News Summary
Generated by OK AI. Editorially reviewed.- निर्देशक नवीन चौहानले सिक्किमको युमथाङ उपत्यकाबाट \'कलेजी – ऊनको स्वीटर\' को छायांकन सुरु भएको जानकारी दिए।
१० कार्तिक, काठमाडौं । गत वर्ष रिलिज भएको नेपाली फिल्म ‘ऊनको स्वीटर’ को सिक्वेल ‘कलेजी – ऊनको स्वीटर’ को छायांकन सुरु भएको छ । सिक्किमको युमथाङ उपत्यकाबाट फिल्मको छायांकन शुभारम्भ गरिएको निर्देशक नवीन चौहान जानकारी दिए ।
चौहानका अनुसार सोमबार छायांकनको पहिलो दिन अभिनेता पीयूष मिश्रा र एलेक्स पारसका दृश्यहरू खिचिएको थियो ।
छायांकनको शुभारम्भ अवसरमा सिक्किम फिल्म बोर्डका अध्यक्ष टासी छिरिङ भुटिया, कल्चरल बोर्डका अध्यक्ष सञ्जय दिल्पाली राई, एडीसी, भारतीय सेनाका प्रतिनिधि तथा स्थानीय लामा गुरुहरूको उपस्थिति रहेको चौहानले बताए ।

‘ऊनको स्वीटर’ ले दर्शकको मनमा छोडेका कथा, पात्र र अनुभूतिलाई अझ फराकिलो संसारमा जोड्ने प्रयासका रूपमा ‘कलेजी – ऊनको स्वीटर’ निर्माण गर्न लागिएको निर्देशक चौहानको भनाइ छ ।
नेपाल, दार्जीलिङ, सिक्किम र दिल्लीमा छायांकन गर्ने योजनासहित अघि बढेको फिल्मले ‘ऊनको स्वीटर’ सँग जोडिएका कथा र पात्रलाई नयाँ परिवेशमा विस्तार गर्ने अपेक्षा गरिएको छ।
आर्टमाण्डुको निर्माणमा बन्ने फिल्मको लेखन तथा निर्देशन नवीन चौहानले गर्दैछन् । अभिषेक सुवेदी सहलेखक तथा प्रमुख सहायक निर्देशकका रूपमा छन् भने छायांकनको जिम्मेवारी चिन्तन राजभण्डारीले सम्हालेका छन्। फिल्ममा कोविद बज्रको सङ्गीत रहनेछ।
फिल्ममा विपिन कार्की, मिरुना मगर, पीयूष मिश्रा, एलेक्स पारस, परीक्षा लिम्बू, टेरिया मगर, सुरज तमु, शारदा देवी सिलवाल, भुवन सिंह राई, रुश्मा राईलगायतका कलाकारको अभिनय रहनेछ।
प्रतिक्रिया 4