News Summary
Generated by OK AI. Editorially reviewed.- पीएचपी प्रोग्रामिङमा देखिएको जोखिमका कारण नेपाल राष्ट्र बैंकसहित अधिकांश बैंक, भुक्तानी प्रणाली सञ्चालक र रेमिट्यान्स कम्पनीले वेबसाइट डाउन गरेका छन् ।
- राष्ट्र बैंकले पूर्वसावधानीका रूपमा वेबसाइट र अनलाइन सिस्टम बन्द गरिएको, तर सर्वसाधारणको रकम र सूचनामा जोखिम नरहेको जनाएको छ ।
- पीएचपी त्रुटिका कारण विश्वभर सरकारी पोर्टल, विकिमिडिया, बीबीसी र अन्य वेबसाइट अफलाइन गरिएका छन् भने सञ्चालकहरूलाई तत्काल अपडेट गर्न आग्रह गरिएको छ ।
६ कात्तिक, काठमाडौं । विश्वव्यापी रूपमा पीएचपी प्रोग्रामिङमा देखिएका जोखिमका कारण नेपालको बैंकिङ प्रणाली पनि प्रभावित भएको छ ।
सम्भावित जोखिम ध्यानमा राख्दै नेपाल राष्ट्र बैंक र अधिकांश बैंक तथा वत्तीय संस्था, भुक्तानी प्रणाली सञ्चालक तथा रेमिट्यान्स कम्पनीले आफ्ना वेबसाइट डाउन गरेका छन् । कतिपयले भने वेबसाइटलाई अपडेट गरी पुन: सञ्चालन गरेको पनि जनाएका छन् ।
बैंकहरूले वेबसाइट बन्द गर्दा वेबमा आधारित सेवा अनलाइन बैंकिङ, खाता खोल्ने, केवाईसी अपडेट, कतिपय भुक्तानी प्रणालीका सेवा प्रभावित भएको बैंकरहरूले बताएका छन् ।
यद्यपि, यो काम पूर्वसावधानीका लागि गरिएको र यसबाट हाललाई सर्वसाधारणको रकम र सूचनामा कुनै जोखिम नरहेको राष्ट्र बैंक र बैंकरहरूले भनाइ छ ।
केन्द्रीय बैंक प्रवक्ता तथा कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले पीएचपीको जोखिम पहिचान भएसकेपछि भोलि कुनै समस्या पर्न सक्ने भएका कारण वेबसाइट बलियो बनाउन र अपडेट गर्नुपर्ने कुरा उठेको बताए ।
‘तर, वेबसाइट भन्नेबित्तिकै अपडेट नहुन सक्छ, त्यसो हुँदा अपडेट नहुन्जेलका लागि राष्ट्र बैंकको अनलाइन सिस्टम पनि डाउन अर्थात् इन्टरनेटबाट विच्छेद गरेर राखिएको छ,’ प्रवक्ता पौडेलले अनलाइनखबरसँग भने, ‘यसलाई अपडेट गर्ने कुरामा प्राविधिकहरू लागिरहेका छन् ।’
उनका अनुसार आज शुक्रबारको विदेशी विनिमय दरलाई सामाजिक सञ्जालबाट सार्वजिनक गरिसकिएको छ ।
बैंक, पीएसपी तथा रेमिट्यान्स कम्पनीहरूलाई राष्ट्र बैंकले सूचना जारी गरी सिस्टमलाई इन्टरनेटबाट जोडिने कुरामा सतर्क रहन भनिसकेको उनले बताए ।
त्यस्तै राष्ट बैंकलाई गरिने रिपोर्टिङलाई पनि अफलाइन गर्न भनिएको उनले जानकारी दिए ।

‘पूर्वसावधानीका रूपमा यस्तो गरिएको हो, वेबसाइट ह्याक भएको होइन,’ प्रवक्ता पौडेलले भने, ‘सर्वसाधारणको बैंकमा रहेको रकम जोखिममा परेको पनि होइन, सूचना लिक भएको पनि होइन ।’
