+
+
Shares

सूर्यविनायक-धुलिखेल सडक आयोजना निर्माण तीव्र बनाउन निर्देशन

सूर्यविनायक-धुलिखेल सडक निर्माण कार्यलाई प्रभावकारी बनाउन र देखिएका अवरोध हटाउन विभिन्न निर्णय गरिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १६ गते १७:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पूर्वाधार विकास समिति र सांसदहरूले सूर्यविनायक–धुलिखेल सडक आयोजना निर्माण तीव्र बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।
  • बैठकले भक्तपुर, सूर्यविनायक र बनेपामा विद्युत् पोल सार्ने, घर तथा संरचना हटाउने र इन्टरसेक्सनसम्बन्धी अवरोध तत्काल समाधान गर्न भनेको छ ।
  • जगती, महादेव खोला र पुण्यमाता पुलको भौतिक प्रगति १२ प्रतिशत मात्र भएको छ भने सूर्यविनायक–साँगा ५३ र साँगा–धुलिखेल ७४ प्रतिशत कार्य सम्पन्न भएको छ ।

१६ कात्तिक, काठमाडौं । पूर्वाधार विकास समिति र सांसदहरूले सूर्यविनायक–धुलिखेल सडक निर्माण तीव्र बनाउन निर्देशन दिएका छन् ।

सोमबार पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलको संयोजकत्वमा सूर्यविनायक-धुलिखेल सडक आयोजनाका पदाधिकारीहरूसँग छलफल भएको छ ।

बैठकमा काभ्रे-२ का सांसद बदनकुमार भण्डारी, भक्तपुर-१ का सांसद रुकेस रञ्जित र सूर्यविनायक-धुलिखेल सडक आयोजनाका आयोजना प्रमुख विजयकुमार महतो उपस्थित थिए ।

बैठकमा प्राप्त सुझाव तथा जानकारी मध्यनजर गर्दै सडक निर्माण कार्यलाई प्रभावकारी बनाउन र देखिएका अवरोध हटाउन विभिन्न निर्णय गरिएको छ ।

आजको बैठकले सूर्यविनायक-धुलिखेल सडक आयोजना निर्माण कार्यका क्रममा भक्तपुर, सूर्यविनायक तथा बनेपा क्षेत्रमा देखिएका विद्युत् पोल सार्ने, सडक सीमाभित्रका घर तथा संरचना हटाउने र अत्यधिक चारबाटो (इन्टरसेक्सन) माग लगायत समस्या तथा अवरोध तत्काल पहिचान गरी सम्बन्धित निर्माण व्यवसायी, आयोजना कार्यालय र सरोकारवाला निकायबीच आवश्यक समन्वय र सहजीकरण गरी शीघ्र समाधान गर्ने निर्णय गरिएको छ ।

यसैगरी बनेपा बजार क्षेत्रका विभिन्न इन्टरसेक्सन तथा पुल निर्माण कार्य उच्च प्राथमिकता साथ अगाडि बढाइ आयोजना निर्माण कार्यलाई तीव्रता दिने तथा नियमित अनुगमन र समन्वय मार्फत तोकिएको समयसीमाभित्र गुणस्तरीय रूपमा सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको छ ।

सम्झौता अनुसार समयसीमामा निर्माण कार्य सम्पन्न नभएर म्याद थप हुँदासमेत सूर्यविनायक-धुलिखेल सडक आयोजनाको जगती पुल, महादेव खोला पुल लगायत पुण्यमाता पुलको भौतिक प्रगति १२ प्रतिशतमात्र भएको छ ।

सूर्यविनायक-साँगा सडकखण्डको ५३ प्रतिशत र साँगा-धुलिखेल सडकखण्डको ७४ प्रतिशत कार्य सम्पन्न भएको छ । बाँकी निर्माणका कार्य तोकिएकै अवधिमै सम्पन्न गर्न सम्बन्धित निकायले प्रतिबद्धता जनाउनुपर्ने निर्देशन बैठकले दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?