+
+
Shares

८१ वर्षको उमेरमा एम जोन ह्यारिसनले जिते बुकर पुरस्कार

सोमबार लन्डनमा आयोजित समारोहमा उनलाई ५० हजार पाउन्ड राशिको पुरस्कार प्रदान गरिएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २४ गते ६:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बेलायती लेखक एम जोन ह्यारिसनले सन् २०२६ को बुकर पुरस्कार जितेका छन् र ८१ वर्षको उमेरमा सबैभन्दा पाका विजेता बनेका छन्।
  • लन्डनमा सोमबार आयोजित समारोहमा ह्यारिसनले ‘द इन्ड अफ एभ्रिथिङ’का लागि ५० हजार पाउन्ड पुरस्कार पाए।
  • निर्णायक समितिले १६३ पुस्तकबाट छानिएका ६ अन्तिम प्रतिस्पर्धीमध्ये ह्यारिसनको उपन्यासलाई सर्वसम्मत विजेता घोषणा गरेको हो।

२४ कात्तिक, काठमाडौं । बेलायती लेखक एम जोन ह्यारिसनले सन् २०२६ को प्रतिष्ठित बुकर पुरस्कार जितेका छन् । ८१ वर्षीय ह्यारिसन बुकर पुरस्कारको इतिहासमै यो सम्मान प्राप्त गर्ने सबैभन्दा पाका लेखक बनेका छन् ।

ह्यारिसनले आफ्नो उपन्यास ‘द इन्ड अफ एभ्रिथिङ’ (The End of Everything) मार्फत उक्त पुरस्कार जितेको अन्तर्राष्ट्रिय समाचार संस्था सीएनएनले जनाएको छ ।

सोमबार लन्डनमा आयोजित समारोहमा उनलाई ५० हजार पाउन्ड राशिको पुरस्कार प्रदान गरिएको हो ।

विज्ञान कथा तथा काल्पनिक विधामा कलम चलाउँदै आएका ह्यारिसनको यो उपन्यास विनाशपछिको संसारमा आधारित छ । उपन्यासमा रहस्यमय जीवहरूको आक्रमणपछि सामाजिक संरचना ध्वस्त भएको भविष्यको बेलायतको तटीय क्षेत्रको कथा प्रस्तुत गरिएको छ ।

ह्यारिसनले सन् २००८ को विश्वव्यापी आर्थिक संकटबाट प्रभावित भएर यस उपन्यासको कथा तयार पारेको बताएका छन् ।

पुरस्कार ग्रहण गर्दै ह्यारिसनले आफूले बुकर पुरस्कार जित्ने अपेक्षा नगरेको प्रतिक्रिया दिएका थिए । उनले भनेका थिए, ‘तपाईंहरू जीवन परिवर्तन भएको कुरा सहजै भन्नुहुन्छ, तर वास्तवमै यस्तो हुँदा अनौठो लाग्दो रहेछ । अन्ततः आफूलाई एक वास्तविक लेखक महसुस गरिरहेको छु, यद्यपि ममा अझै आत्मविश्वासको कमी छ ।’

यस वर्षको निर्णायक समितिको नेतृत्व इतिहासकार मेरी बियर्डले गरेकी थिइन् । समितिमा लेखक रेमन्ड एन्ट्रोबस, प्याट्रिसिया लकवुड, समालोचक रेबेका लिउ तथा संगीतकार जार्भिस ककर सदस्य थिए ।

निर्णायक समितिले १६३ वटा पुस्तकबाट छनोट गरिएका ६ वटा अन्तिम प्रतिस्पर्धीमध्ये ह्यारिसनको उपन्यासलाई सर्वसम्मत रूपमा विजेता घोषणा गरेको हो ।

समितिकी अध्यक्ष बियर्डले उपन्यासलाई वर्तमान समयको राजनीतिलाई भविष्यको दृष्टिकोणबाट प्रस्तुत गर्ने कृति भन्दै प्रशंसा गरेकी छन् । उनका अनुसार विनाशकारी परिस्थिति आइपर्दा त्यसलाई बुझ्नसमेत कठिन हुन सक्छ र त्यस्तो अवस्थामा पुराना सामाजिक नियमहरू अर्थहीन बन्न सक्छन् ।

यस वर्षको अन्तिम प्रतिस्पर्धामा जमैकाका मार्लोन जेम्सको ‘द डिसएपियर्स’, स्कटल्यान्डका डगलस स्टुअर्टको ‘जोन अफ जोन’, अमेरिकी लेखिका एलिजाबेथ स्ट्राउटको ‘द थिङ्स वी नेभर से’, लुक केनार्डको ‘ब्ल्याक ब्याग’ र रेबेका पेरीको ‘मे वी फिड द किङ’ पनि थिए ।

के हो बुकर पुरस्कार ?

सन् १९६९ देखि प्रदान गर्न थालिएको बुकर पुरस्कार अंग्रेजी भाषामा लेखिएका साहित्यिक कृतिमध्ये प्रतिष्ठित पुरस्कारका रूपमा चिनिन्छ । सन् २०१४ देखि बेलायत वा आयरल्यान्डमा प्रकाशित अंग्रेजी भाषाका कृतिका लागि राष्ट्रियता नहेरी लेखकहरूलाई प्रतिस्पर्धामा सहभागी गराउने व्यवस्था गरिएको छ ।

यसअघि सन् २०१९ मा ७९ वर्षको उमेरमा मार्गरेट एटवुडले बुकर पुरस्कार जितेकी थिइन् । ह्यारिसनले यसपटक उनको कीर्तिमानलाई उछिन्दै पुरस्कारको इतिहासमा सबैभन्दा पाका विजेताको स्थान बनाएका छन् ।

ह्यारिसनले करिब छ दशकदेखि साहित्य लेखन गर्दै आएका छन् । उनका १३ वटा उपन्यास प्रकाशित छन् । यसअघि सन् २००७ मा उनको उपन्यास ‘नोभा स्विङ’ ले आर्थर सी क्लार्क पुरस्कारसमेत जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?