त्यसैगरी नेपाल बैंकर्स एसोसिएसनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल शर्माले अहिलेको पीएचपी समस्याले बैंकहरूको वेबसाइटमा रहेको सर्वसाधारणको सूचनामा जोखिम हुन्छ कि भन्ने देखिएको बताए ।
‘बैंकहरूले वेबसाइटमा पब्लिकको सूचना भएका ठाउँ होल्ड गरेर राखेका छन्,’ उनले भने, ‘जसले अपडेट गरिसके, उनीहरूले वेबसाइट चलाइसके, कतिले गर्दैछन्, यसबाट बैंकहरूको कोर बैंकिङ प्रणालीमा कुनै समस्या छैन ।’
नबिल बैंकका सूचना प्रविधि प्रमुख प्रवेश पौडेलले दुइटा जोखिम भएको रिपोर्ट आएपछि फिक्स गर्ने र अपडेट गर्ने काम संसारभरि नै भइरहेको बताए ।
उनका अनुसार पीएचपीमा बनेकाहरूलाई असर पारेको छ । तिनले भर्सन अपडेट गर्नुपर्ने भए गरेका छन् र नगरेकाले सटडाउन गरेका छन् ।
नबिलको प्रमुख वेबसाइटहरू अपडेट गरेर पुन: सुरु गरिसकिएको, अनलाइन सर्भिसमा पनि कुनै अवरोध नरहेको र बैंकिङ सिस्टममा कुनै समस्या नरहेको उनले जानकारी दिए ।
‘यो जोखिम पहिचान भइसकेपछि अपडेट गरेनौं भने ह्याकरले भोलि कन्ट्रोलमा लिन सक्छ र संवेदनशील सूचना चोर्न सक्छ भन्ने हो, अहिले नै कुनै संस्थालाई जोखिममा पारिसकेको वा कसैको डेटा लिक गरिसकेको भन्ने होइन,’ पौडेलले भने, ‘तर, विश्वव्यापी रूपमा नै यो समस्या आइसकेपछि नेपालका बैंकहरू पनि समयमै सतर्क भएर वेबसाइट अपडेट गर्न वा नगरुन्जेल डाउन गरेर बसेका छन् ।’

पीएचपी के हो र यसले किन विश्वव्यापी साइबर सुरक्षामा मच्चायो खैलाबैला ?
एक दशकभन्दा बढी समयदेखि इन्टरनेटको ठूलो हिस्सा धानेको प्रविधिमा रहेको गम्भीर त्रुटि पत्ता लाग्न सकेको थिएन । आर्टिफिसियल इन्टिलिजेन्स (एआई) को मद्दतले यसलाई बाहिर ल्याएपछि विश्वव्यापी रूपमा साइबर सुरक्षा सतर्कता अपनाइएको छ ।
यो जोखिम ‘पीएचपी’ नामक प्रोग्रामिङ भाषामा रहेको छ, जुन सन् २००० को दशकदेखि अन्तर्राष्ट्रिय स्तरमा वेबसाइट बनाउन प्रयोग हुँदै आएको छ । विश्वभरिका सरकार र साइबर सुरक्षा निकायहरू बुधबार यो तथ्य बाहिरिएपछिको सम्भावित असर नियन्त्रण गर्न जुटेका छन् ।
उनीहरूले वेबसाइट सञ्चालकहरूलाई नयाँ आपत्कालीन ‘फिक्स’ (अपडेट) इन्स्टल गर्न वा आफ्ना प्ल्याटफर्महरू अफलाइन राख्न आग्रह गरेका छन् ।
साइबर सुरक्षा कम्पनी विजका अनुसन्धानकर्ताहरूले यो जोखिम पत्ता लगाएका थिए । उनीहरूले यसलाई एआईद्वारा पत्ता लगाइएको हालसम्मकै सबैभन्दा गम्भीर त्रुटि भनेका छन् । जोखिम पत्ता लगाउन प्रविधि प्रयोग गरिएको कम्पनी ओपनएआईले यसलाई पछिल्लो समयको सबैभन्दा प्रभावकारी सुरक्षा समस्या भनेको छ ।
त्रुटि के हो ?
