+
+
Shares

करिब सात अर्ब रुपैयाँको ब्रा लगाएर काइली जेनरले गरिन् डेब्यु, मूल्यलाई लिएर बहस

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक ३ गते १२:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काइली जेनरले ५० मिलियन अमेरिकी डलर मूल्यको फ्यान्टेसी ब्रा लगाएर भिक्टोरियाज सिक्रेट फेसन शोमा डेब्यु गरेकी छन् ।
  • जेनरको छनोटप्रति केहीले प्रशंसा र धेरैले आलोचना गर्दै शोले वास्तविक मोडलिङ प्रतिभालाई बेवास्ता गरेको टिप्पणी गरेका छन् ।
  • भिक्टोरियाज सिक्रेटले जेनरलाई उनको सांस्कृतिक प्रभाव र युवा दर्शकसँगको पहुँचका कारण छनोट गरिएको बताएको छ ।

रियालिटी टेलिभिजन स्टार काइली जेनरले ५० मिलियन अमेरिकी डलर (करिब सात अर्ब ५९ करोड ७९ लाख रुपैयाँ) मूल्यको ब्रा लगाएर भिक्टोरियाज सिक्रेट फेसन शोमा डेब्यु गरेकी छन् । उनको यो प्रस्तुतिलाई लिएर मिश्रित प्रतिक्रिया आइरहेको छ ।

मेकअप उद्योगकी चर्चित हस्ती जेनरले आइतबार लन्जरी ब्रान्ड भिक्टोरियाज सिक्रेटको वार्षिक फेसन शोमा सबैको ध्यान खिचिन् ।  डिजाइनरका अनुसार उनले १८ क्यारेट सुन र चार हजार ४१० वटा हिरा जडित चर्चित ‘फ्यान्टेसी ब्रा’ लगाएकी थिइन् ।

फ्यान्टेसी ब्रा वर्षौंदेखि यस शोको प्रमुख आकर्षण रहँदै आएको छ । यो ब्रा लगाउने अवसरलाई छनोटमा परेकी मोडलका लागि सम्मान र करियरको महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिन्छ ।

२९ वर्षीया कार्दसियन परिवारकी सदस्य जेनरलाई यो ब्रा लगाउन छनोट गरिएकोमा केही प्रशंसक खुसी भएका छन् । तर, अनुभवी सुपरमोडललाई यस्तो अवसर नदिएको भन्दै धेरैले ब्रान्डको आलोचना गरेका छन् । सोसल मिडिया तथा मार्केटिङ विज्ञ जोएल मार्लिनारसनका अनुसार, यो प्रस्तुति योजनाबद्ध रूपमा आयोजना गरिएको थियो । यसले ‘मोडलिङ र सोसल मिडियाको भविष्य’ का लागि यसको अर्थ के हुन्छ भन्ने विषयमा व्यापक बहस जन्माएको छ ।

जोएलले बीबीसी न्यूजबीटसँग भने, ‘काइलीले निश्चित रूपमा सेलिब्रिटीको नयाँ युगको प्रतिनिधित्व गर्छिन् । अहिले ब्रान्डहरूले परम्परागत मोडलको परिभाषामा को फिट हुन्छ भन्नेभन्दा पनि कसले सबैभन्दा धेरै मानिसको ध्यान खिच्न सक्छ भन्ने कुरालाई प्राथमिकता दिइरहेका छन् ।’

उनका अनुसार, युवा दर्शकहरू जेनरसँग परिचित छन् । उनीहरू सोसल मिडियाका साथै कार्दसियन दिदीबहिनीसँगको उनको रियालिटी शो हेर्दै हुर्किएका छन् ।

तर, दर्शकको एउटा समूहले भने फेसनको प्रतिष्ठित ‘नाओमी क्याम्पबेल युग’ सम्झने उनको भनाइ छ । उनीहरूले जेनरलाई यस्तो अवसर दिनुलाई परम्परागत मोडलिङ क्षेत्रप्रतिको विश्वासघातका रूपमा समेत लिन सक्छन् । जोएलका अनुसार, ‘यो मार्केटिङको नयाँ युगको प्रतिनिधित्व हो । विशेषगरी भिक्टोरियाज सिक्रेटजस्ता पुरानो विरासत बोकेका ब्रान्डहरू जोखिम लिन चाहँदैनन् ।’

‘उनीहरू मानिसको ध्यान खिच्न, चर्चामा आउन र निरन्तर दर्शक जुटाउन सक्ने व्यक्तिलाई ल्याउन चाहन्छन् । भिक्टोरियाज सिक्रेटले ठ्याक्कै यही गरेको छ ।’

