+
+
Shares

महँगो दशैं, खर्चिलो बजार

दैनिक उपभोग्यवस्तुसहित खाद्यान्नको मूल्य पनि पछिल्लो समय निकै बढेको उपभोक्ताको गुनासो छ ।

रासस रासस
२०८३ असोज २८ गते १५:१४

२८असोज, काठमाडौं । काठमाडौं उपत्यकाभित्रका प्राय: सबै मुख्य बजारमा अहिले किनमेल गर्ने सर्वसाधारणको भीड लागेको छ ।

दशैँ नजिकिँदै गर्दा खासगरी सहरी क्षेत्रका भोटाहिटी, ठमेल, असन, इन्द्रचोक, जमल, विशालबजार, सुन्धरा, खिचापोखरी, नयाँसडक, बागबजार, डिल्लीबजार, बानेश्वर, पुतली सडकलगायतका क्षेत्रमा लुगाफाटा र आवश्यक सरसामान खरिद गर्नेको चहलपहल बाक्लो रुपमा रहेको पाइएको छ ।

गत भदौ १० गते भोटेकोशी बाढीपछि छिमेकी मुलुक चीनतर्फको दुई वटा नाका ठप्प भएकाले पनि अघिल्लो वर्षको तुलनामा बजारमा खासगरी लत्ताकपडाको मूल्य केही बढेको हुनसक्ने उपभोक्ताको अनुमान छ । हुन त दैनिक उपभोग्यवस्तुसहित खाद्यान्नको मूल्य पनि पछिल्लो समय निकै बढेको उपभोक्ताको गुनासो छ ।

काठमाडौं महानगर पालिका–३२ का शालिकचन्द्र शर्माले महङ्गी बढेसँगै चाडपर्व मनाउन पनि अप्ठ्यारो हुँदै गएको गुनासो गरे ।

‘जिरा मसिनो चामलको भाउ एक बोरामा नै ३०० रुपैयाँ बढेको छ,’ उनले भने, ‘दशैँमा खानुपर्ने खसीको मासुको भाउ पनि प्रतिकिलो तीनदेखि ४०० ले बढेको छ । न्यून आय हुनेका लागि त दसैँ मनाउन पनि मुस्किल हुने देखिएको छ ।’

शालिकचन्द्र मात्रै होइन्, तिनकुनेकी स्मिता खत्री पनि यसपालीको दशैँमा आफ्ना परिवारका सदस्यलाई एकजोर नयाँ लुगा फेरिदिने सोचमा छन् । तर, लत्ताकपडाको भाउ बढे पनि जेनतेन तीन सन्तानलाई नयाँ लुगा किनमेल गरिसकेको बताए ।

‘दशैँमा एकसरो लुगा त फेरिदिनुपर्‍यो नी’, उनले भने, ‘सीमित आयस्रोत हुनेलाई दशैँ त दशा जस्तै हुने के गर्नु नमनाएर पनि नहुने ।’

आम्दानीको स्रोत कम  हुनेलाई दशैँ मनाउने विषय धेरै सास्ती हुने गरेको सर्वसाधारण उपभोक्ताको भनाइ छ । उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले यसपालीको दसैँमा खाद्यान्न, लत्ताकपडा र अन्य अत्यावश्यक सरसमानको भाउ निकै वृद्धि भएको बताए । ‘बजारमा सबैखालको खाद्यान्नमा भाउ बढेको छ’, उनले भने, ‘अहिले त ताजा तरकारी, फलफूलदेखि मासुजन्य पदार्थको मूल्य आकासिएको छ ।’

अध्यक्ष तिमिल्सिना नियमित रुपमा बजार अनुगमन गरी मूल्यवृद्धिलाई नियन्त्रण गर्नेतर्फ सरकारका समयन्त्र अग्रसर हुनुपर्ने बताउँछन् ।

‘सरकारले आपूर्ति शृङ्खलालाई नियमित गर्ने र मूल्यवृद्धि नियन्त्रणमा हस्तक्षेप गरेर नै अघि बढ्नुपर्ने जरुरी देखिएको छ’, उनले भने ।

नेपाल हिमालयन सीमापार वाणिज्य सङ्घका महासचिव रामचन्द्र पराजुलीले छिमेकी मुलुक चीनसँग जोडिएका मुख्य लाइफलाइनका रुपमा रहेका रसुवा र तातोपानीका नाका अवरुद्ध हुँदा वस्तु तथा समान ल्याउन असहज भइरहेको बताए ।

‘चीनसँग जोडिएका नाका अवरुद्ध हुँदा व्यापारमा पनि ठूलो असर पारेको छ’, उनले भने, ‘चीनतर्फबाट दशैँलगायत पर्वलाई लक्षित गरी ल्याउन लागिएका करिब रु पाँच अर्ब मूल्य बराबरका सामान नाकामा रोकिएको छ ।’

वाणिज्य आपूर्ति तथा उपभोक्त संरक्षण विभागका महानिर्देशक रितेशकुमार शाक्यले विभागले चाडपर्व लक्षित अनुगमनलाई तीव्रता दिँदै आइरहेको बताए ।

उनले भने, ‘अहिले दैनिक २५ देखि ५० वटा विभिन्न फर्म तथा कम्पनीको अनुगमन गर्दै आइरहेका छौँ । अधिकतम खुद्रा मूल्यभन्दा धेरै मूल्य लिने व्यापारी तथा व्यवसायीलाई पनि आवश्यक कानुनी दायरामा ल्याइरहेका छौँ ।’

महानिर्देशक शाक्यले कुनै पनि वस्तु तथा समान तोकिएको मूल्यअनुसार बिक्रीवितरण गर्न सबैलाई अनुरोध गरे ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?