धेरैले पीएचपी (हाइपरटेक्ट्स प्रिप्रोसेसर) को नाम नसुनेका हुन सक्छन्, तर उनीहरूले पक्कै पनि दैनिक रूपमा यसको प्रयोग गरिरहेका हुन्छन् । अनलाइन शप, विकिपिडिया र वर्डप्रेस लगायत ठूलो संख्याका प्ल्याटफर्महरू पीएचपीबाटै चल्छन् ।
बीबीसीसँग कुरा गर्दै गोरिल्ला साइबर सेक्युरिटीका प्रमुख कार्यकारी पल स्पेनले भने, ‘जब तपाईं विकिपिडिया जस्तो वेबसाइट भिजिट गर्नुहुन्छ, पीएचपी नै त्यो कोड हो जसले तपाईंलाई आवश्यक जानकारी संकलन गर्छ र तपाईंले पढ्न सक्ने गरी वेबमा प्रस्तुत गर्छ ।’
तर, यसमा रहेको त्रुटिका कारण आक्रमणकारीहरूले अथेन्टिकेसन विनै प्रभावित वेब सर्भरहरूलाई नियन्त्रणमा लिन र संवेदनशील डाटाहरू चोर्न सक्छन्, जसले गर्दा पीएचपीमा बनेका सबै कुरा जोखिममा परेका छन् ।
एआईले यस्ता आक्रमणहरूलाई अझ सजिलो र छिटो बनाउन सक्ने बताउँदै स्पेनले यो त्रुटिले लाखौंलाख वेबसाइटलाई असर गर्न सक्ने अनुमान गरे ।
युनिभर्सिटी अफ एडिलेडकी साइबर सुरक्षा अनुसन्धानकर्ता जिल स्लेले यदि ह्याकर वा कुनै देशले यो त्रुटिलाई हतियारका रूपमा प्रयोग गरेर वेबसाइटबाट निजी डाटा कब्जा गरे त्यो विनाशकारी हुने बताइन् ।
कुन–कुन वेबसाइट भए प्रभावित ?
यो चेतावनीले गेमिङ प्ल्याटफर्मदेखि सरकारी पोर्टल र अनलाइन फोरमहरूसम्म विश्वभरिका सेवा अवरुद्ध गरेको छ । यसमा अनलाइन विश्वकोष विकिपिडिया सञ्चालन गर्ने संस्था ‘विकिमिडिया’ पनि समावेश छ, जसले सावधानी अपनाउँदै आफ्ना केही सिस्टम बन्द गरेको छ ।
फिनल्यान्डको सरकार, एडिनबर्ग काउन्सिल र बीबीसीले आफ्ना साइट र पेजहरू अफलाइन गरेका छन् भने नेदरल्यान्ड्सको साइबर सुरक्षा निकायले पनि आफ्नो वेबसाइट बन्द गरेको छ ।
जेनेभा विश्वविद्यालयको वेबसाइट पनि बुधबार अफलाइन गरिएको थियो । स्कटल्यान्डका काउन्सिल र स्वास्थ्य बोर्ड लगायत कैयौँ सार्वजनिक संस्थाहरूले पनि आफ्ना वेबसाइट अफलाइन गरेका छन् । नेपालमा पनि सरकारी वेबसाइटहरू बन्द छन् ।
केही विशेषज्ञहरूले कम सुरक्षा स्रोतसाधन भएका साना संस्थाहरूका राम्रोसँग मर्मतसम्भार नगरिएका वेबसाइटहरू यसबाट अझ बढी जोखिममा पर्न सक्ने चेतावनी दिएका छन् ।
यूएनएसडब्लु सिड्नीका साइबर सुरक्षा अनुसन्धानकर्ता सलिल कन्हेरेले यसको प्राविधिक विवरण सार्वजनिक भइसकेकाले आगामी हप्ताहरूमा यी त्रुटिको फाइदा उठाउने प्रयास अझ बढ्न सक्ने बताएका छन् ।
त्रुटि सार्वजनिक भएपछि के भयो ?
