२७ असोज, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले अनियमितताको आशंकामा हिमालय एयरलाइन्सका एक कर्मचारीमाथि अनुसन्धान गर्न प्रहरीको जिम्मा लगाएको छ ।
अध्यागमन कार्यालयले हिमालय एयरलाइन्सका कर्मचारी हंसराज जैशीमाथि अनुसन्धान गरी कारबाही गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयलाई जिम्मा लगाएको हो ।
अध्यागमन कार्यालयका अनुसार सोमबार (२६ असोज) मिनबहादुर रावत (राहदानी नम्बर पीबी ०२४९२८४) वैदेशिक रोजगारीमा जान लागेका बेला उनको श्रम स्वीकृतिको म्याद समाप्त भएको पाइएको थियो । सोही क्रममा जैशीले रावतसँग पुन: श्रम स्वीकृति गराउनुपर्ने भन्दै रकम असुल गरेको खुलेको अध्यागमन कार्यालयले जनाएको छ ।
अध्यागमन कार्यालयको छानबिनका क्रममा जैशीको मोबाइल नम्बरमा रहेको ईसेवामार्फत १४ हजार रुपैयाँको कारोबार भएको पाइएको छ ।
यस्तै, कार्यालयको सीसीटीभी फुटेजसमेतका आधारमा यात्रुलाई सहजीकरण गर्ने बहानामा शङ्कास्पद क्रियाकलाप भएको देखिएकाले जैशीमाथि अनुसन्धान गरी आवश्यक कारबाही गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयलाई जिम्मा लगाइएको अध्यागमन कार्यालयले जनाएको छ ।
प्रतिक्रिया 4