News Summary
Generated by OK AI. Editorially reviewed.- भुटानमा आर्थिक विकासका लागि गेलेफु माइन्डफुलनेस सिटी निर्माणको तयारीस्वरूप आइतबार ४० हजारभन्दा बढी स्वयंसेवकले १०८ वटा बौद्ध स्तुप बनाएका छन्।
- भारतसँगको सीमा नजिक १२ किलोमिटर क्षेत्रमा बनेका प्रत्येक स्तुप १५ मिटर अग्ला छन्, र अधिकारीहरूले यसलाई ‘प्रार्थनाको भौतिक रूप’ भनेका छन्।
- भुटानले सहरमार्फत रोजगारी, लगानी र युवालाई स्वदेशमै बस्न प्रोत्साहित गर्ने लक्ष्य राखेको छ, जसको अनुमानित लागत दुई करोड १० लाख अमेरिकी डलर रहेको छ।
१५ कात्तिक, गेलेफु (रासस/एएफपी)। आर्थिक विकासलाई गति दिने उद्देश्यले ‘माइन्डफुलनेस सिटी’ निर्माण गर्ने महत्वाकांक्षी योजनाअन्तर्गत भुटानमा आइतबार ४० हजारभन्दा बढी स्वयंसेवकले १०८ वटा बौद्ध स्तुप निर्माण गरेका छन् ।
भारतसँगको सीमा नजिकै नदी किनारमा १२ किलोमिटर लामो क्षेत्रमा निर्माण गरिएका ती स्तुप प्रत्येक १५ मिटर अग्ला छन् । हिमालय क्षेत्रमा पाइने पवित्र बौद्ध स्मारकका रूपमा रहेका यी संरचना भविष्यमा निर्माण हुने गेलेफु माइन्डफुलनेस सिटीको क्षेत्रमा अवस्थित छन् ।
अधिकारीका अनुसार स्वयंसेवकहरूले मध्यरातपछि निर्माण कार्य सुरु गरी एकै दिनमा सबै १०८ स्तुप निर्माण गरेका हुन् । उनीहरूले यस कार्यलाई ‘प्रार्थनाको भौतिक रूप’का रूपमा व्याख्या गरेका छन् ।
चीन र भारतको बीचमा रहेको भूपरिवेष्टित भुटानको जनसङ्ख्या करिब आठ लाख छ । आर्थिक विकाससँगै ‘कुल राष्ट्रिय खुसी’लाई प्राथमिकता दिने नीतिका कारण भुटान परिचित छ ।
नयाँ सहर निर्माणमार्फत अर्थतन्त्रलाई गति दिने र रोजगारीका अवसर सिर्जना गरी युवालाई स्वदेशमै बस्न प्रोत्साहित गर्ने भुटानको लक्ष्य छ । यसका साथै दिगो व्यवसाय, हरित प्रविधि, शिक्षा, पर्यटन तथा वित्तीय सेवाका क्षेत्रमा लगानी आकर्षित गर्ने अपेक्षा गरिएको छ ।
भुटानका राजा जिग्मे खेसर नामग्याल वाङचुकले सन् २०२४ मा शाही आदेशमार्फत यस विशेष क्षेत्रको स्थापना गरेका थिए । उनले यसको उद्देश्य जीवन्त आर्थिक केन्द्र निर्माण गर्नु रहेको बताएका थिए।
भुटान अहिले घट्दो जन्मदर र रोजगारी तथा अन्य अवसरको खोजीमा विदेशिने युवाको समस्यासँग जुधिरहेको छ ।
युवालाई रोजगारी पाउन सहयोग गर्ने संस्था ‘अर्गनाइजेसन फर युथ एम्पावरमेन्ट’का प्रमुख ६५ वर्षीय निमा ग्याल्चेनले यस घटनालाई भुटानको इतिहासमा भावी पुस्ताले समेत स्मरण गर्ने बताए।
सन् २०१७ को पछिल्लो जनगणनाअनुसार गेलेफु सहरको जनसङ्ख्या १० हजारभन्दा कम छ ।
आयोजकहरूका अनुसार बौद्ध परम्परामा विशेष महत्व राख्ने यी १०८ स्तुपको कुल उचाइ इजिप्टको गिजास्थित ग्रेट पिरामिडको उचाइभन्दा १० गुणा बढी छ । परियोजनाको अनुमानित लागत दुई करोड १० लाख अमेरिकी डलर रहेको छ । यद्यपि, भुटानले आफ्नो महत्वाकांक्षी योजना साकार पार्न आवश्यक लगानी जुटाउन सक्नेमा विश्लेषकहरूले प्रश्न उठाएका छन् ।
यसैबीच, भारतीय अर्बपति गौतम अदानीको नेतृत्वमा रहेको अदानी समूह गत जनवरीमा गेलेफु माइन्डफुलनेस सिटीको संस्थापक सदस्यका रूपमा जोडिएको थियो ।
यो सहर छिमेकी भारतीय राज्य आसामको रेल सञ्जालसँग जोडिनेछ । साथै, सन् २०२९ मा यहाँ अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ ।
यो परियोजना भुटानको क्रिप्टोकरेन्सीसम्बन्धी महत्वाकांक्षासँग पनि जोडिएको छ । भुटानले आफ्नो अतिरिक्त जलविद्युत् प्रयोग गरी बिटक्वाइन उत्खनन गर्दै आएको छ । साथै, सहरको विकासमा डिजिटल सम्पत्तिको उपयोग गर्ने योजना बनाएको छ ।
आइतबारको समारोहमा सहभागी स्थानीय बासिन्दा ५६ वर्षीया बिष्णु माया मोक्ताङले प्रस्तावित सहरको विकास हेर्न आफू उत्साहित रहेको बताए।
‘म यो सहर हेर्न पाउने गरी लामो समयसम्म बाँच्ने आशा गर्छु’ उनले एएफपीसँग भने, ‘मेरा आमाबुबा सानै उमेरमा बित्नुभयो । उहाँहरूले यो सहर कहिल्यै देख्न पाउनुभएन । आफूले यो अवसर पाएकोमा म भाग्यशाली महसुस गर्छु ।’
प्रतिक्रिया 4