+
+
Shares

भुटानमा नेपाली पर्यटन प्रवर्द्धन, सहकार्य विस्तार आह्वान

बीआईटीएमले नेपाल-भुटान पर्यटन सहकार्यलाई थप सुदृढ बनाउनेबारे अपेक्षा सरोकारवालाले गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ३१ गते १७:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भुटानको थिम्पुमा नेपालसहित १५ देशका पर्यटन व्यवसायीको सहभागितामा पहिलो पटक ‘भुटान अन्तर्राष्ट्रिय ट्राभल मार्ट’ सुरु भएको छ ।
  • कार्यक्रममा भुटानले नेपाललाई आफ्नो महत्त्वपूर्ण पर्यटन साझेदारका रूपमा प्रस्तुत गर्दै दिगो पर्यटन विकासका लागि क्षेत्रीय सहकार्यमा जोड दिएको छ ।
  • भुटानका उद्योगमन्त्री ल्योन्पो नामग्याल दोर्जीले यो मार्ट भुटानको व्यापक आर्थिक तथा सामाजिक विकास यात्राको महत्त्वपूर्ण कोसेढुङ्गा भएको बताए ।

३१ जेठ, काठमाडौं । नेपाल सहित विभिन्न देशका पर्यटन व्यवसायी, नीति निर्माता र सरोकारवालाको सहभागितामा भुटानमा पहिलो पटक ‘भुटान अन्तर्राष्ट्रिय ट्राभल मार्ट’ (बीआईटीएम–२०२६  आयोजना गरिएको छ ।

यस कार्यक्रमले नेपाल–भुटान पर्यटन सहकार्यलाई थप सुदृढ बनाउनेबारे अपेक्षा सरोकारवालाले गरेका छन् ।

भुटानको उद्योग, वाणिज्य तथा रोजगारी मन्त्रालय अन्तर्गत पर्यटन विभाग र एसोसिएसन अफ भुटानिज टुर अपरेटर्स (एबीटीओ) को संयुक्त आयोजनामा थिम्पुमा सुरु तीन दिने कार्यक्रम उद्घाटन उद्योग, वाणिज्य तथा रोजगारीमन्त्री ल्योन्पो नामग्याल दोर्जीले गरे ।

कार्यक्रममा उनले बीआईटीएम केवल पर्यटन क्षेत्रको कार्यक्रम नभई भुटानको व्यापक आर्थिक तथा सामाजिक विकास यात्राको महत्त्वपूर्ण कोसेढुंगा भएको बताए । उनले पर्यटन मार्फत क्षेत्रीय सहकार्य र साझा समृद्धि लक्ष्य अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा भुटान सरकारको पर्यटन विभागका निर्देशक डाम्छो रिन्जिनले बीआईटीएमलाई सामान्य व्यावसायिक कारोबारको मञ्चका रूपमा मात्र नभई अन्तर्राष्ट्रिय पर्यटन दूत निर्माण गर्ने अवसरका रूपमा लिइएको बताए ।

उनले दिगो पर्यटन विकासका लागि क्षेत्रीय तथा अन्तर्राष्ट्रिय साझेदारी अपरिहार्य रहेको उल्लेख गर्दै नेपाल सहित छिमेकी मुलुकसँग सहकार्य विस्तार गर्नुपर्नेमा उनले जोड दिए ।

‘हामी केवल व्यापारिक सम्झौताका लागिमात्र यहाँ भेला भएका होइनौं, हामी पर्यटनका असल दूत निर्माण गर्न चाहन्छौं,’ निर्देशक रिन्जिनले भने, ‘दिगो पर्यटनको भविष्य साझा सहकार्य, विश्वास र सामूहिक प्रयासबाट मात्र सम्भव छ ।’

नेपालका पर्यटन व्यवसायी तथा प्रतिनिधिहरूको सहभागिता रहेको कार्यक्रममा भुटानले नेपाललाई आफ्नो महत्त्वपूर्ण पर्यटन साझेदारका रूपमा प्रस्तुत गरेको छ । जसमा नेपाल सहित भारत, थाइल्यान्ड, सिंगापुर, चीन, संयुक्त अरब इमिरेट्स, बंगलादेश, जापान, जर्मनी, क्यानडा, स्पेन लगायत करिब १५ देशका २ सयभन्दा बढी अन्तर्राष्ट्रिय खरिदकर्ता (बायर) सहभागी छन् ।

भुटानले उच्च मूल्य र न्यून संख्यामा पर्यटक भित्र्याउन आफ्नो दीर्घकालीन पर्यटन नीतिलाई अन्तर्राष्ट्रिय बजारमा थप सशक्त रूपमा प्रवर्द्धन गर्ने उद्देश्यले बीआईटीएम आयोजना गरेको जनाएको छ ।

कार्यक्रममा ५० भन्दा बढी पर्यटन प्रदर्शक, होटल व्यवसायी, टुर अपरेटर, वायुसेवा कम्पनी तथा हेलिकप्टर सेवा प्रदायक सहभागी छन् ।

बीआईटीएम–२०२६ मा भुटानले आफ्नो महत्त्वाकांक्षी ‘गेलेफु माइन्डफुलनेस सिटी’, वाङ्दुचोलिङ दरबार संग्र्रहालय, डिन्चेङगाङ पुनर्जननशील गाउँ तथा अन्तर्राष्ट्रिय रूपमा चर्चित ‘स्नोम्यान रेस’ जस्ता परियोजनालाई विशेष रूपमा प्रस्तुत गरेको छ । साथै, कम पर्यटक पुग्ने ११ वटा जोंगखाग (जिल्ला) का पर्यटन सम्भावनालाई पनि अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गरिएको छ ।

भुटान अन्तर्राष्ट्रिय ट्राभल मार्टलाई आगामी वर्षहरूमा नियमित वार्षिक कार्यक्रमका रूपमा विकास गरिने पनि आयोजकले जानकारी गराएको छ । यसले भुटानलाई उच्चस्तरीय अन्तर्राष्ट्रिय पर्यटन गन्तव्यका रूपमा स्थापित गर्नुका साथै स्थानीय समुदाय र व्यवसायलाई प्रत्यक्ष आर्थिक लाभ पुर्‍याउने अपेक्षा गरिएको छ ।

नेपाली पर्यटन व्यवसायीका लागि समेत यो कार्यक्रम महत्त्वपूर्ण मानिएको छ । हिमाली पर्यटन, आध्यात्मिक यात्रा, साहसिक पर्यटन तथा दिगो पर्यटन व्यवस्थापनका क्षेत्रमा नेपाल र भुटानबीच अनुभव आदानप्रदान तथा संयुक्त प्रवर्द्धनका सम्भावना बढ्दै गएको विषयमा पनि नेपाली पर्यटन व्यवसायीले जानकारी गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?