बुधबार पीएचपी प्ल्याटफर्मका डेभलपरहरूले वर्षौंदेखि आफ्नो सफ्टवेयरमा लुकेर रहेको जोखिमलाई समाधान गर्न ‘प्याच’ (अपडेट) जारी गरेका छन् । कम्पनीले ‘सबै पीएचपी प्रयोगकर्ताहरूलाई तत्काल अपडेट गर्न कडा आग्रह गरिन्छ’ भनेको छ ।
विश्वभरिका अधिकारी र सुरक्षा संस्थाहरूले पनि वेबसाइट सञ्चालकहरूलाई आफ्ना प्ल्याटफर्म सुरक्षित गर्न त्यस्तै चेतावनी दिएका छन् । अमेरिकी राष्ट्रिय सुरक्षा एजेन्सी (एनएसए) ले पीएचपी प्रयोग गर्ने सबै संस्थाहरूलाई तत्काल ‘प्याच’ गर्न नसके आफ्ना सिस्टम अफलाइन राख्न भनेको छ ।
यो त्रुटिले सिस्टमको डाटाबेसको दुरुपयोग गर्न सिधा बाटो दिन सक्ने उसले थपेको छ । ‘यी जोखिमहरू यति गम्भीर छन् कि अमेरिकी सरकारका विभाग र एजेन्सीहरूभरि तत्काल प्याच गर्न आवश्यक छ,’ एजेन्सीले भनेको छ ।
बेलायतको राष्ट्रिय साइबर सुरक्षा केन्द्र (एनसीएससी) ले पनि यस्तै सल्लाह दिँदै संस्थाहरूलाई ‘ह्याकरले इन्स्टल गरेका ब्याकडोर’ जाँच गर्न भनेको छ । युरोपेली संघ र अस्ट्रेलियाका समकक्षी निकायले पनि यस्तै अलर्ट जारी गरेका छन् ।
जापानकी प्रधानमन्त्री सानाए ताकाइचीले मानिसहरूलाई उनीहरूका सार्वजनिक रूपमा उपलब्ध वेबसाइटहरू पीएचपीमा चलेका छन् कि छैनन् भनेर जाँच्न आग्रह गरिन् ।
उनले एक्समा लेखिन्, ‘हामी सबैलाई आज राति नै कदम चाल्न तत्काल आग्रह गर्दछौं, यदि फिक्स प्याच तत्काल लागु गर्न गाह्रो छ भने अस्थायी रूपमा वेबसाइटहरू बन्द गर्ने र यस्तै उपायहरू अपनाउनु जोखिम कम गर्ने प्रभावकारी तरिका हुन सक्छ ।’
मानिसहरूले आफूलाई सुरक्षित राख्न के गर्न सक्छन् ?
वेबसाइट सञ्चालकहरूलाई पीएचपीको पछिल्लो संस्करण मार्फत आफ्ना वेबसाइट सुरक्षित गर्न आग्रह गरिएको छ । अमेरिकी राष्ट्रिय सुरक्षा एजेन्सीले आगामी हप्ताहरूमा ‘उच्च सतर्कता’ अपनाउन र सफ्टवेयर विक्रेताहरूबाट आउने अपडेटहरूलाई नजिकबाट नियाल्न आग्रह गरेको छ ।
एजेन्सीले ‘ती सिस्टमहरूसँग सम्बन्धित प्याचहरू लागु गर्न सतर्कता अपनाउनु सर्वोपरि रहेको’ बताएको छ ।
यसको मुख्य जिम्मेवारी वेबसाइट सञ्चालकहरूमाथि छ, तर प्रयोगकर्ताहरूले पनि प्रभावित सेवाहरूले जारी गर्ने कुनै पनि सुरक्षा सल्लाह (जस्तै पासवर्ड परिवर्तन गर्ने अनुरोध) प्रति सतर्क रहनुपर्ने कन्हेरेले बताए ।
उनले मानिसहरूलाई यस घटनाको प्रचारको फाइदा उठाउँदै आउन सक्ने पिसिङ सन्देशहरूप्रति पनि सचेत रहन चेतावनी दिएका छन् ।
प्रतिक्रिया 4