+
+
Shares

स्थानीय चुनावको तयारीमा जुट्दै दलहरू

स्थानीय तहका जनप्रतिनिधि र प्रदेश सभा निर्वाचनलाई लक्षित गरेर राजनीतिक दलहरूले धमाधम अभियान सुरु गरेका छन् ।

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०८३ कात्तिक ११ गते १८:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्थानीय तह र प्रदेश सभा निर्वाचन नजिकिँदै गर्दा रास्वपा, नेकपा, कांग्रेस र एमालेले चुनावकेन्द्रित अभियान, संगठन सुदृढीकरण र उम्मेदवार तयारी थालेका छन्।
  • रास्वपाले क्यान्डिडेट क्लबमार्फत उम्मेदवारका आकांक्षीबाट आवेदन खुलाएको छ र नेतृत्व विकास प्रशिक्षण तथा छनोट प्रक्रिया अघि बढाउने जनाएको छ।
  • नेकपाले मंसिर २५ गतेसम्म जागरण अभियान चलाउने, कांग्रेसले पुस–माघमा प्रारम्भिक उम्मेदवार छनोट टुंग्याउने र एमालेले वडा–पालिका अधिवेशन गर्ने योजना बनाएका छन्।

११ कात्तिक, काठमाडौं । २०७९ मा निर्वाचित स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल २०८४ वैशाख ३० गते र प्रदेश सभा सदस्यहरूको कार्यकाल २०८४ मंसिर ४ गते सकिँदैछ ।

स्थानीय तहका जनप्रतिनिधि र प्रदेश सभा निर्वाचनलाई लक्षित गरेर राजनीतिक दलहरूले धमाधम अभियान सुरु गरेका छन् ।

‘हामीले हाम्रो हिसाबले चुनावको तयारी सुरु गरिसक्यौं,’ सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सहमहामन्त्री निशा डाँगी भन्छिन्, ‘नगरपालिका र गाउँपालिकाको हकमा क्यान्डिडेट क्लब खोलिरहेका छौं ।’

आगामी स्थानीय चुनावमा रास्वपाको तर्फबाट गाउँपालिका र नगरपालिका दुवै तहमा उम्मेदवार बन्न इच्छुकहरूले क्यान्डिडेट क्लबमार्फत आवेदन दिन सक्छन् । गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र सदस्य पदका आकांक्षीका लागि २०८३ भदौ १ गतेदेखि आवेदन खुलाइएको छ ।

नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाका प्रमुख, उपप्रमुख, वडाध्यक्ष तथा वडा सदस्यका आकांक्षीका लागि २०८३ असोज ३० गतेदेखि आवेदन खुलाइएको छ ।

रास्वपाले मोबाइल एपमार्फत आवेदन दिने व्यवस्था गरेको छ ।

आवेदनपछि आकांक्षीहरूले नेतृत्व विकाससम्बन्धी प्रशिक्षण तथा छनोट प्रक्रियाका विभिन्न चरण पार गर्नुपर्ने हुन्छ ।

रास्वपाले एकातिर उम्मेदवारका आकांक्षीसँग आवेदन मागेको छ भने अर्कोतिर ७४ वटा जिल्लामा पुगेर पार्टीको अवस्था अध्ययन गरेको छ ।

‘दशैं अगाडि केन्द्रीय स्तरको नेताहरूसहित ७७ वटै जिल्ला र ७५३ वटै पालिकामा पुग्ने लक्ष्य थियो । तर, डोल्पा, मनाङ र नुवाकोट जिल्लामा स्थगित भएको छ’ डाँगी भन्छिन्, ‘बाँकी जिल्लाका पालिकाहरूको हकमा भुगोलको अवस्था बुझेर साथीहरू फर्किसक्नुभयो । स्थलगत प्रतिवेदन केन्द्रमा पेस गरिसक्नुभयो ।’

उक्त प्रतिवेदन क्यान्डिडेट क्लबमा पुग्ने र क्यान्डिडेट क्लबले स्थलगत प्रतिवेदन समेतको आधारमा उम्मेदवारका आकांक्षीहरूलाई एक ठाउँमा राखेर प्रतिस्प्रर्धामार्फत उम्मेदवार चयन प्रक्रिया अघि बढाउँछ ।’

गाउँ–गाउँ पुग्दा रास्वपाका नेताहरूले आगामी फागुनमै स्थानीय तहको निर्वाचन हुन सक्ने भनेर कार्यकर्तालाई सतर्क गराएका छन् ।

‘निर्वाचन आयोगको तयारी फागुनमै पनि स्थानीय चुनाव हुन सक्ने गरी भएकाले हामीले त्यसआधारमा कार्यकर्तालाई अलर्ट गरेका हौं,’ सहमहामन्त्री डाँगी भन्छिन्, ‘चुनाव कहिले गर्ने भनेर सरकार र निर्वाचन आयोगले मिति तय गर्ने हो । हामीले ढिलो वा छिटो गर्नुपर्छ भनेका छैनौं ।’

