News Summary
Generated by OK AI. Editorially reviewed.- तब्बूले बुधबार ५५औँ जन्मदिन मनाउँदै चार दशक लामो फिल्मी यात्रामा प्रेमिलदेखि रहस्यमयी, कठोर प्रहरी र हास्यरसयुक्त चरित्र निभाइन् ।
- उनले १४ वर्षमै देव आनन्दको ‘हम नौजवान’बाट अभिनय शुरू गरी ‘माचिस’बाट पहिलो राष्ट्रिय चलचित्र पुरस्कार जितिन् ।
- तब्बूले ‘चाँदनी बार’, ‘हैदर’, ‘दृश्यम’ र ‘अन्धाधुन’जस्ता फिल्ममार्फत उमेरसँगै भूमिकाको दायरा फराकिलो बनाइन् ।
कुनै बेला पर्दामा प्रेमिल युवतीका रूपमा देखिने तब्बू अहिले कहिले रहस्यमयी महिला, कहिले कठोर प्रहरी अधिकारी त कहिले हाँस्यरस भरिएको चरित्रमा देखिन्छिन् ।
उमेर बढ्दै जाँदा उनको अभिनयको दायरा पनि फराकिलो हुँदै गएको छ । चार दशक लामो फिल्मी यात्रामा उनले आफूलाई एउटै छविमा सीमित राखिनन् ।
बलिउडमा धेरै अभिनेत्री आउँछन्, चम्किन्छन् र समयसँगै ओझेल पर्छन् । तर, केही यस्ता अभिनेत्री छन्, जसलाई पर्दामा देख्दा उनीहरूको उमेरभन्दा अभिनयको गहिराइ बढी याद आउँछ । तब्बू त्यस्तै अभिनेत्रीमध्ये एक हुन् ।
बुधबार आफ्नो ५५औं जन्मदिन मनाइरहेकी तब्बू फातिमा हाशमीलेले चार दशक लामो फिल्मी यात्रामा अनेकौं रूप देखाइसकेकी छन् ।
कहिले प्रेममा डुबेकी युवती, कहिले सामाजिक बन्धनविरुद्ध उभिएकी महिला, कहिले अपराधको दुनियाँमा फसेकी पात्र त कहिले रहस्यले भरिएकी खलपात्र । उनले पर्दामा निर्वाह गरेका चरित्रको सूची लामै छ ।
सबैभन्दा रोचक कुरा त के भने, तब्बूले समयसँगै आफ्नो अभिनय मात्र होइन, पर्दामा बनाएको छवि पनि बदलिरहिन् ।
कुनै समय हिरोको जोडीका रूपमा देखिने उनी अहिले फिल्मको कथालाई नै आफ्नो अभिनयले बलियो बनाउने अभिनेत्री बनेकी छन् ।
१४ वर्षमै फिल्ममा प्रवेश
तब्बूको वास्तविक नाम तबस्सुम फातिमा हाश्मी हो । सन् १९७१ नोभेम्बर ४ मा हैदराबादमा जन्मिएकी उनको बाल्यकालदेखि नै फिल्मप्रति रुचि थियो ।
अभिनेत्री फराह नाज उनकी दिदी हुन् भने अभिनेत्री शबाना आजमी उनकी मौसी हुन् ।
तब्बूले १४ वर्षको उमेरमै देव आनन्द निर्देशित फिल्म ‘हम नौजवान’बाट अभिनय यात्रा सुरु गरेकी थिइन् । सन् १९८५ मा प्रदर्शन भएको उक्त फिल्ममा उनले बलात्कार पीडित किशोरीको भूमिका निर्वाह गरेकी थिइन् ।
सानो उमेरमै संवेदनशील चरित्रमा देखिएकी उनले त्यतिबेलै आफ्नो अभिनय क्षमताको संकेत दिएकी थिइन् ।

देव आनन्दले नै उनलाई ‘तब्बू’ नाम दिएका थिए । त्यसपछि केही वर्षको अन्तरालमा उनले दक्षिण भारतीय फिल्ममा काम गरिन् ।
