News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका नेता नैनसिंह महरले न्यायपालिकाको स्वतन्त्रता र राज्यका प्रमुख संस्थाहरूको विश्वसनीयतामाथि कुनै पनि हस्तक्षेप स्वीकार्य नहुने बताएका छन्।
- उनले विशेष सेटिङका कारण न्यायपालिकासहित राज्यका प्रमुख संस्थाहरू विवादमा परेको समाचारले गम्भीर प्रश्न खडा गरेको उल्लेख गरेका छन्।
- महरले बाहिर आएका विषयमा निष्पक्ष छानबिन गरी दोषी देखिएकामाथि कानुनी कारबाही गर्नुपर्नेमा जोड दिएका छन्।
१७ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका नेता नैनसिंह महरले न्यायपालिकाको स्वतन्त्रता र राज्यका प्रमुख संस्थाहरूको विश्वसनीयतामाथि कुनै पनि प्रकारको हस्तक्षेप स्वीकार्य नहुने बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै उनले पछिल्लो समय विशेष सेटिङका कारण न्यायपालिकासहित राज्यका प्रमुख संस्थाहरू विवादमा परेको भन्ने समाचारले गम्भीर प्रश्न खडा गरेको बताएका हुन् ।
नेता महरले कांग्रेस कानुनी राज्य र विधिको शासनमा विश्वास गर्ने पार्टी भएको उल्लेख गर्दै न्यायपालिकाको स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ भएको स्मरण गरेका छन् ।
कुनै व्यक्ति वा समूहको स्वार्थपूर्तिका लागि सिङ्गो न्यायपालिकालाई बदनाम गर्ने प्रयासले राज्यलाई कमजोर बनाउने उनको भनाइ छ ।
‘कुनै व्यक्ति वा प्रवृत्तिको स्वार्थका लागि सिङ्गो न्यायपालिकालाई बदनाम गर्ने चलखेल गरियो भने त्यसले राष्ट्रिय शक्तिलाई कमजोर पार्दै अराजकता र षड्यन्त्रलाई नै बल पुर्याउनेछ,’ महरले भनेका छन् ।
यद्यपि, न्यायपालिकाको स्वतन्त्रताको नाममा संस्थाभित्र उठेका गम्भीर प्रश्नहरूलाई बेवास्ता गर्न नहुने उनको भनाइ छ । बाहिर आएका विषयमा निष्पक्ष छानबिन गरी दोषी देखिएकामाथि कानुनी कारबाही गर्नुपर्नेमा नेता महरको जोड छ ।
महरले बलियो राज्य निर्माणका लागि शक्तिशाली सरकार मात्र पर्याप्त नहुने बताएका छन् । सरकार परिवर्तन भइरहने राजनीतिक व्यवस्थामा राज्यका स्थायी संस्थाहरू स्वतन्त्र, सक्षम र जवाफदेही हुनुपर्ने उनको तर्क छ ।
उनका अनुसार कुनै पनि राष्ट्रको सामर्थ्य राष्ट्रिय संस्थाहरूको क्षमता, आर्थिक उन्नति र नागरिकको सबलतामा निर्भर रहन्छ। राजनीतिक स्थिरता, संस्थागत क्षमता, आर्थिक समृद्धि र नागरिकको विश्वास एकअर्काका परिपूरक रहेको उनले उल्लेख गरेका छन् ।
प्रतिक्रिया 4