News Summary
Generated by OK AI. Editorially reviewed.- गृहमन्त्री सुधन गुरुङले राज्यका संवेदनशील सूचना चुहाउनेलाई उन्मुक्ति नदिइने बताएका छन् ।
- उनले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन कानुनमा सुधारको तयारी भइरहेको बताएका छन् ।
- उनले प्रहरीलाई नागरिकमैत्री आचरण अपनाउन र अपराध नियन्त्रणमा शून्य सहनशीलताको नीति लिन निर्देशन दिएका छन् ।
३० असोज, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले राज्यका संवेदनशील सूचना चुहाउनेलाई उन्मुक्ति नदिइने स्पष्ट पारेका छन् ।
७१औँ प्रहरी दिवसको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री गुरुङले राज्यका संवेदनशील सूचना चुहाउनेलाई उन्मुक्ति नदिइने बताएका हुन् । उनले सूचनाको संरक्षण र गोपनीयता कायम राख्न जिम्मेवार बन्न निर्देशन पनि दिए ।
नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन कानुनमा सुधारको तयारी भइरहेको उनले बताए । प्रहरीलाई उत्प्रेरित गर्ने गरी कानुनमार्फत सेवासुविधा थप गर्न सरकारले पहल गरिरहेको उनको भनाइ थियो ।
अपराधले सीमा नचिन्ने उल्लेख गर्दै उनले अन्तरदेशीय अपराध नियन्त्रण तथा अनुसन्धान गर्न सक्षम निकायका रूपमा नेपाल प्रहरी स्थापित हुनुपर्ने बताए । प्रहरीको बर्दी डर र त्रासको नभई आशा, भरोसा र नागरिक–प्रहरी सहकार्यको प्रतीक बन्नुपर्नेमा उनले जोड दिए ।
विपद् उद्धारमा खटिने सुरक्षाकर्मीका लागि जोखिम भत्ता तथा खाजा खर्चको व्यवस्था भइसकेको र हालै नेपाल प्रहरीको संगठन तथा व्यवस्थापन सर्वेक्षणमार्फत दरबन्दी थप गर्न प्रस्ताव गरिएको उनले जानकारी दिए । नयाँ सरकार नयाँ जोश, जाँगर र मानसिकताका साथ जनताको सेवामा जुटेको पनि उनले बताए ।
उनले प्रहरीलाई आफ्नो आचरण र कार्यशैली नागरिकमैत्री बनाउन तथा अपराध नियन्त्रणमा शून्य सहनशीलताको नीति अपनाउन निर्देशन दिए । कार्यक्रममा गृहमन्त्री गुरुङलगायतले कर्तव्य पालनाका क्रममा ज्यान गुमाएका सम्पूर्ण अमर प्रहरीप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए ।
प्रतिक्रिया 4