+
+
Shares

नेप्सेको पुनर्संरचना अघि बढाउन धितोपत्र बोर्डको पहल

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ३० गते १२:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल स्टक एक्सचेञ्जको सुधार प्रक्रिया अगाडि बढाउन धितोपत्र बोर्ड र नेप्सेको सञ्चालक समितिबीच बिहीबार बोर्डको कार्यालयमा छलफल भएको छ।
  • छलफलमा नेप्सेको संस्थागत संरचना, स्वामित्व, सुशासन, प्रविधि, जनशक्ति, कार्यप्रक्रिया र कारोबार प्रणालीमा सुधार गर्ने विषयमा केन्द्रित गरिएको छ।

३० असोज, काठमाडौं । नेपाल स्टक एक्सचेञ्जको सुधार प्रक्रिया अगाडि बढाउन धितोपत्र बोर्डका उच्च पदाधिकारी तथा नेप्सेको सञ्चालक समितिबीच छलफल भएको छ ।

नेपाल सरकारले गठन गरेको नेपाल स्टक एक्स्चेन्ज लिमिटेड (नेप्से) को पुनर्संरचना सम्बन्धी सुझाव समितिले पेश गरेको प्रतिवेदनको कार्यान्वयन तथा दोस्रो बजार सञ्चालन, व्यवस्थापन एवम् उपकरण तथा सेवा विविधिकरण विषयमा बोर्ड तथा नेप्सेका पदाधिकारीबीच बोर्डको कार्यालयमा बिहीबार छलफल भएको हो ।

नेप्सेको संस्थागत संरचना, स्वामित्व, सुशासन, प्रविधि, जनशक्ति, कार्यप्रक्रिया र कारोबार प्रणालीमा गर्नुपर्ने सुधारका विषयमा छलफल केन्द्रित रहेको थियो।

उक्त छलफलमा पूँजी, जनशक्ति तथा सूचना प्रविधि पूर्वाधार आधुनिक स्टक एक्सचेञ्जका लागि अपरिहार्य विषय रहेको जानकारी गराउँदै बोर्ड अध्यक्ष डा. गोपाल प्रसाद भट्टले स्टक एक्स्चेञ्ज सुधार प्रक्रियाको सुरुवातको रुपमा पहिलो पटक छलफल कार्यक्रम आयोजना भएको बताए ।

नेप्सेको पूँजी तथा स्वामित्वको पुनर्संरचनाको काम र दोस्रो बजार सञ्चालन, व्यवस्थापन एवम् उपकरण तथा सेवा विविधिकरणसँग सम्बन्धित विभिन्न ३० भन्दा बढी विषयमा बोर्डको नियामकीय अधिकार प्रयोग गरी धितोपत्र बजार सुधारको कार्य अगाडि बढाउने आगामी कार्यदिशा रहेको उनले जानकारी गराए ।

छलफलका क्रममा नेप्से सञ्चालक समितिका अध्यक्ष तथा अर्थ मन्त्रालयका सहसचिव नारायण प्रसाद रिसालले बोर्ड र नेप्सेको सञ्चालक समितिबीच भएको यस छलफल कार्यक्रमलाई धितोपत्र बजार सुधारको नयाँ सुरुवातको संज्ञा दिँदै नेप्से पुनर्संरचना सम्बन्धी प्रतिवेदनमा उल्लिखित तत्काल कार्यान्वयन गर्न सकिने विषयमा हाल नेप्से केन्द्रित रहेको बताए ।

उनले नेप्सेको प्रविधि र प्रणाली, संस्थागत सुशासन, लगानी उपकरण र सेवाको सुधारका लागि प्रतिवद्ध रहेको बताए ।

बोर्डका उप कार्यकारी निर्देशक अम्बिका ओझा गुप्ताले नेप्से पुनर्संरचना सम्बन्धी प्रतिवेदनमा उल्लिखित सुझावको कार्यान्वयन तथा दोस्रो बजारको सञ्चालन, व्यवस्थापनलाई थप प्रभावकारी बनाउने एवम् धितोपत्र बजार उपकरण तथा सेवा विविधिकरण विषयमा बोर्डले तयार गरेको नियामकीय विषयमा केन्द्रित भई प्रस्तुतीकरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?