सन् १९९१ मा तेलुगु फिल्म ‘कुली नम्बर १’ बाट मुख्य अभिनेत्रीका रूपमा देखिएकी उनी सन् १९९४ मा अजय देवगनसँग फिल्म ‘विजयपथ’ मार्फत बलिउडमा स्थापित हुन थालिन् ।
यस फिल्मबाट उनले उत्कृष्ट नवअभिनेत्रीको अवार्डसमेत जितिन् ।
रोमान्टिक हिरोइनबाट गम्भीर अभिनेत्रीको पहिचान
सन् १९९० को दशक बलिउडमा प्रेमकथा र मसलेदार फिल्महरूको समय थियो । त्यतिबेला तब्बू पनि परम्परागत हिरोइनकै भूमिकामा देखिइन् ।
‘जीत’, ‘साजन चले ससुराल’, ‘बोर्डर’ र ‘हकीकत’ जस्ता फिल्मले उनलाई दर्शकमाझ चिनाए ।
तर, उनी त्यही छविमा रमाएर बसिनन् । सन् १९९६ मा गुलजार निर्देशित फिल्म ‘माचिस’ उनको करियरको महत्त्वपूर्ण मोड बन्यो ।
पञ्जाबको द्वन्द्व र त्यसले सर्वसाधारणको जीवनमा पारेको प्रभावमा आधारित यस फिल्ममा तब्बूले वीरोको भूमिका निर्वाह गरेकी थिइन् । उनको अभिनयले दर्शक र समीक्षक दुवैको ध्यान खिच्यो ।
यही फिल्मबाट उनले पहिलो राष्ट्रिय चलचित्र पुरस्कार जितिन् ।
यसपछि ‘विरासत’ (१९९७) र ‘हु तू तू’ (१९९९) मा पनि उनको अभिनयले प्रशंसा पायो । सन् १९९९ मा आएको पारिवारिक फिल्म ‘हम साथ साथ हैं’ मा भने उनी फेरि पारिवारिक परिवेशकी प्रेमिल पात्रका रूपमा देखिइन् ।
यसरी एउटै दशकमा उनले व्यावसायिक फिल्मदेखि गम्भीर विषयवस्तुमा आधारित चलचित्रसम्म आफ्नो उपस्थिति बलियो बनाइन् ।
बोल्ड र चुनौतीपूर्ण भूमिकामा नयाँ पहिचान
सन् २००० पछि तब्बूले आफूलाई अझ फराकिलो दायरामा प्रस्तुत गरिन् । उनले त्यस्ता महिला चरित्र रोज्न थालिन्, जो परम्परागत नायिकाको परिभाषाभन्दा बाहिर थिए ।
सन् २००० मा आएको ‘अस्तित्व’मा उनले वैवाहिक सम्बन्ध, महिला स्वतन्त्रता र सामाजिक मान्यतासँग जोडिएको जटिल चरित्र निर्वाह गरिन् ।

फिल्ममा उनको भूमिकाले महिलाको इच्छा, पहिचान र आत्मसम्मानबारे बहससमेत सिर्जना गर्यो ।
त्यसको अर्को वर्ष मधुर भण्डारकरको ‘चाँदनी बार’मा उनी बार डान्सरको भूमिकामा देखिइन् । संघर्ष, बाध्यता र सामाजिक परिस्थितिले थिचिएको महिलाको जीवनलाई उनले पर्दामा जीवन्त बनाइन् ।
यसै फिल्मबाट उनले दोस्रो राष्ट्रिय चलचित्र पुरस्कार जितिन् ।
सन् २००३ मा विशाल भारद्वाजको ‘मकबूल’मा उनले नकारात्मक छायाँ भएको चरित्र निर्वाह गरिन् । शेक्सपियरको नाटक ‘म्याकबेथ’बाट प्रेरित यस फिल्ममा उनको अभिनयलाई निकै रुचाइयो ।
तर, तब्बूको विशेषता गम्भीर भूमिकामा मात्रै सीमित रहेन । प्रियदर्शनको ‘हेरा फेरी’मा हास्यरसमा पनि आफूलाई सहज रूपमा प्रस्तुत गरिन् । ‘फना’मा आमिर खानसँग र ‘चिनी कम’मा अमिताभ बच्चनसँग देखिँदा उनले फरक पुस्ताका दर्शकको मन जितिन् ।