रास्वपा जस्तै अन्य दलहरू पनि चुनाव केन्द्रित भएका छन् । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) दुई महिने राष्ट्रिय जागरण अभियानमा छ । आगामी मंसिर २५ गतेसम्म सञ्चालन हुने यो अभियानको एउटा प्रमुख उद्धेश्य स्थानीय चुनाव र प्रदेशको चुनावको तयारी हो ।

कातिक ७ गते अभियानको उद्घाटन गर्दै नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भनेका थिए, ‘सेडुयल निर्धारित भएको देखिँदैन् । तैपनि स्थानीय तह र प्रदेशको निर्वाचन छिट्टै आउँदैछ । त्यसकारण निर्वाचनको तयारीको विषय पनि यो अभियानसँग जोडिएको छ ।

नेकपाका प्रवक्ता प्रकाश ज्वालाका अनुसार अभियानका क्रममा जनतासँग प्रत्यक्ष संवाद हुनेछ । पार्टीका केन्द्रीय नेताहरू गाउँ, वडा र टोल–टोलमा पुगेर किसान, मजदुर, युवा, विद्यार्थी र महिला लगायतका नागरिकहरूसँग प्रत्यक्ष संवाद गर्नेछन् र उनीहरूको आलोचना सुन्नेछन् ।

‘एकातिर हामी पार्टीको आन्तरिक जीवनलाई सुदृढ गर्छौं । पार्टीभित्रका समस्याहरू समाधान गर्छौं, सदस्यता नवीकरण गछौं, सदस्यता बढाउँछौं’ प्रवक्ता ज्वाला भन्छन्, ‘अर्कोतिर जनतासँग भेटेर गूनासा र आलोचना सुन्छौं, आफ्ना कुरा राख्छौं । जनताको माग संकलन गर्छौं, विभिन्न निकायमा पेस गर्छौं र ती माग पूरा गर्न दबाब दिन्छौं । यसले पार्टीलाई सुदृढ र जनतासँग नजिक पुर्‍याउँछ ।’

अभियानका क्रममा सरकारले गरेका गलत गतिविधिबारे खबरदारी गर्ने, महंगी, कालोबजारी, अशान्ति, बेरोजगारीका विषय उठाउने र सरकारी आश्वासनको भण्डाफोर गर्ने नेकपाको उद्धेश्य छ ।

‘यी गतिविधिपछि पार्टीको स्ट्रेन्थ बढ्छ । जनता सरकारको कामबारे सुसुचित हुन्छन्’ प्रवक्ता ज्वाला थप्छन्, ‘चुनावको माहोल बनाउने तरिका यही हो ।’

यसका साथै, नेकपाले अभियानका क्रममा पार्टीका तर्फबाट सम्भावित उम्मेदवारको समेत ख्याल गर्नेछ ।

‘अभियानका क्रममा जनताको बीचमा को लोकप्रिय छ ? कसले जनताको कुरा उठाउँछ ? कुन उम्मेदवार हुँदा जित हासिल गर्न सकिन्छ भनेर एक खालको आँकलन हुन्छ’ ज्वाला भन्छन्, ‘प्रदेश र स्थानीय तहमै बैठक बसेर अभियानबारे समीक्षा हुन्छ । समीक्षासहितको प्रतिवेदन केन्द्रमा पेस हुन्छ । त्यसबारे केन्द्रीय समितिको बैठकमा छलफल हुन्छ र ठोस निचोड सहित पार्टीले चुनावसम्बन्धी थप नीति तय गर्छ ।’

जुट्दैछन् कांग्रेस–एमाले

नेपाली कांग्रेस र नेकपा एमाले आ–आफ्नै तरिकाले स्थानीय चुनावको तयारीमा जुट्दैछन् । कांग्रेस सभापति गगन थापाका अनुसार स्थानीय तहको उम्मेदवार छनोटको प्रारम्भिक प्रक्रिया पुस–माघभित्रै टुंग्याउने तयारी छ ।

‘यो पटक पहिलाको जस्तो निर्वाचनका बेलामा दुई दिनअगाडि, पाँच दिन अगाडि, दुई घण्टा अगाडि टिकट लिने, टिकट बाँड्ने, टिकट खोस्ने, यताबाट लिने, उताबाट दिने हुँदैन,’ २०८३ कातिक ९ गते स्याङ्जामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘उम्मेदवारहरूबारे प्रारम्भिक काम पुस–माघमै टुंग्याउँछौं ।’

थापाका अनुसार तल्लो तहका कार्यकर्ताको डिजिटल मतदानबाट उम्मेदवारको प्रारम्भिक सूची तयार गरिँदैछ ।

