News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल प्रिमियर लिगमा बिहीबार जनकपुर बोल्ट्स र काठमान्डु गोर्खाज त्रिवि क्रिकेट मैदानमा दिउँसो १२:३० बजे खेल्दैछन् ।
- जनकपुर पहिलो खेलमा कर्णाली याक्ससँग १९ रनले पराजित भएपछि दोस्रो खेलमा जित निकाल्ने लक्ष्यमा छ ।
- डेभिड वार्नर नआएकाले काठमान्डु गोर्खाजले उपलब्ध विदेशी खेलाडी र नेपाली टोलीसँगै पहिलो खेलमा संयोजन बनाउनुपर्नेछ ।
१२ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत बिहीबारको पहिलो खेलमा जनकपुर बोल्ट्स र काठमान्डु गोर्खाज आमनेसामने हुँदैछन्।
आफ्नो पहिलो खेलमा कर्णाली याक्ससँग पराजित जनकपुर दोस्रो खेलमा जित निकाल्ने लक्ष्यमा छ भने काठमान्डु यस सिजन सुखद सुरुवात गर्न चाहन्छ।
जनकपुरले पहिलो खेलमा १३३ रनको लक्ष्य पछ्याउने क्रममा १९ रनको हार बेहोरेको थियो। ब्याटिङमा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेको जनकपुरले यसपटक सुधारिएको खेल देखाउनुपर्नेछ। कप्तान हर्मीत सिंहले पनि पहिलो खेलपछि ब्याटिङमा कमजोरी रहेको स्वीकार गर्दै आगामी खेलमा सुधार गर्ने बताएका थिए।
यता, काठमान्डु गोर्खाजले यस सिजनका लागि अस्ट्रेलियाका स्टार ब्याटर डेभिड वार्नरसहित तीन अस्ट्रेलियन खेलाडी अनुबन्ध गरेको छ। तर, वार्नर नेपाल आइपुगेका छैनन्। त्यसैले पहिलो खेलमा काठमान्डुको ब्याटिङ संयोजन र विदेशी खेलाडीको प्रदर्शन चासोको विषय हुनेछ।
त्यसैगरी आजबाट नेपालको मौसम बदली भएर वर्षाको पनि सम्भावना रहेकाले यस खेल सुरु भएपछि वर्षाले बिथोल्न सक्छ ।
पछिल्लो लय र हेड टु हेड
जनकपुरले प्रतियोगिताको पहिलो खेलमा कर्णालीविरुद्ध ब्याटिङमा संघर्ष गरेको थियो। १३३ रनको लक्ष्य पछ्याउने क्रममा टोली ११३ रनमा समेटिएको थियो। मोइन अली, जिमी नीशम र कुसल परेराजस्ता अनुभवी विदेशी खेलाडी भए पनि जनकपुरले ठूलो साझेदारी बनाउन सकेन।
पाकिस्तान क्रिकेट बोर्डले शर्त राखेर आफ्ना खेलाडीलाई एनपीएल खेल्न रोक लगाएपछि जनकपुरले अन्तिम समयमा टोलीमा फेरबदल गर्नुपरेको थियो। त्यसपछि टोलीले परवेज हसन इमोन र सेफ हसनलाई अनुबन्ध गरेको छ। नयाँ खेलाडीको आगमनले ब्याटिङमा कस्तो प्रभाव पार्छ भन्ने पनि हेर्न बाँकी छ।
काठमान्डुले भने यस सिजन पहिलो खेल खेल्न लागेको हो। राष्ट्रिय टोलीका अनुभवी खेलाडी र युवा प्रतिभाको मिश्रण रहेको टोलीले पहिलो खेलमै आफ्नो क्षमता देखाउन चाहन्छ। डेभिड वार्नरको अनुपस्थितिमा अन्य विदेशी खेलाडीले कस्तो भूमिका निर्वाह गर्छन् भन्ने पनि महत्त्वपूर्ण हुनेछ।
हेड टु हेडमा दुवै टोली बराबरीमा छन्। एनपीएलका अघिल्ला दुई संस्करणमा जनकपुर र काठमान्डुबीच दुई खेल भएका थिए। सन् २०२४ मा जनकपुर पाँच विकेटले विजयी भएको थियो भने २०२५ मा काठमान्डुले पाँच विकेटकै जित निकालेको थियो।
त्यसैले यसपटकको भेटमा दुवै टोलीसँग एकअर्काविरुद्ध अग्रता लिने अवसर हुनेछ।
टिम कम्बिनेसन र सम्भावित ११
जनकपुरको पहिलो खेलमा कप्तान हर्मीत सिंहसँगै मोइन अली, जिमी नीशम र कुसल परेराले खेलेका थिए। पाकिस्तानका इफ्तिखार अहमद र हुसेन शाह टोलीमा रहे पनि पहिलो खेलमा खेलेका थिएनन्। उनीहरूको स्थाानमा नयाँ दुई खेलाडी उपलब्ध भएसँगै जनकपुरको टोली संयोजनमा विकल्प बढेका छन्।
