News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा खटाएर एआईजी मनोज केसीलाई नयाँ प्रहरी महानिरीक्षक बनाएको छ।
- प्रवक्ता सस्मित पोखरेलले यो कारबाही नभई जिम्मेवारीको फेरबदल मात्र भएको जिकिर गरे।
- उनले कार्कीलाई प्रधानमन्त्री कार्यालयमा सुरक्षा सल्लाहकारका रूपमा ल्याइएको र केसीको बढुवा आजैदेखि लागू हुने बताए।
१८ कात्तिक, काठमाडौं । सरकारले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई कारबाही नभई जिम्मेवारी मात्र फेरबदल गरेको जिकिर गरेको छ । मन्त्रिपरिषद बैठकपछि सरकारका प्रवक्ता सस्मित पोखरेलले सो जिकिर गरेका हुन् ।
आजको मन्त्रिपरिषद बैठकले एआईजी मनोज केसीलाई प्रहरी महानिरीक्षक (आईजीपी) बनाउने र कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको रुपमा खटाउने निर्णय गरेको छ ।
प्रवक्ता पोखरेलका अनुसार केसीलाई आजको मितिदेखि नै लागु हुने गरी आईजीमा बढुवा गरिएको छ ।
‘वर्तमान परिस्थितिमा मुलुकको शान्ति सुरक्षाको व्यवस्था सुदृढ गर्नका लागि प्रधानमन्त्रीलाई सुरक्षासम्बन्धी आवश्यक सल्लाह, सुझाव र परामर्श दिन नेपाल प्रहरीको प्रहरी महानिरीक्षकस्तरको प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार पद प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सिर्जना गर्ने,’ बैठकको निर्णय सुनाउँदै प्रवक्ता पोखरेलले भने, ‘बमोजिमको विशेष सुरक्षा सल्लाहकार पदमा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक श्री दान बहादुर कार्कीलाई खटाउने ।’
‘दानबहादुर कार्की प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार पदमा खटिई रिक्त हुने प्रहरी महानिरीक्षक पदमा नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक डा. मनोज कुमार केसीलाई प्रहरी नियमावली, २०७१ को नियम ४१ बमोजिम मिति २०८३ कात्तिक १८ गतेदेखि लागु हुने गरी बढुवा गर्ने,’ उनले भने ।
पत्रकारहरुले उनलाई कार्कीलाई कारबाही गर्नुपर्नाको कारणबारे जिज्ञासा राखेका थिए । सो जिज्ञासामा पोखरेलले भने, ‘कारबाहीको रुपमा भन्दा पनि उहाँको जिम्मेवारी फेरबदल मात्र गरेको हो । उहाँलाई सुरक्षा सल्लाहकारको रुपमा प्रधानमन्त्री कार्यालयमा ल्याइएको हो । अब नयाँ आईजीपी आउनुभाछ उहाँले आवश्यक गर्नुपर्ने कुरा गरिहाल्नुहुन्छ ।’
प्रतिक्रिया 4