‘सूची तयार गरेपछि विभिन्न तह बसेर फाइनल उम्मेदवार बनाउँछौं,’ सभापति थापा भन्छन्, ‘उम्मेदवार बनाउने कुरा हामीले दुई–तीन महिना अगाडि टुंग्याउनुपर्छ ।’

चुनावको तयारी अन्तर्गत कांग्रेसले मंसिर महिनालाई पार्टीको जागरण अभियानको महिना बनाउने योजना बनाएको छ । केन्द्रीय कार्यसमितिको बैठकबाट कार्यकर्तामाझ पुग्ने कार्यक्रम बनाउँदैछ । सभापति थापा थप्छन्, ‘पुस र माघको समयमा हामी चुनाव केन्द्रित कामहरू गर्छौं ।’

कांग्रेसले पुस र माघमा निर्वाचनलक्षित गतिविधि सञ्चालन गर्ने योजना बनाएको छ । निर्वाचनलक्षति गतिविधिका क्रममा कांग्रेसले पार्टीका सबै सांगठनिक संरचनालाई सक्रिय बनाएर परिचालित गर्ने महामन्त्री पौडेलले बताए ।

‘कांग्रेसका जति पनि संगठनात्मक संरचना छन्, ती निर्वाचनमुखी संरचना हुन् । संरचनाहरू निर्वाचनमा आफ्ना उम्मेदवारलाई जिताउनका लागि बनाइएका हुन्,’ उनले भने, ‘निर्वाचनकेन्द्रित अभियानका क्रममा हामी ती संरचनालाई सक्रिय र परिचालित गर्छौं ।’

नेकपा एमाले पनि चुनावकेन्द्रित गतिविधिमै छ । एमालेका प्रचारप्रसार विभाग प्रमुख निरज आचार्यका अनुसार स्थानीय तहको निर्वाचन केन्द्रित कार्य भइराखेका छन् ।

‘चुनावको तयारीका लागि मिसन पार्टी जागरण अभियान चलिरहेको छ । पार्टीका केन्द्रीय नेताहरूलाई प्रत्येक पालिकामा खटाइएको छ’ आचार्य भन्छन्, ‘अभियान अन्तर्गत सदस्यता नवीकरण, सदस्यता विस्तार र स्थानीय निर्वाचनको तयारी लगायतका कार्य भइरहेका छन् ।’

पार्टीलाई चलायमान बनाउन एमालेले मंसिर २ र ३ गते राष्ट्रिय भेला गर्दैछ । उक्त भेलामा प्रदेश कमिटीका पदाधिकारी, जिल्ला कमिटीका पदाधिकारी, पालिका कमिटीका अध्यक्ष, उपाध्यक्ष र अन्य तहका जनप्रतिनिधिसहित ३ हजार ६ सय अगुवा कार्यकर्ता भेला हुने आयोजकले जनाएको छ ।

साथै, एमालेले पार्टीको तल्लो तहसम्म नेतृत्व पुनर्गठन गर्दैछ । संगठन परिचालनलाई तीव्रता दिने गरी वडा र पालिका कमिटीका अधिवेशन गरिँदैछ ।

‘मंसिर २८ गते देशभरकै वडा कमिटी र पुस ४ गते पालिका कमिटीको अधिवेशन हुनेछ’ आचार्यले भने ।

एमालेले २०७८ कात्तिक ६ मा वडा र ९ मा पालिका अधिवेशन गरेर नेतृत्व छानेको थियो । तिनलाई आयोजक कमिटीमा रुपान्तरण गरेर अब अधिवेशन गर्न लागेको हो ।

एमाले प्रचारप्रसार विभाग प्रमुख आचार्य थप्छन्, ‘पालिका र वडा अधिवेशन भनेको पार्टीलाई चलायमान बनाउने सन्दर्भ हो । यसले स्थानीय तहको चुनावका लागि थप माहोल बनाउँछ ।’

चुनाव जुन मितिमा भए पन संविधान र कानुनसम्मत हुनुपर्ने अडानमा रहेको पनि उनी बताउँछन् ।

‘स्थानीय तह र प्रदेशको चुनाव एकै पटक गराउने कुरामा सरकारले अहिलेसम्म केही भनेको छैन’ उनी भन्छन्, ‘हाम्रो चासो संविधानसम्मत हुनुपर्छ । दुइटै निर्वाचनलाई एक ठाउँमा ल्याउन संविधान संशोधन गर्नुपर्छ । नत्र प्रदेशसभा विघटन गर्नुपर्छ । विघटन गर्ने अधिकार संघलाइ छैन । संविधानलाई तोडेर गर्ने कुरा स्वीकार्य हुँदैन ।’

लेखक
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?