जनकपुरले नयाँ अनुबन्ध गरेका परवेज हसन इमोन र सेफ हसनले आजै मैदान उत्रिन्छन् वा उत्रिँदैनन् भन्ने निश्चित छैन। पहिलो खेलमा तृतराज दास र अनिल साहले उल्लेख्य योगदान दिन सकेका थिएनन् भने मयन यादवले केही आक्रामक सट खेलेका थिए। त्यसैले शीर्षक्रममा तत्कालै ठूलो परिवर्तन हुने सम्भावना कम देखिन्छ।
डेब्यूमा आइकोनिक खेलाडी राहुल यादवले उत्कृष्ट प्रदर्शन गरेका थिए । उनी त्यो लयलाई निरन्तरता दिने लक्ष्यमा हुनेछन् ।
जनकपुरको सम्भावित ११: तृतराज दास, मयन यादव, अनिल साह, मोइन अली, कुसल परेरा, हर्मीत सिंह, जिमी नीशम, इफ्तिखार अहमद, हुसेन शाह, ललित राजवंशी र राहुल यादव
काठमान्डु गोर्खाजको टोलीमा युवा खेलाडीदेखि राष्ट्रिय टोलीका अनुभवी खेलाडीसम्म छन्। सबैभन्दा कम उमेरका खेलाडीमध्येका प्रसिद्ध जैसीदेखि अनुभवी अलराउन्डर करण केसीसम्म टोलीमा छन्। राशिद खान, भीम सार्की र आदिल आलम पनि पहिलो प्राथमिकतामा पर्न सक्छन्। सोनु देवकोटाले पनि मौका पाउने सम्भावना छ।
विदेशी खेलाडीमा अमेरिकाका स्मित पटेल, विल बोसिस्टो, भारतका केएस भरत र श्रीलंकाका सहान अराचिगेलाई खेलाउने सम्भावना छ। वार्नर नआइपुगेकाले काठमान्डुले उपलब्ध खेलाडीबाटै बलियो संयोजन बनाउनुपर्नेछ। स्मितले शीर्षक्रममा आक्रामक सुरुवात दिलाउन सक्छन् भने केएस भरतले विकेटकिपिङसँगै ब्याटिङको जिम्मेवारी सम्हाल्न सक्छन्।
काठमान्डुको सम्भावित ११: स्मित पटेल, केएस भरत, भीम सार्की, राशिद खान, आदिल आलम, विल बोसिस्टो, सहान अराचिगे, सोनु देवकोटा, प्रसिद्ध जैसी, करण केसी र शाहब आलम
प्लेयर्स टु वाच
हर्मीत सिंह (जनकपुर बोल्ट्स) : जनकपुरका कप्तान हर्मीत ब्याटिङ र बलिङ दुवैबाट खेलको दिशा बदल्न सक्ने अलराउन्डर हुन्। पहिलो खेलमा टोलीको ब्याटिङ कमजोर रहेकाले उनीबाट जिम्मेवार इनिङको अपेक्षा हुनेछ। बलिङमा पनि विकेट निकाल्न सक्ने क्षमता भएका हर्मीतले काठमान्डुको मध्यक्रमलाई दबाबमा राख्न सक्छन्।
ललित राजवंशी (जनकपुर बोल्ट्स) : नेपालका अनुभवी बायाँहाते स्पिनर ललित राजवंशीको पहिलो खेल अपेक्षाअनुसार हुन सकेन। तर, उनी चाँडै लयमा फर्कन सक्ने खेलाडी हुन्। काठमान्डुको टोलीमा धेरै दायाँहाते ब्याटर रहेकाले ललितको स्पिन बलिङ महत्त्वपूर्ण हुन सक्छ। सही समयमा विकेट निकाल्न सके उनले जनकपुरलाई खेलमा बलियो अवस्थामा पुर्याउन सक्छन्।
स्मित पटेल (काठमान्डु गोर्खाज) : अमेरिकाका ब्याटर स्मित पटेल काठमान्डुका लागि शीर्षक्रममा महत्त्वपूर्ण विकल्प हुन्। उनले ओपनिङ गर्दै पावरप्लेमा आक्रामक ब्याटिङ गर्न सके टोलीलाई राम्रो सुरुवात दिलाउन सक्छन्। वार्नरको अनुपस्थितिमा स्मितको भूमिका अझ महत्त्वपूर्ण हुनेछ।
करण केसी (काठमान्डु गोर्खाज) : नेपाली राष्ट्रिय टोलीका अनुभवी अलराउन्डर करण केसी काठमान्डुका प्रमुख खेलाडी हुन्। नयाँ बलमा विकेट निकाल्न सक्ने र तल्लोक्रममा छिटो रन बनाउन सक्ने उनको क्षमताले टोलीलाई सन्तुलन दिन्छ। घरेलु मैदानको पिच र परिस्थितिसँग परिचित करणको अनुभव काठमान्डुका लागि उपयोगी हुन सक्छ।
***
खेल : जनकपुर बोल्ट्स भर्सेस् काठमान्डु गोर्खाज
मिति र समय : १२ कात्तिक, दिउँसो १२:३० बजे
स्थान : त्रिवि क्रिकेट मैदान
मौसम : बादल, वर्षाको सम्भावना
प्रतिक्रिया 4