+
+
Shares

बद्रीनाथबाट फर्किँदै गरेको हेलिकप्टर जोशीमठ नजिकै दुर्घटनाग्रस्त, पाइलटसहित ६ जना सवार

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १३ गते १५:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बद्रीनाथबाट देहरादुनतर्फ उडेको ट्रान्स भारत एभिएसनको हेलिकप्टर शुक्रबार जोशीमठ नजिक खराब मौसमका कारण दुर्घटनाग्रस्त भएको छ।
  • उक्त हेलिकप्टरमा ५ तीर्थयात्री र १ पाइलटसहित ६ जना सवार थिए, र उडानपछि सञ्चार विच्छेद तथा लोकेसन हराएको थियो।
  • दुर्घटनापछि राज्य विपद् प्रतिक्रिया बल, प्रहरी र प्रशासनको टोली उद्धारमा खटिएको छ भने शनिबारका लागि हेलिकप्टर सेवा स्थगित गरिएको छ।

१३ कात्तिक, काठमाडौं । उत्तराखण्डको बद्रीनाथ धामबाट देहरादुनको सहस्रधाराका लागि उडेको एउटा हेलिकप्टर शुक्रबार खराब मौसमका कारण जोशीमठ नजिकै दुर्घटनाग्रस्त भएको छ।

भारतीय सञ्चार माध्यमहरूका अनुसार, ट्रान्स भारत एभिएसन प्रालिद्वारा सञ्चालित उक्त हेलिकप्टरमा ५ जना तीर्थयात्री र एक पाइलट गरी कुल ६ जना सवार थिए।

उत्तराखण्ड नागरिक उड्डयन विकास प्राधिकरणका अनुसार, कल साइन भीटी–एचसीएक्स भएको हेलिकप्टरले दिउँसो करिब १:१४ बजे उडान भरेको थियो। जोशीमठ उपत्यकाको आकाशमा उड्दै गर्दा सञ्चार विच्छेद भएको र र्ट्याकिङ सिस्टमबाट पनि यसको लोकेसन हराएको थियो।

मुख्यमन्त्री पुष्करसिंह धामी र सेनाले दुर्घटनाको पुष्टि गरेका छन्। चमोली जिल्लाका विपद् व्यवस्थापन अधिकारी नन्दकिशोर जोशीका अनुसार, ज्योतिर्मठ अन्तर्गत पर्ने मारवाडी क्षेत्रको चाई गाउँ नजिकैको पहाडमा हेलिकप्टर सम्पर्कविहीन भएको थियो।

स्थानीयले जेपी ड्याममाथिको जङ्गलमा सेतो रङको कुनै वस्तुमा आगो लागेको सूचना दिएका थिए। यसको जाँच गर्न अन्य हेलिकप्टरहरू पठाइएको छ।

दुर्घटनाको खबर प्राप्त हुनासाथ राज्य विपद् प्रतिक्रिया बल, प्रहरी र जिल्ला प्रशासनको टोली परिचालन गरिएको छ। उद्धार टोली पहाडतर्फ उक्लिरहेको र खोजी कार्य तीव्र पारिएको अधिकारीहरूले बताएका छन्।

मुख्यमन्त्री धामीले जिल्ला प्रशासन, विपद् व्यवस्थापन र एसडीआरएफको संयुक्त टोलीको उद्धार कार्यलाई नजिकबाट अनुगमन गरिरहेको बताएका छन्।

खराब मौसमलाई नै दुर्घटनाको मुख्य कारण मानिएको छ र शनिबारका लागि त्यस क्षेत्रको हेलिकप्टर सेवा स्थगित गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?