+
+
Shares

केही न्यायाधीशलाई महाभियोग लगाएर न्यायालयको विकृति अन्त्य हुँदैन : ओली

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १६ गते १५:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राप्रपा प्रमुख सचेतक खुश्बु ओलीले न्यायालयका विकृति अन्त्य गर्न पुनःसंरचना आवश्यक रहेको बताउँदै सरकारले यसमा गम्भीर हुनुपर्ने आग्रह गरिन्।
  • उनले सर्वोच्चका न्यायाधीश र प्रधानन्यायाधीशको नाम जोडिएका सार्वजनिक घटनाले न्यायालयप्रति सर्वसाधारणको विश्वास कमजोर भएको बताइन्।
  • ओलीले न्यायालयको विषय संसदमा गम्भीर बहसको विषय बनाउन र यथाशिघ्र संसद आह्वान गर्न माग गरिन्।

१६ कात्तिक, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुश्बु ओलीले न्यायालयमा देखिएका विकृति र विसङ्गति अन्त्य गर्न न्यायालयको पुन:संरचना आवश्यक रहेको बताएकी छिन् ।

सोमबार नेपाली कांग्रेसको आह्वानमा सिंहदरबारमा बसेको प्रतिपक्षी दलहरूको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् ।

उनले सर्वोच्चका न्यायाधीश तथा प्रधानन्यायाधीशको समेत नाम जोडर सार्वजनिक भएका घटनाहरूले न्यायालयप्रति सर्वसाधारणको विश्वास कमजोर भएको बताइन् ।

एक–दुई जना व्यक्तिमाथि महाभियोग लगाउँदैमा न्यायालयको समग्र सुधार सम्भव नहुने भन्दै उनले न्यायालयको पुन:संरचनामा सरकार गम्भीर हुनुपर्ने पनि बताइन् ।

‘न्यायालयमा जुन किसिमको घटना बाहिर सार्वजनिक भएको छ त्यो अत्यन्त चिन्ताको विषय पनि हो । आम सर्वसाधारणले अन्य प्रशासनिक निकायलाई विश्वास नगरे पनि न्यायालयलाई विश्वास गरिराखेका हुन्छन् । त्यसकारण न्यायालयमा व्यापक सुधारको आवश्यकता छ । एक–दुई जना व्यक्तिहरूमा महाभियोग लागेर मात्र यो पूर्ण रुपमा सुधार  हुँदैन,’ उनले भनिन् ।

साथै, उनले न्यायालयको विषयलाई संसदमा गम्भीर बहसको विषय बनाउनुपर्ने भन्दै यथाशिघ्र संसद आह्वान गर्न समेत माग गरिन् ।

‘यद्यपि छानबिनको क्रममा प्रमाणहरू कस्तो देखाउँछ, त्यसपछि आधिकारिक धारणा राष्ट्रिय प्रजातन्त्र पार्टीले बनाउने छ । र अहिले चाहीँ हामीलाई के लाग्छ भने न्यायालयमा जुन किसिमको एउटा विकृति हामीले अनुभव गरिराखेका छौं, त्यसलाई हामीले व्यापक रूपमा सुधार गरेर न्यायालयको  पुनर्गठनमा नै जानुपर्नेछ,’ उनले भनिन् ।

उनले प्रहरी र सरकारबीचको सम्बन्ध, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतमा दिएको अभिव्यक्ति लगायतका कुराहरू संसदमा छलफल गर्नुपर्ने समेत बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?