News Summary
Generated by OK AI. Editorially reviewed.- एकदेव लिम्बुको ‘झिम झिमाउने आँखा’ गीत हिन्दीमा नेहा कक्कर र चिनियाँ भाषामा झाओ लुसीले गाएकी छन्।
- एकदेवले गीत करिब दुई वर्षअघि सार्वजनिक गरेका थिए र पछि भारतीय पक्षसँग हिन्दी भर्सन निकाल्ने सहमति गरेका थिए।
- अहिले एकदेव लिम्बु ‘द भ्वाइस अफ नेपाल सिजन ८’को निर्णायकका रूपमा सार्वजनिक वृत्तमा देखिइरहेका छन्।
एकदेव लिम्बुका गीतको संख्या धेरै छैन । उसो त उनको उमेर पनि कति नै भएको छ र ! तर, उनले संगीतबाट जे प्राप्त गरेका छन्, त्यो लोभलाग्दो छ । दुर्लभ छ ।
एउटा उदाहरण हो, ‘झिम झिमाउने आँखा’ ।
यो उनको सुपरहिट गीत हो । उनी आफैँ यो गीतलाई आफ्नो हकमा भाग्यशाली सिर्जना मान्छन् । उनलाई लाग्छ, कुनै-कुनै कुरा सपना र वास्तविकता दुवैमा जिउन सक्छन् । उनको विचारमा यो गीत सपना, कल्पना र वास्तविकता दुवैमा सुपरहिट छ ।
आजको दिनमा नेपालीबाहेक यो गीत हिन्दी र चिनियाँ भाषामा पनि आइसकेको छ । नेहा कक्करले हिन्दीमा र चिनियाँ अभिनेत्री तथा गायिका झाओ लुसीले चिनियाँ भाषामा गाएकी छन् ।
‘झिम झिमाउने आँखा’ले पाएको सफलता जोकोहीका लागि सपनाको कुरा हो । त्यसमा एकदेव पूर्णतः जिइरहेका छन् । हुन त, पछिल्लो समय नेपाली कलाकारहरूले आफ्ना हिट गीत अन्य भाषामा पनि पुनः निकाल्दै गइरहेका छन् । त्यही लहरको अग्रपङ्क्तिमा पर्ने गायक हुन् एकदेव ।
नेपाली भाषामा उनले यो गीत करिब दुई वर्षअघि निकालेका हुन् । त्यसअघि गीतका केही टुक्का सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए । त्यही छोटो अंशमा भिडियो बनाउने क्रम बढ्दै जाँदा गीत सामाजिक सञ्जालमा भाइरल भयो । पछि त्यसैमा केही शब्द थपेर उनले गीतको पूर्ण स्टुडियो भर्सन निकालेका हुन् ।
अर्कोतिर, गीत रिलिज गरेको केही समयमै उनलाई भारतबाट गीतको सम्पूर्ण अधिकार लिने प्रस्तावसहित फोन आयो । त्यसमा उनले असहमति जनाएनन् । छलफल हुँदै गयो । त्यसपछि ‘झिम झिमाउने आँखा’को हिन्दी भर्सन निकाल्ने सहमति भयो ।
कोसँग सहकार्य गर्न मन छ ?
त्यसपछि एकदेवले सुनेको यो अप्रत्याशित प्रश्न थियो । पछि उनले आफूले सुनिरहेका र्यापरहरूको नाम लिँदै गए । तर, गीतमा अत्यन्तै कोमल स्वर चाहिने भएकाले महिला आवाज नै चाहिने अडान भारतीय पक्षले राख्यो । त्यसपछि नेहा कक्कर र श्रेया घोषालको नाम आयो । तीमध्ये नेहा कक्करको नाम अन्तिम भयो ।
त्यसपछि त उनको लागि इतिहास नै कोरियो । जसरी नेपाली संगीत क्षेत्रमा ‘झिम झिमाउने आँखा, मनै मेरो अल्झेछ, आँखा लोभी मन पापी, भुतुक्कै भएँ म’ भन्दै गीत गुञ्जियो, त्यसरी नै भारतमा पनि यसको लहर चल्यो । भारतका गायन रियालिटी शोहरूमा बज्यो । डिजिटल प्लेटफर्ममा पनि लोकप्रिय बन्यो ।
कुनै समय एकदेवले भित्रैमनदेखि चर्चित र्यापर बादशाहसँग सहकार्य गर्ने सोचेका थिए । बादशाह स्वयंले संगीतको बिट बनाएर पठाउँछु भनेका थिए । तर, त्यो पूरा भएन । यद्यपि, त्यो सहकार्य हुन नसकेकोमा आजकल एकदेवलाई कुनै गुनासो छैन । सबैको आआफ्नै यात्रा हुने कुरामा उनी सहमत छन् । र, यो कुरा उनले आफ्नै यात्राबाट प्रमाणित पनि गरिसकेका छन् ।
अर्कोतिर, सुरुमा उनलाई गीत गाउँदा हिन्दी उच्चारण कस्तो हुन्छ भन्ने डर अलि बढी नै थियो । दर्शकहरूले त्यसलाई स्वीकार गर्छन् कि गर्दैनन् भन्ने कौतूहल थियो । जसै गीत सार्वजनिक भयो, पैसाले किन्न नसकिने सम्बन्धहरू बने । जसलाई सानैदेखि हेर्दै आएका थिए, उनीहरूसँगै सहकार्य गर्ने वातावरण बन्यो । डर सफलतामा बदलियो ।
भाषाका रूपमा उनलाई आफ्नै लिम्बु भाषा प्यारो छ । त्यही प्रेमले उनले आफ्ना केही गीतमा लिम्बु भाषाका शब्द पनि राखिदिए । जसको अर्थ नबुझे पनि उनका दर्शकहरूले ती शब्द गाइदिन्छन् । हिन्दी भाषी दर्शकका हकमा पनि उनी यही अनुभव दोहोर्याउन चाहन्थे । जुन उनले ‘झिम झिमाउने आँखा’मार्फत दोहोर्याए ।
आजकल उनी सांगीतिक रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन ८’को निर्णायकका रूपमा सार्वजनिक वृत्तमा देखिइरहेका छन् ।
उनलाई नजिकबाट चिन्नेहरूलाई थाहा छ, उनी सरप्राइज दिन चाहन्छन् । सायद आफ्नो व्यावसायिक कर्मबाहेक पनि केही सरप्राइजको तयारी गरिरहेका छन् ।
प्रतिक्रिया 4