भिक्टोरियाज सिक्रेटको इन्स्टाग्राम पेजमा सार्वजनिक गरिएको जेनरको भिडियोमा पनि मिश्रित प्रतिक्रिया देखिएका छन् । केही प्रशंसकले उनको आकर्षक प्रस्तुतिको प्रशंसा गरेका छन् भने अन्यले यसलाई ‘वास्तविक मोडलहरूको अपमान’ भनेका छन् । प्रतिभाशाली मोडलहरूले भरिएको क्षेत्रमा जेनरलाई नै किन छनोट गरियो भन्ने प्रश्नसमेत उठाइएको छ ।

एक प्रयोगकर्ताले शो ‘प्रतिष्ठित ग्ल्यामरबाट इन्फ्लुएन्सरहरूको तमासामा परिणत भएको’ टिप्पणी गरेका छन् । उनका अनुसार, सोसल मिडियाको प्रभाव र समावेशी देखिने देखावटी प्रयासले वास्तविक मोडलिङ प्रतिभा, शालीनता र र्‍याम्पमा प्रस्तुत हुने क्षमतालाई पछाडि पारेको छ ।

भिक्टोरियाज सिक्रेटका प्रमुख क्रिएटिभ अफिसर एडम सेलम्यानले भोगसँग कुरा गर्दै जेनरलाई उनको ‘सांस्कृतिक प्रभाव’ का कारण छनोट गरिएको बताएका छन् । उनले भने, ‘काइली फेसन, संस्कृति, टेलिभिजन र यी सबैभन्दा परको क्षेत्रमा समेत प्रभाव राख्छिन् । यो शो निकै ठूलो छ । वास्तवमा यो मनोरञ्जन हो र मलाई लाग्छ, उनी यसका लागि उत्कृष्ट छनोट हुन् ।’

ब्रिटिस मोडल समर नेस्बेथले पनि जेनरलाई छनोट गर्नुको पछाडि युवा प्रशंसकसँग जोडिइरहने भिक्टोरियाज सिक्रेटको प्रयास रहेको बताएकी छन् । न्युयोर्क फेसन विकमा र्‍याम्पमा हिँड्ने २५ वर्षीया समरले न्यूजबीटसँग भनिन्, ‘उनी प्रभावशाली व्यक्तित्व हुन् र उनीसँग ठूलो शक्ति छ । हामी सोसल मिडियाको युगमा बाँचिरहेका छौँ ।’

सन् २०१८ मा कम दर्शक र आलोचनाका कारण भिक्टोरियाज सिक्रेटको फेसन शो बन्द गरिएको थियो । उक्त शो लैङ्गिक विभेदलाई बढावा दिने, पुरानो सोचमा आधारित र विविधताको कमी भएको भन्दै आलोचित बनेको थियो ।

सन् २०२४ मा ‘सबै महिलाको उत्सव मनाउने’ प्रतिबद्धतासहित शो पुनः सुरु गरिएको थियो । त्यस क्रममा प्लस(साइज मोडल एश्ले ग्राहमसहित विविध पृष्ठभूमिका मोडलहरूलाई समावेश गरिएको थियो ।

यस वर्षको फ्यान्टेसी ब्रा गहना ब्रान्ड ज्याकोब एन्ड कम्पनीसँगको सहकार्यमा तयार पारिएको हो । ब्रान्डका अनुसार, यो अहिलेसम्मकै सबैभन्दा महँगो ब्रा हो । यसलाई बनाउन १५ जना कलाकारले एक हजार घण्टाभन्दा बढी समय लगाएका थिए ।

तर, मोडल समर नेस्बेथ भने यति महँगो ब्रालाई दिइएको प्राथमिकताले समाजको वास्तविक अवस्थाप्रतिको बेवास्ता झल्काउने बताउँछिन् ।

उनले भनिन्, ‘मानिसहरूले खाना खान पाइरहेका छैनन् । कतिपयले आफ्नै घरको बिजुलीको बिलसमेत तिर्न सकिरहेका छैनन् ।’

उनका अनुसार, समाजले आफ्नो ध्यान कहाँ केन्द्रित गरिरहेको छ र पैसा कहाँ खर्च गरिरहेको छ भन्ने विषयमा गम्भीर बहस हुन आवश्यक छ ।

को हुन् काइली जेनर 

काइली जेनर अमेरिकी रियालिटी टेलिभिजन स्टार, मोडल तथा सौन्दर्य सामग्री व्यवसायी हुन् । उनी चर्चित कार्दसियन–जेनर परिवारकी सदस्य हुन् । सामाजिक सञ्जालमा उनको ठूलो प्रभाव छ ।

उनी विशेषगरी आफ्नो मेकअप ब्रान्ड काइली कस्मेटिक्स का कारण चर्चित छिन् । लिप किटबाट सुरु भएको उनको व्यवसायले उनलाई युवा उमेरमै अर्बौँ डलरको सम्पत्ति भएकी चर्चित व्यवसायीका रूपमा स्थापित गर्‍यो ।

बिबिसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?