+
+
Shares

पन्तको प्रश्न : सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ?

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ३० गते १७:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसकी राष्ट्रिय सभा संसदीय दलकी नेता कमला पन्तले सरकारले संसद्लाई छलेर अध्यादेशमार्फत शासन चलाएको आरोप लगाएकी छन् ।
  • पन्तले सरकार सैद्धान्तिक रूपमा विचलित भएको भन्दै हप्तैपिच्छे कानुन संशोधन र अध्यादेशको सहाराले असफलता देखिएको बताइन् ।
  • उनले राष्ट्रिय सभामा विधेयक ल्याएर छलफल नगरेको, सहकारी ऐनका प्रावधानमा विपक्षीको विरोधलाई बेवास्ता गरेको र सरकारले शत्रुतापूर्ण व्यवहार गरेको आरोप लगाइन् ।

३० असोज, काठमाडौं । नेपाली कांग्रेसकी राष्ट्रिय सभा संसदीय दलकी नेता कमला पन्तले वर्तमान सरकार सैद्धान्तिक रूपमा विचलित भएको आरोप लगाएकी छन् ।

शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पन्तले संसद्लाई छलेर अध्यादेशमार्फत शासन सञ्चालन गर्नु लोकतान्त्रिक मूल्य–मान्यताविपरीत भएको बताइन् । सरकारले सत्ता टिकाउनेबाहेक जनताका समस्या समाधानमा ध्यान नदिएको उनको आरोप थियो ।

‘सरकार सैद्धान्तिक रूपमा विचलित छ । सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? हप्तैपिच्छे कानुन संशोधन गर्ने र अध्यादेशको सहारा लिने कार्यशैलीले सरकारको असफलता पुष्टि हुन्छ,’ पन्तले भनिन् ।

उनले राष्ट्रिय सभामा विधेयक ल्याएर छलफल गर्न पटक–पटक आग्रह गर्दा पनि सरकारले संसदीय प्रक्रियालाई महत्त्व नदिएको गुनासो गरिन् । संसद्मा विधेयक प्रस्तुत गरिएको भए विस्तृत छलफल गरेर त्यसलाई परिष्कृत गर्न सकिने उनको भनाइ थियो ।

‘हामीले पटक–पटक संसदीय प्रक्रियामार्फत कानुन बनाउन सुझाव दिएका थियौँ । राष्ट्रिय सभामा विधेयक ल्याएको भए हामीले घनीभूत छलफल गरी त्यसलाई परिष्कृत गर्न सक्थ्यौँ, तर सरकारले संसद् छल्ने बाटो रोज्यो,’ उनले भनिन् ।

सहकारी ऐनका केही प्रावधानमा विपक्षीले विरोध जनाउँदासमेत सरकारले बहुमतका आधारमा अघि बढाएको पन्तले बताइन् । विपक्षीका सुझावलाई मार्गनिर्देशनका रूपमा लिनुको सट्टा सरकारले शत्रुतापूर्ण व्यवहार गरेको उनको आरोप थियो ।

कांग्रेसको महाधिवेशनबाट आएको नयाँ नेतृत्वसहित सरकारलाई सही बाटोमा हिँडाउन आफूहरू लाग्ने पन्तले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?