परिष्कृत रूप थपेको थियो भने स्कर्टको फ्लोई डिजाइनले त्यसलाई कठोर वा एकनासको देखिन दिएन ।

एउटै रङभित्रका फरक स्टाइलले उनको पहिरनलाई खुलाएको थियो ।

जाडोमा सधैँ जिन्स, ट्राउजर र साधारण ज्याकेटमै सीमित हुनुपर्ने छैन भन्ने सन्देश पनि उनको शैलीले दिन्छ । स्कर्ट र ब्लेजरको ‘कम्बो’ , सही जुत्ता र एक्सेसरिजसँग मिलाउन सके फरक र आकर्षक पहिरन तयार पार्न सकिन्छ ।

ब्राउन बुट्स र कालो ब्याग

कट्रिनाको लुकलाई पूर्ण बनाउन एक्सेसरिजको छनोट पनि उत्तिकै महत्त्वपूर्ण थियो । उनले मिलानको ब्रान्ड पेरिस टेक्सासका ब्राउन बुट्स लगाएकी थिइन् ।

पहिरनसँग मिल्दो बुट्सले उनको जाडो मौसमको शैलीलाई एकरूपता दिएको थियो । त्यस्तै, लन्डनकी डिजाइनर लिन्डा फारोको चस्माले उनको लुकमा आधुनिक र कूल अन्दाज थपेको थियो ।

डिमेलियरको कालो सोल्डर ब्यागले भने ब्राउन पहिरनमा फरक रङको सन्तुलन मिलाएको थियो । ब्लेजरको डिजाइन र स्कर्टको बगेजस्तो बनावटबीच मेकअप तथा कपालले सन्तुलन कायम गरेका थिए ।

पर्पल पहिरनमा फरक अन्दाज

अर्को दिन सार्वजनिक गरेको तस्वीरमा उनले पर्पल पहिरनमा फरक अन्दाजमा देखिइन् ।  कट्रिनाले गाढा पर्पल साटनको सिंगल-ब्रेस्टेड ब्लेजरसँग मिल्दो धोती शैलीको फ्लोइ स्कर्ट, स्कार्फ र पोइन्टेड बुट्स लगाएकी थिइन् ।

एउटै रङको नरम चमक र सहज तहले उनको लुकलाई आधुनिक, सादगीपूर्ण र अत्यन्तै स्टाइलिश बनाएको थियो ।

मेकअपमा सादगी, कपाल खुला

पहिरनसँगै कट्रिनाको मेकअप पनि दुवै पहिरनमा सन्तुलित थियो । उनले गाढा मेकअपको सट्टा प्राकृतिक देखिने शैली रोजेकी थिइन् ।

हल्का ब्लस, गुलाबी ओठ र खुला कपालले उनको समग्र लुकलाई ‘सफ्ट’ बनाएको थियो । अनुहारमा अनावश्यक सजावट थप्नुभन्दा आफ्नो स्वाभाविक रूपलाई प्राथमिकता दिँदा पनि आकर्षक देखिन सकिन्छ भन्ने उनको शैलीमा देखिन्थ्यो ।

फेसनमा कहिलेकाहीँ धेरै प्रयोग गर्नुभन्दा सही छनोट गर्नु महत्त्वपूर्ण हुन्छ । कट्रिनाको यो लुक त्यसैको एउटा उदाहरण हो ।

ट्रेन्ड पछ्याउने कि आफ्नै सहजता रोज्ने ?

कट्रिनाको ब्राउन पहिरनलाई जाडो मौसमको फेसन प्रेरणाका रूपमा हेर्न सकिन्छ । एउटै रङका फरक छाया प्रयोग गर्ने, स्कर्टसँग ब्लेजर मिलाउने, पहिरन सुहाउँदो बुट्स रोज्ने र एक्सेसरिज सीमित राख्ने शैली अपनाउन सकिन्छ ।

कट्रिनाको यो उपस्थितिलाई फेसनको कोणबाट मात्र हेर्नु पर्याप्त हुँदैन ।

उनको तौललाई लिएर सामाजिक सञ्जालमा भएका टिप्पणीले अर्को प्रश्न पनि उठाउँछन्, ‘महिलाको शरीरमाथि टिप्पणी गर्ने अधिकार समाजलाई कसले दियो ?

आमा बनेपछि महिलाको शरीरमा परिवर्तन आउन सक्छ । कुनै व्यक्तिको शरीर कस्तो हुनुपर्छ भन्ने मापदण्ड अरूले निर्धारण गर्ने कुरा पनि होइन ।

कट्रिनाले ट्रोलिङको जवाफ दिन सार्वजनिक बहसमा उत्रनुभन्दा आफ्नो काम र शैलीमा ध्यान दिएकी छन् । उनको पछिल्लो उपस्थितिले फेरि एकपटक देखाएको छ, आकर्षक देखिन कुनै निश्चित शरीरको आकारमा हुनैपर्छ भन्ने छैन ।

तस्वीर कट्रिनाको आधिकारिक फेसबुकबाट …

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?