‘चिनी कम’मा आफूभन्दा निकै पाको उमेरका पुरुषसँग प्रेम गर्ने स्वतन्त्र विचारकी महिलाको भूमिका उनका लागि फरक प्रयोग थियो ।
बलिउडबाट हलिउडसम्म
तब्बूको अभिनय यात्रा भारतीय सिनेमामा मात्रै सीमित रहेन । सन् २००६ मा उनले हलिउड फिल्म ‘द नेमसेक’मा काम गरिन् ।
झुम्पा लाहिरीको उपन्यासमा आधारित यस फिल्ममा उनले भारतीय मूलकी महिलाको भूमिका निर्वाह गरेकी थिइन् ।
आफ्नो परिवार, सम्बन्ध र सांस्कृतिक पहिचानबीचको द्वन्द्वमा रहेकी महिलाको चरित्रलाई उनले निकै स्वाभाविक रूपमा प्रस्तुत गरिन् । यस फिल्मले उनलाई अन्तर्राष्ट्रिय दर्शकमाझ समेत चिनायो ।
उमेर बढ्यो, तर भूमिकाको दायरा झन् फराकिलो भयो
अभिनेत्रीका लागि उमेर बढ्दै जाँदा उपयुक्त भूमिका पाउन कठिन हुने चर्चा बलिउडमा भइरहन्छ । तर, तब्बूको करियर हेर्दा यो मान्यता उनीमाथि लागू भएको देखिँदैन ।
बरु, उमेरसँगै उनका भूमिकामा परिपक्वता र विविधता थपिँदै गएको छ ।

सन् २०१४ मा विशाल भारद्वाजको फिल्म ‘हैदर’मा उनले गजाला मीरको भूमिका निर्वाह गरिन् । पारिवारिक द्वन्द्व, प्रेम र राजनीतिक अस्थिरताबीच अल्झिएकी आमाको चरित्रमा उनको अभिनय निकै रुचाइयो ।
यसका लागि उनले फिल्मफेयर उत्कृष्ट सहायक अभिनेत्रीको अवार्ड जितिन् ।
सन् २०१५ मा आएको ‘दृश्यम’मा प्रहरी अधिकारी मीरा देशमुखको भूमिकामा देखिएकी तब्बूले आफ्नो फरक छवि बनाइन् । अपराधको अनुसन्धानमा कठोर र दृढ देखिने उनको चरित्र फिल्मको महत्त्वपूर्ण पक्ष बन्यो । ‘
सन् २०२२ मा आएको ‘दृश्यम २’ मा पनि उनले यही भूमिकालाई निरन्तरता दिइन् ।
त्यस्तै, सन् २०१७ मा ‘गोलमाल अगेन’मा भूतसँग कुरा गर्न सक्ने महिलाको भूमिकामा देखिएकी उनले हास्यरसमा पनि आफ्नो पकड देखाइन् ।
सन् २०१८ को ‘अन्धाधुन’मा भने उनी सिमीको भूमिकामा देखिइन् । बाहिरबाट सामान्य देखिने तर भित्र अनेकौं रहस्य लुकाएकी सिमीको चरित्रमा उनको अभिनयले फिल्मलाई थप रोचक बनायो ।
यो भूमिकाले तब्बूलाई फेरि एकपटक फरक र चुनौतीपूर्ण चरित्र निर्वाह गर्न सक्ने अभिनेत्रीका रूपमा स्थापित गर्यो ।
यसरी हेर्दा तब्बूको करियर एउटी अभिनेत्रीले समयसँगै आफूलाई कसरी बदल्न र स्थापित गरिरहन सक्छिन् भन्ने उदाहरण पनि हो ।
रोमान्टिक हिरोइनबाट गम्भीर चरित्र, बोल्ड भूमिकादेखि हास्य र एक्शनसम्म आइपुग्दा उनले आफ्नो अभिनयको दायरा साँघुरो हुन दिएकी छैनन् ।
सायद यही कारण हो, तब्बूलाई पर्दामा हेर्दा दर्शकले उनी कस्तो देखिइन् भन्नेभन्दा पनि उनले कस्तो चरित्र निर्वाह गरिन् भन्ने कुरा बढी सम्झिन्छन् ।
प्रतिक्रिया 4