+
+
Shares

भारतीय सेनाको अग्निपथमा संशोधन, अग्निवीरले थप दुई वर्ष जागिर खान पाउने

सन् २०२२ भारतमा अग्निपथ योजना लागु भएपछि भारतीय सेनामा नेपालीहरूको भर्ती रोकिएको थियो । अग्निपथ अनुसार भर्ती भएकाहरू मध्ये ७५ प्रतिशतको जागिर चार वर्षपछि सकिन्थ्यो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १८ गते २१:४३

१८ कात्तिक, काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्रि काठमाडौंमा भेटघाटमा व्यस्त भएका भइरहेका बेला भारतको मन्त्रिपरिषद्ले गोर्खा भर्तीसँग जोडिएको विषयमा एउटा अर्थपूर्ण निर्णय गरेको छ ।

सन् २०२२ भारतमा अग्निपथ योजना लागु भएपछि भारतीय सेनामा नेपालीहरूको भर्ती रोकिएको थियो । अग्निपथ अनुसार भर्ती भएकाहरू मध्ये ७५ प्रतिशतको जागिर चार वर्षपछि सकिन्थ्यो ।

भारतले यस्तो योजना लागु गरेपछि नेपालले गोर्खा भर्ती बन्द गरेको थियो ।

बुधबार मिश्रिको भ्रमण चलिरहेका बेला भारतले अग्निपथको अवधी चार वर्षबाट बढाएर ६ वर्ष पु¥याएको भारतीय रक्षामन्त्री राजनाथ सिंहले सामाजिक सञ्जाल एक्समार्फत् जानकारी दिए ।

यो योजना अनुसार भर्ती भएका अग्निवीरहरू मध्ये ७५ प्रतिशतले अब कम्तिमा ६ वर्ष भारतीय सेनामा जागिर खान पाउने छन् ।

प्रधानमन्त्री बालेन्द्र शाहको मंसिरमा हुने भनिएको भारत भ्रमणको पूर्व सन्ध्यामा आएको यस्तो निर्णयको दुई वटा सन्देश हुन सक्ने कुटनीतिक मामिलाका जानकारहरू बताउँछन् ।

नेपालसँग सुमधुर सम्बन्धका लागि भारत तयार रहेको र भारतीय सेनामा नेपाली लिगेसीलाई निरन्तरता दिन चाहेको हुनसक्ने उनीहरू बताउँछन् ।

‘तर यस्तो निर्णय नेपालसँग सल्लाह गरेरै लिएको भए हुन्थ्यो,’ भारतका लागि पूर्व नेपाली राजदुत दीपकुमार उपाध्याय भन्छन् । यसअघि नेपालले भर्ती नै रोक्दा पनि संशोधन गर्न तयार नभएको विषयमा थोरै भए पनि लचक देखिनु कुटनीतिक हिसाबले अर्थपूर्ण भएको उनको भनाइ छ ।

कूटनीतिक मामिला लेख्दै आएकी भारतीय पत्रकार सुहासिनी हैदरले नेपाल भारत सम्बन्धका हिसाबले यो निर्णय महत्त्वपूर्ण भएको उल्लेख गरेकी छन् ।’

‘भारत–नेपाल सम्बन्धका दृष्टिले यो निर्णय महत्वपूर्ण समयमा आएको छ। भारतीय विदेश सचिव विक्रम मिश्री काठमाडौंमा रहेका बेला र नेपालका प्रधानमन्त्री शाहको दिल्ली भ्रमण हुन केही सातामात्र बाँकी रहँदा यो निर्णय भएको हो’ उनले एम्समा लेखेकी छन्, ‘के अब दुवै देशबीच सन् २०२२ देखि रोकिएको गोर्खा भर्ती पुनः सुरु गर्ने सहमति हुन सक्छ ?’

हुन पनि त्यतिबेला बुटवल र धरानमा तय भएको भारतीय गोर्खा सैनिकको भर्ती प्रक्रिया रोकिदा पनि भारतले वास्ता गरेको थिएन ।

सन् १८१६ को सुगौली सन्धिदेखि नै नेपालीहरू भारतीय सेनामा भर्ती भएका थिए । तर सन् १९४७ मा नेपाल, भारत र बेलायत बीच त्रिपक्षीय सन्धि भएपछि गोर्खा भर्तीले औपचारिकता पाएको थियो ।

यो सन्धि अनुसार भारतले अग्निपथ लागु गर्दा नेपालसँग परामर्श गर्नुपर्ने नेपाल विज्ञहरू बताउँछन् ।

दुई वर्ष थपे पनि नेपालीहरू भारतीय सेनामा जान नहुने गोर्खा भर्तीका जानकार वरिष्ठ अधिवक्ता डा. युवराज संग्रौला बताउँछन् । गोर्खा ब्रिगेडः नेपाली युवामाथि दुई सय वर्षको शोषण पुस्तकका लेखक संग्रौला भन्छन्, ‘यसअघि १८ वर्षमा भर्ती भएका युवा २२ वर्षपछि वेरोजगार हुन्थे । अब २४ वर्षपछि घर फर्कनु पर्छ । यो योजना पहिलाको भन्दा घातक छ ।’

अखिल नेपाल भारतीय पूर्व सैनिक कल्याणकारी संघका अधिकारीहरू भने भारतले भूतपूर्व सैनिकहरूको आवाज सुनेको बताए । संघले मिश्रिको भ्रमण हुने भएपछि गोर्खा भर्तीले निरन्तरता पाउनु पर्ने माग राखेर काठमाडौंमा प्रदर्शन गरेको थियो ।

‘हामी चार वर्षे अग्निवीर बन्नै तयार थियौं । अब ६ वर्ष काम गर्न पाइने भएपछि नेपाल सरकारले भर्तीको वातावरण मिलाउनु पर्दछ,’ संघका एक जना पदाधिकारी भन्छन् ।

गत साउन भारतीय सेना प्रमुख धिरज सेठ नेपाल भ्रमणमा आएका बेलामा पनि भारतयि भूतपूर्व गोर्खा सैनिक ब्रिगेड नेपालको नाममा पोखरामा यस्तै माग राखेर प्रदर्शन भएको थियो ।

सेना प्रमुख आउँदाको प्रदर्शन स्वाभाविक जस्तो देखिए पनि अहिलेको प्रदर्शन नियोजित जस्तो देखिएको गोर्खा मामिलाका जानकारहरू बताउँछन् ।

पूर्वराजदुत उपाध्याय भने अग्निपथको विषयमा पुनः बहस हुनुलाई नसकारात्मक रुपमा लिन नहुने बताउँछन् । उनी भन्छन्, ‘यो विषयमा छलफल भएर एउटा निश्कर्षमा पुग्नु पर्दछ । यसरी बहस हुनुलाई मैले सकारात्मक रुपमा लिएको छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?