News Summary
Generated by OK AI. Editorially reviewed.- भारतीय तीव्र गतिका बलर मोहम्मद शमीले सामाजिक सञ्जालमार्फत टेस्ट क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका छन्।
- ३६ वर्षीय शमीले भारतका लागि ६४ टेस्टमा २२९ विकेट लिएका छन् र सीमित ओभरको क्रिकेट खेलिरहने बताएका छन्।
- शमीले बीसीसीआई, क्रिकेट एसोसिएसन अफ बंगाल, सहकर्मी खेलाडी, प्रशिक्षक, परिवार र समर्थकप्रति आभार व्यक्त गरेका छन्।
२१ कात्तिक, काठमाडौं । भारतीय तीव्र गतिका बलर मोहम्मद शमीले टेस्ट क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । उनले गएराति सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्दै टेस्ट क्रिकेटबाट सन्यास लिएको जानकारी दिएका हुन् ।
शमीले सामाजिक सञ्जाल एक्समा ‘सेतो जर्सीलाई बिदाइ गर्दैछु, तर यससँग जोडिएका सम्झनालाई कहिल्यै बिर्सने छैन’ भन्दै आफ्नो सन्यासको घोषणा गरेका हुन् ।
‘पहिलोपटक भारतको टेस्ट जर्सी लगाउँदा देशका लागि केही गर्ने एउटा सपना मात्रै थियो । त्यसपछि प्रत्येक विकेट, संघर्ष, चोट र चोटबाट फर्किने हरेक प्रयासले मलाई केही न केही सिकायो,’ उनले लेखेका छन् ।
टेस्ट क्रिकेट आफ्नो लागि खेलको एउटा स्वरूप मात्र नभई जीवनकै विशेष हिस्सा रहेको उल्लेख गर्दै उनले अनगिन्ती सुन्दर सम्झनासहित भारी मनले सन्यासको निर्णय लिएको बताएका छन् ।
उनले आफ्नो क्रिकेट यात्रामा साथ दिने सहकर्मी खेलाडी, प्रशिक्षक, परिवारका सदस्य तथा सुखदुःखका हरेक क्षणमा साथ र विश्वास कायम राख्ने भारतीय क्रिकेट समर्थकप्रति आभार व्यक्त गरेका छन् ।
त्यस्तै, भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) र क्रिकेट एसोसिएसन अफ बंगाललाई पनि उनले धन्यवाद दिएका छन् । ती संस्थाले आफ्नो प्रतिभामाथि विश्वास गर्दै अघि बढ्ने अवसर दिएको उनको भनाइ छ ।
‘टेस्ट क्रिकेटमा मैदानमा फालेको मेरो अन्तिम बल सायद यसअघि नै फालिसकेको छु । तर, भारतको प्रतिनिधित्व गर्न पाएको गौरव सधैँ मेरो हृदयमा जीवित रहनेछ,’ शमीले लेखेका छन् ।
३६ वर्षीय शमीले भारतका लागि ६४ टेस्ट खेल्दै २२९ विकेट लिएका छन् । उनी सन् २०२५ को च्याम्पियन्स ट्रफीपछि भारतीय राष्ट्रिय टोलीबाट बाहिर छन् ।
टेस्ट क्रिकेटबाट सन्यास लिए पनि शमीले सीमित ओभरको क्रिकेट खेल्न भने जारी राख्ने बताएका छन् ।
प्रतिक्रिया 4